देशको क्षेत्रफलमा शंका नहुनुपर्ने हो
तर विडम्बना
मेरो देशको यस्तै भैरहन्छ
जसरी,
दह र उसको छाल
पानी र हावाको प्रभावले
बर्खा र हिउँदमा फरक-फरक हुन्छ
उसको आफ्नै खास आकार र वर्ग हुँदैन।
यहाँ रातारात मान्छे गायब हुन्छन्
कोही इँटा भट्टामा
कोही विशाल भवनको जगमा
खै! क-कसको घरको इँटामा
मान्छेको खरानी लेपिएको छ?
कुन जगभित्र रगतको कुण्ड छल्किएको छ?
खै! कुनै दिन
कसैलाई झोक चढेपछि
हामी नरहन पनि सक्छौँ
नेपाल नरहन पनि सक्छ
बस्! कुनै नेताले चाहनुमात्र पर्छ
राजनीतिक र आर्थिक लाभको लागि।
जङ्गल पलभरमै आगो भैदिन सक्छ
बस्ती क्षणभरमै पानी भैदिन सक्छ
सुन्दर फाँटहरू कुरुप बस्ती बनेकै छन्
ऐतिहासिक धरोहरहरू-
केही चिया पसल बने
केही क्लब
केही फोहोरका डंगुर
केही निजी निवास बने
केही बन्दैछन्
महोदय!
के सही, के गलत यो कुरा पछि गरौंला
चरित्रमा नै खोट भएपछि
गोरो र चिल्लो अनुहारको के दोष?
साँधो साँधमै स्थिर हुनुपर्ने हो
तर यहाँ
घर देश, आँगन परदेश भैरहन्छ
नागरिकता छापिएरमात्र के हुन्छ महोदय?
शब्दमा तबसम्म मात्र शक्ति हुन्छ
जबसम्म उसमा भाव झल्किन्छ
कुनै रात सुतिरहेको बिस्तरा नै
आधा वारि आधि पारि भैदिन सक्छ।
जनताले प्रहरी
प्रहरीले जनता कुटेकै छन्
खै! हार जित कसको हो?
युद्ध कसका लागि?
पाटी-पौवा, मठ-मन्दिर
गुम्बा, चर्च, मस्जिद
बनेकै छन्, ढलेकै छन्
मूर्तिहरू, शिलालेखहरू
चोरिएकै छन्, बेचिएकै छन्
विद्यार्थी, शिक्षक, कर्मचारी, प्रशासक
अझै राजनीतिक पार्टीका पिउसोजस्तै छन्।
शिक्षा नै अशिक्षित छ भने
शैक्षिक योग्यताले मात्र देश बन्दैन महोदय
पानी बेचेकै छन्
ढुङ्गा बेच्ने भनेकै हुन्
जवानी 'पर...' बेचिएकै छ
मात्र बाँकी माटो न हो
के भर?
भोलिको सूर्यदयमा
नेपाल नरहन पनि सक्छ।