गाला चाउरी परेको, सेताम्मे कपाल
मुखमा एकाध दाँत
६०-७० वसन्त कटिसकेकी
एउटी वृद्धा
जो गाउँभन्दा पर सानो झुपडीमा बस्छिन्
उनी सतनीदेवी हुन्
मृत्युलाई पर्खिरहेकी
अगाडि न पछाडि कोही
एउटी बेसहारा, अशक्त, दरिद्र
केवल एउटा लौरोको सहारामा छिन्।
अचेल सतनीदेवीको परिचय फेरिएको छ
उनको नाम अपभ्रंश भएर सतौनीदेवी बनेको छ
हिजो सुसार्नी नामले परिचित उनी
आज बोक्सी कहलिएकी छिन्
एकान्तबास सतनीदेवीको इच्छा होइन
बाध्यता हो
कथित ठूलाबडा भनाउँदाले घर जलाइदिए
कथित धामीझाँक्रीले डायन भनिदिए
च्यात्तिएको लुगा, जीउभरि नीलडाम
आँसु पुछ्दै छोप्दै छिन् लाज
कसैले मलमूत्र ख्वाऊ भन्दै थिए
कसैले पैताला चाट्न लगाऊ भन्दै थिए
सबैसामु हात जोडिन्
आलाप-विलाप गरिन्
रमिता हेर्नेको भिड थियो
तर मानवता थिएन।
पाकेको आँप सतनीदेवी
आफैलाई थाहा छैन किन
यिनलाई यातना दिइयो
सिउँदो फुल्नु, दाँत झर्नु गल्ती हो?
बुढेसकाल भुल हो भने
जन्म स्वयममा अपराध हो
हिंसाको कुनै रुप हुँदैन
तनमा लागेको घाउ त भरिएला
तर मनको चोट?
सतनीदेवीको आवाज सुनिदिने कोही छैन
न समाज, न प्रशासन न त कानुन
किनकि उनको दोष नै गरिबी र अशक्तता रह्यो
सतनीदेवी मनमनै अट्टहाँस हाँस्दा हुन्
ढुङ्गाअगाडि दियो बाल्ने
यी जमातको मस्तिष्कमा चेतनाको दियो
कहिँले बल्ने हो कुन्नि!