प्रेमको निम्ति उमेर र पढाइ त तोकिएको छैन तर पनि उमेर २० कट्यो पढाइ ब्याचलर पुग्यो अब त लभ पार्नुपर्छ यार!
हिजोसम्म क्यान्टिनमा कालो चिया पिएको पैसा नतिर्ने साथीले आज महंगो रेष्टुरेन्टमा गर्लफ्रेन्डलाई लगेर म:मको बिल तिरेको देखेपछि मैले पनि चियादेखि म:मसम्म खाने हैसियत बनाउनलाई भए पनि लभ पार्नुपर्छ भन्ने जोश पो चल्यो हो।
पुरानो कपडा नच्यातुन्जेल नयाँ लुगा नकिन्ने कमरेडले आज महिना पिच्छे गर्लफ्रेन्डसँग सपिङ गरेको देखेपछि मैले पनि एक जोड नयाँ कपडा लगाउनलाई भए पनि लभ पार्नुपर्छ यार!
हिजो केटाकेटी जस्तो कुरा र व्यवहार गर्ने बहिनी लभ परेपछि एकाएक गम्भीर र जिम्मेवार बनेको देख्दा मैले मेरो केटाकेटीपनलाई निखार्नलाई भए पनि लभ पार्नुपर्छ यार!
हिजो आफ्नो कापीकलम किन्ने पैसा बुवाआमासँग माग्ने दाइले आज आफू र आफ्नो गर्लफ्रेन्डको खर्च आफैं निकाल्न थालेको देख्दा, मैले नि आफ्नो खर्च निकाल्नलाई भए पनि लभ पार्नुपर्छ यार।
हिजो गाउँले ठेठ बोल्ने भाइले आज चट्ट नेपालीमा अंग्रेजी छ्ट्ट घुसाएर गर्लफ्रेन्डसँग लट्ठ भएर बोलेको देख्दा अंग्रेजी सुधार्नलाई भए पनि मैले लभ पार्नुपर्छ यार। क्लासमा होमवर्क नगर्ने साथीले क्लासकै साथीसँग लभ पारेपछि निरन्तर होमवर्क गर्ने र सबै विषयको राम्रो नोट बनाएको देख्दा, गतिलो नोट बनाउनलाई भए पनि मैले अब त लभ पार्नुपर्छ यार।
हिजो धेरैसँग झगडा गर्ने ट्यापे दाइ आज एकाएक अनुशासित र इमानदार भएको देख्दा म अझै अनुशासित र इमानदार बन्नलाई भए पनि लभ पार्नुपर्छ यार।
कोही कसैसँग बोल्न डराउने बहिनीले आफूलाई मन नपर्ने कार्य गरेको भन्दै आफ्नो प्रेमीसँग रिसाएको देख्दा प्रेमबाट नै सिकेको विद्रोहले घरपरिवार, आमाबुबासामु कहिलेकाहीँ चित्त नबुझ्ने कुरामा अलिकति भए पनि फरक मत राखेको देख्दा मैले पनि यो देशका खराब तत्त्वसँग विद्रोह गर्न साहस निरन्तर जोगाउनलाई भए पनि लभ पार्नुपर्छ यार।
सधैं फुर्सदमा छौं भन्नेहरू लभ परेदेखि व्यस्त नभए पनि व्यस्त छु भनेर भेट्नलाई टारेको देख्दा मैले पनि सबै सबैलाई भेट्नुपर्ने बाध्यताको निम्ति व्यस्तताको बहाना पाउनलाई पनि लभ पार्नुपर्छ यार।
हलानोको फलानोसँग लभ परेको छ भन्ने हल्ला हुने ठाउँमा मेरो पनि सानोतिनो लभ परेको हल्ला फिजाउनलाई र चर्चा कमाउनलाई भए पनि अब त लभ पार्नुपर्छ यार।
अरे लभ पारेर टिकटकमा भाइरल जोडी भएर चिनिएकाहरूलाई देख्दा टिकटक बनाउनलाई मोबाइल समातिदिने मान्छेसम्म बनाउनलाई भए पनि लभ पार्नुपर्छ यार। रातिको १२/१ बजेसम्म नसुत्न र बिहान ५/६ बजे नै उठेर कलेज जाने जोश जोगाउनलाई भए पनि लभ पार्नुपर्छ यार।
धेरै घुम्नु हुन्न, डुल्नु हुन्न भन्ने साधकी दाइले गर्लफ्रेन्डसँग कहिले मन्दिर, कहिले पार्क, कहिले सिनेमा, कहिले डाँडाकाँडामा गएको दामी फोटा सामाजिक सञ्जालमा हालेको देख्दा मैले पनि मन्दिरमा दर्शन गर्न, पार्कको अवलोकन गर्न, सिनेमाको मुहार देख्न, साथै डाँडाकाँडाको चिसो हावामा न्यानो मायाको आभास गर्नलाई भए पनि लभ पार्नुपर्छ यार।
अंकललाई विदेश पठाएर यता अर्कैसँग लभ पारेर बसेर पनि एउटा सामान्य भिडिओ कलले अंकललाई विश्वासमा पारिरहेकी आन्टीलाई देख्दा मान्छेलाई भ्रम नै सत्य हो भन्ने विश्वास दिलाउनलाई भए पनि लभ पार्नुपर्छ यार।
चिया पसलमा मान्छे वरिपरि भएको बेला मोबाइलमा टिङ टिङ मेसेज आएपछि सबैको नजर परेका तिनी प्रेमिकासँग च्याट गरिबसेका दाइलाई देख्दा चियापसलमा अन्य दिनमा म्यासेन्जरको टिङ टिङ आवाजले सबैको नजर मतिर पार्नलाई भए पनि लभ पार्नुपर्छ यार।
साँझको समयमा सडक अनि चोकमा हातमा हात, काँधमा काँध मिलाएर यो बसन्त ऋतुमा प्रेमिल कुरा गरिरहेका जोडीहरूलाई देख्दा हातको मिल्न अनि काँधको घर्षणको आभास लिँदै मनका भावना, साहित्य सिर्जना सुनाउनलाई भए पनि लभ पार्नुपर्छ यार।
अरे कलेजको टुर जाँदा बसमा आफ्नो नजिकको सिट बुक छ है भनेर अरूलाई बस्न नदिएर गर्लफ्रेन्ड बसालेर मोज गर्ने साथीलाई देख्दा मैले पनि कसैको निम्ति सिट रोकेर माया र सम्मान भन्ने कुरा कस्तो हुनुपर्छ भनि देखाउनलाई भए पनि लभ पार्नुपर्छ यार।
कसले के गरेको छ? को कसको क्रस हो? को कसको एक्स हो? कसको माया बस्यो ? कसको बिछोड भयो यी कुराहरूको मतलब नगर्नलाई भए पनि साथीहरूबाट यस्ता कुरा सुन्ने समय नपाउनलाई भए पनि अब त लभ पार्नुपर्छ यार।
साथीभाइहरूले आफ्नो मोबाइल घरीघरी चलाएर हुक्क बनाउँदा गोप्य चिज छ नचलाऊ भनेर लक चेन्ज गर्नलाई भए पनि अब त लभ पार्नुपर्छ यार।
अन्य कारणले रूँदा बिछोडले रोयो भन्ने मान्छेहरूका अगाडि निसंकोच अन्य पीडामा पनि जोडजोडले रूनलाई भए पनि लभ पार्नुपर्छ यार।
कुनै केटीसँग हाँसेर, मस्केर बोल्यो र हिँडयो भने पट्ट्याउनलाई नै बोल्यो भनेर सम्झने केटी र गर्लफ्रेन्डसँगै हिँडेको छ यो केटो भनेर सम्झने समाजको निम्ति केटीसँग निर्धक्क हाँस्न, बोल्न र हिँड्नको लागि भए पनि अब त लभ पार्नुपर्छ यार।
आफ्ना उमेरका साथीहरूसँग कति लभका कुरा गर्नु भनेर राजनीति गर्ने कमरेडहरूसँग बस्यो लभ कै कुरा हुन्छ।
समाजसेवी, बुद्धिजीवी, पत्रकार, लेखक, साहित्यकारसँग बस्यो लभकै कुरा, यौन योवनकै कुरा हुन्छ। हो तिनी बसाइहरूमा कडा कडा तर्क दिने पनि लभ नै परेका व्यक्तिहरू हुन्छन्।
त्यस्ता बहस र कुराकानीमा मिठास र कडातर्क दिन पनि अब त लभ पार्नुपर्छ यार।
क्लासमा पनि लभ, होटलमा पनि लभ अब कोठामा नै बस्नुपर्यो भनेर बस्दा कोठामा समय बिताउनलाई गीत सुन्यो प्रमोद खरेलको 'पिरतिको करौतीले' बज्दा त्यो गीतको प्रेम बिछोडको वेदना देख्दा त्यो वेदना बुझ्नलाई भए पनि मैले लभ पार्नुपर्छ यार।
मूभि हेर्छु भनेर युट्युबमा गयो सबभन्दा राम्रा र चर्चित करोडौं करोडौं भ्युज भएका मूभि भनेकै लभ स्टोरीवाला हुन्छन्। डियर कमरेड मूभिजस्तै आफ्नो कहानी बनाउन खोज्नलाई भए पनि अब त लभ पार्नुपर्छ यार।
होइन कति कलेजकै पाठयक्रम र पुस्तक पढने अतिरिक्त पुस्तक पढौं भनेर दर्जनौं उपन्यास, कथा पढन थाल्दा सबैभन्दा बलियो प्रेम कहानी भएका पुस्तकहरू जस्तै राधा, ऐना, महारानीले पो मदन पुरस्कार जितेका हुन्छन्। त्यसतै पुरस्कार जित्ने पुस्तक लेख्छु भनेर लाग्यो बलियो प्रेम कहानी भएको पात्रको पछाडि लाग्न, बलियो प्रेम कहानी लेख्न र जान्न पनि अब त मैले लभ पार्नुपर्छ यार।
ती उपन्यासको अध्ययनमा डुब्दा प्रेमको नाममा अन्यायमा परेका पात्रहरूझैं मैले लेख्ने उपन्यासमा अन्याय नपर्ने गरी कहानी लेख्न पनि अब त लभ पार्नुपर्छ यार। पात्रको खोजीमा भौंतारिने दर्जनौं लेखकहरूलाई पनि आफू पात्र बन्न योग्य देखाउन र स्वयं आफैंले आफ्नो कहानी लेख्नलाई भए पनि अब त मैले लभ पार्नुपर्छ यार।
एसइई दिँदा आफूलाई बालकै सम्झेर कसैको प्रेम प्रस्ताव नस्वीकार्ने म, कक्षा ११/१२ पढ्दा कसैले प्रपोज गरिदिने हो कि भनेर टाँढिएर जाने म जो कि लभ गरेर बिग्रनु हुन्न्न। किनकि गाउँबाट सहरमा भविष्य बनाउन आएका हौं भनेर बिना मतलब हिँडिन्थ्यो।
अहिले भने ब्याचलर पढ्दै गरेको म ब्याचलरले लभ पार्नुपर्छ यार। नत्र त सरकारी जागिर जागिर भनेर उमेर ढल्केपछि जागिर खाएर ४० वर्ष उमेर पुगेर पनि केटी, केटी कोही छन् कि केटी भन्ने अवस्थामा पुग्छौं।
त्यस्तो परिस्थिती आउन नदिनलाई भए पनि कुनै विशेष तथा बाध्यात्मक समय र परिस्थितिमा बा-आमाले विवाह गर कि गर भनेर बाध्य पारे त्यो समयमा विवाह गर्नलाई भए पनि अब त लभ पार्नुपर्छ यार!
लभ के हो? लभ कोसँग हुन्छ? लभ कुन परिस्थितिमा हुन्छ? लभ गर्नेहरूको वास्तविकता के हो? यसको कुनै सिद्धान्त नहुने हुँदा जे जति व्यङ्ग्यमाथी भए त्यो सबै यथार्थ जान्नको निम्ति भए पनि अब त लभ पार्नुपर्छ यार।
यो लेखमा 'अब त लभ पार्नुपर्छ' भनेर ठट्टा र व्यङ्ग्य गर्दै लेख पढेपछि लभ नपरेको लेखक भनि जिस्काउने धेरै हुनेछन्। त्यसैले प्रेमको वास्तविक कहानी भाग १ लिएर पाठकसम्म आउनलाई भए पनि अब त मैले लभ पार्नुपर्छ यार!!