म आज त्यो कामबाट छुट्टी लिई आँगनमा बसेको छु
जुन म पैसा कमाउनको लागि गर्छु
त्यो कामको लागि
जसले आत्मालाई खुसी दिन्छ
एक त्यो काम छ
जसले पोल्छ मलाई भित्र-भित्रै
र अर्को छ जुन
झरी परेपछि
माटोको सुवास झैँ आइ
आनन्दित तुल्याउँछ।
देख्छु म मान्छे आउँदै जाँदै गरेको
त्यो बच्चालाई पसलबाट सामान ल्याएको देख्दा
याद आउँछ
चिनी लिन जाँदा
कसरी पचास ग्राम कम ल्याउँथेँ
अनि फिर्ता ती सिक्काको
ल्याक्टो फन् खान्थेँ
ममीलाई त लाग्थ्यो
बच्चा सम्झेर पसलवालाले ठगेछ
अनि म आफ्नो अबोधपनमा
आफ्नो चलाखी लुकाउथेँ।
त्यसपछि एक जवान केटा
भर्खरै जवानीमा प्रवेश गरेकी केटीको
हात पकडी
माथि नाला गुम्बाको बाटो लाग्छ
अनि याद आउँछे फलानी
कसरी बजार जाने बहानाले
म ऊसित राप्ती नदी माथिको झोलुङे पुलमा
साँझ नहुन्जेल
मिठा गफ गर्दै उसको आँखामा आफूलाई खोज्थेँ
उसले एक पटक भनेकी थिई
कि उसलाई लेख्नेहरू मनपर्छ
म पनि इक्चुङका चिसामा आकाशमुनि बसेर
दिनभरका थकान बिर्सेर दुई लाइन लेख्दिन्थेँ
अनि
रात अबेरसम्म भोलिको पर्खाइमा
छटपटीमै निदाउथेँ।
अब एउटा युवक निस्कन्छ
अफिसको बोझ आफ्नो काँधमा लिई
म उसलाई हेर्दा देख्छु
आफ्नै छाया
अनि मन्द-मन्द मुस्कानका लागि
ओठ खुल्छन्।
अनि अन्तिममा विस्तारै केही बोल्दै
एक वृद्ध सडकमा लठ्ठी टेक्दै
आफ्नो नातिसँगै आएको देख्छु
'हामी दुईमा फरक यति हो कि
तिम्रो नादानीले माया पाउँछ मेरोले रिस
तिमी उपहार हौ अनि म बोझ
म तिम्रो भोलि हुँ अनि तिमी मेरो हिजो'
आँखामा आँसु लिई बुढेसकाल
बालापनलाई सम्झाइरहेथ्यो
नातिले बुझ्यो बुझेन तर
मेरो आत्मसम्मान मसँग हाँसिरहेथ्यो।
बसिरहेछु आँगनमा घण्टौँदेखि
प्रत्यक पटक सोचेँ केही लेखुँ
कति पाना भरेँ अनि फेरि काटेँ तिनलाई
त्यही कलमले
जुनले कथा लेख्न सुरु गर्याथ्यो।
सोचेँ आजको छुट्टी बेकार भयो
एकैछिनमा लाग्यो कि म लेख्न सक्छु र?
आफैसँग विश्वास लागेन
अनि फेरि सडकमा
आफैसँग हराउन
यताउता हिँडेका मान्छेहरूमा
डुब्छु म।