म हतारमा याद पठाउँछु
फुर्सदमा बात पठाउँछु
बा ऋणको चिन्ता लिनु पर्दैन
खातामा बचत पठाउँछु
खपेर बस्नु असारको आली झैँ
म छिट्टो मंसिर पठाउँछु
बगरका पत्थरझैँ यात्रा निस्केको हुँ
घोटिए पनि स्वरुपमा मूर्ति पठाउँछु
रोप्नै नसके पनि मखमली र सयपत्री
घरै मगमगाउने बास्ना पठाउँछु
मैलो भोगाइले चोइटिएका आफन्तलाई
लोभ लाग्दो दैनिकीको फोटो पठाउँछु
समय नसके पनि उपहारमा
श्रम गरेरै म घडी पठाउँछु
नसहनु, नलुकाउनु दुःख र पीडा
अस्पताल पुग्ने म अवसर पठाउँछु
यो परदेशमा माया बाहेक सबै पाइन्छ
भोकमा भोजन, चाहेको मनोरञ्जन
यादमा दिल नदुखाउनु दबाई पाइँदैन
पैताला फुटेको त मलम पठाउँछु
म फर्किँदा नफर्किने गरी फर्कन्छु
परदेशमा बिताएका अभाव बताउँछु।