एकथरीले सडकमा जुलुस जुटाए
अर्का थरीले जुलुसको टाउको फुटाए
के छ स्वार्थ उपहारको कुटुरोमा आज
भ्रमको खेती गरे सोझो सिधा माझ।
नबनोस् तिम्रो उपहारको कुटुरो
रोदन क्रन्दनको बाटो ढुक्ने गौडा
इँटा-ढुंगा बर्साई लाठी खाने मूर्तिहरू
आँसुको आहालमा डुब्न नपरोस्
तिम्रो उमंगको हाँसोले नहोस् भोलि
पुर्खौली रगत र पसिनाको अपमान
सिर्जेको प्रकृतिकी रानीलाई भोलि
रगतको आँसुले बिदाइ गर्नु नपरोस्।
आशामा उल्लास फहराउने युवाहरू
आत्म समर्पनको भड्खालोमा नपरुन्
अनेकता भित्रको एकतामा मुस्कुराउने
स्वभिमानी चिचिला र कोपिला
लोभको बुईमा चढेर बहकी
परयामा सुम्पी बिदाइ गर्नु नपरोस्।
विषले नमर्ने अनि अमृतले नपग्लने
वरदानी ढुंगे आत्माहरू छन् जगतमा
परिवार फुटाएर भण्डार समाल्नेहरू
कणिका बोकी हिँडेका छन् फगतमा
मित्रता छान्ने कसिमा घोटिँदा घोटिँदै
नरित्तिउन् पुर्खौली आत्मरक्षा कवच
दौरा-सुरुवाल, फरिया-चौबन्दी फेरोहरू
बेठेगान बनेर बिदाइ गर्नु नपरोस्।
विवेक कुज्याएर कर्म गरेर पाइन्न
दोष दिन निर्दोश पुस्ताका पुर्पुरोलाई
दीर्घकालीन आत्म ग्लानीको पीडामा
नगुज्रियोस् युगका सुनौलो बिहानी
जिन्दगीभरि अवगुणको बयानमा
युगलाई सरापी बिदाई गर्न नपरोस्।
क्षणिक स्वार्थको अँगालोमा लपेटी
आमाको न्यानो काख बिर्सनेहरूमा
शान्तिको अग्रदुत अमर विभूतिहरू
वीर अमर शहीदको गाथा बिर्सनेहरू
आयातित संस्कृतिको स्वागत गरी
प्यारो मौलिकता बिदाइ गर्न नपरोस्।
सेवक मोटाउने, राष्ट्र दुब्लाउने
बनाएका छौ कुर्सी प्रधान देशमा
महंगाईका भारले थिचिँदासम्म
भाइ, भतिजावादले गाँजिँदासम्म
चुप रहने नेपालका नेपाली हामी
हिमाल, पहाड, तराई मध्ये कुनै एक
मात्र कमि हुने सोच गर्नेलाई
युगले डाँडा कटाई बिदाइ गर्न नपरोस्।