एउटा सग्लो सपना थियो
अचेल मुर्छा परेर लडिरहेको छ
एउटा घाइते रहर थियो
मृत बनेर ढलिरहेको छ।
म सपनालाई सम्झिँदै
विपनासँग यात्रा गर्दै गरेको यात्री हुँ
मलाई मेरी सहयात्री विपना
पटक्कै मन पर्दैन
र त मेरो मन जानाजान
उनलाई प्रेम गर्दैन।
उनी बिना श्रृङ्गार
मेरो वरिपरि घुमिरहन्छिन्
सपनाको सौन्दर्यतामा अल्झिएका
आँखालाई पनि सास्ती भएको छ
उठ्न खोज्दा लरबराएका
गोडाहरूलाई पनि कष्ट भएको छ
विपना तिम्रै कारण
यात्राको गन्तव्यलाई चुनौती भएको छ।
तिमी कस्ती सहयात्री?
मेरै बाटोमा ढुंगा तेर्साएर अवरोध गर्छेउ
मेरा खुसीहरू खोसेर रित्तो पार्छेउ
मेरा प्रेमहरू नफुल्दै झार्छेउ
विपना म तिमीलाई प्रेमिका मान्दै मान्दिनँ
तर किन यति धेरै विघ्न माया गर्छेउ?
तिमी कस्ती सहयात्री?
म हाँस्न खोज्छु तिमी रिसाउछेउ
म नाच्न खोज्छु तिमी डाहा गर्छेउ
म रम्न खोज्छु तिमी पिर बन्छेउ
म हिँड्न खोज्छु तिमी भिर बन्छेउ
त्यसैले तिमी सहयात्री हौ, प्रेमिका होइनौ
विपना तर किन यति विघ्न माया गर्छेउ?
सपनासँग कल्पिएका रंगिन साथहरूमा
मैले जीवनको मिठास भेट्छु
विपनासँग भोगेका पीडाहरूले
वास्तविक तिर्खा मेट्छु
म सपनाको मायामा नमुना बन्न चाहन्छु
विपना निर्दयी बनेर धोका दिन्छिन्।
सपना मदेखि भागिरहन्छिन्
विपना मेरै पछि लागिरहन्छिन्
सपना मलाई हरेक पल जिउने आशा दिन्छिन्
विपना मलाई मात्रै चुनौती थपिदिन्छिन्
त्यसैले विपना तिमी सहयात्री हौ, प्रेमिका होइनौ
तर किन यति बिघ्न माया गर्छेउ?
वर्षौं साँचेर राखेका फूलहरू
सानो हुरीले नै उडाइदिन्छ
सायद मैले गुलाब ठान्नेहरू
सिमलको भुवा रहेछन्
सपना तिमी गुलाब हौ
मैले तिम्रै आगमनको प्रतीक्षा गरिरेहेछु
विपना तिमी सिमलको भुवा हौ
मबाट तिमी उडेर जाऊ।
सपना म विपनाबाट मुक्त भएर
एकदिन तिमीलाई
अंगाल्न जरुर आउनेछु
क्षितिजमा आशाका किरणहरू
देख्ने धोको जीवित नै छ
तर हर रात झरी परिरहन्छ
बिहानै उठेर पहाडको चुचुरो नियाल्दछु
झरीले भिजेको पहाडमाथि
इन्द्रेणीले सप्तरंगी रंग भरिदिन्छ
बादलको घुम्टो ओडेकी पहाडलाई
इन्द्रेणीले रंग भरिरहँदा
सोह्र श्रृङ्गारले सजिएकी तिमी र
तिम्रै खाली सिउदोमा मैले
सिन्दुर भरिरहेको आभास गर्छु।
पहाडको जीउभरि बादल टाँसिरहँदा
मेरा कैयौँ जिउँदा रहरहरू
घाइते बनेका छन्
मेरा कैयौँ घाइते चाहनाहरू
मृत बनेका छन्
तर सपना तिमी सधैँ जीवित रहिरहनू
म तिम्रै प्ररिक्षामा भैरहने छु।
यथार्थको धारतल टेरेर
चुनौतीका पहाडहरू चढ्दै
गन्तव्य भेट्ने आशामा
एक यात्री अनवरत हिँडिरहेछ
कल्पनाको सागरबाट ब्युँझिएर
उनै विपनालाई अंगाल्दै
फेरि हिँड्नु छ त्यहाँसम्म
जहाँ जीवनको अन्तिम गन्तव्य भेटिनेछ।