सयपत्री आँगनभरि लगाउने मन छ
साना-साना खुसी र सफलताहरू सिला खोजेर
खले गरोमा कुनिउँ लगाएको धेरै भयो
कहिले दाइँ गर्दागर्दै
अल्छी गोरुले धोका दिन्छ
कहिले हिउँदे वर्षाले
सिला खोजेका खुसीहरू भिजाउँछ
तिनै हकुवा भएका खुसीहरू
धेरै समय लगाएर जोहो गरेका खुसीहरू
थुन्सेमा राखेको छु
पारिलो घाममा
खुसीका बिस्कुन सुकाएर
ढिकीमा कुटेर
नाङ्लोले निफनेर
बिया केलाएर
चौलानी फालेर
चुलोमा आगो बालेर
कसौडीमा पकाएर फर्सिएपछि
पिरामा पलेटी कसेर
फर्सीको तरकारीसँग मुछेर खाने मन छ
जसरी माचमा राखेको पराल
वर्षातमा भिजेपछि कुहिन्छ र
त्यसैबाट स्वादिलो च्याउ उम्रिन्छ
त्यसरी नै मेरा खुसीका कुनिउँ
वर्षाले भिजोस्
अनि पलाओस् रहरका च्याउहरू
स्वाद मानेर खान पाइयोस्
सबैजना सँगै बसेर
दुःखहरूको ओद्रा छोडाएर
खिरिलो पोयो बनाएर
सम्बन्धहरू नटुट्ने गरी
त्यही पोयोले बाँध्ने मन छ
समयको मेलोमा हिँड्न नसकेको जिन्दगीलाई
आँतर काटेर हरेक सियोमा
राटा नराखी हिँडाउने मन छ
पोगटो भइसकेका वृद्ध अभिभावकहरूको
भरोसाको थाङ्ग्रो बन्ने आत्मविश्वास बोकेर
खेतका आलीमा कुटेले खन्दै
समृद्धिका मास उमार्ने मन छ
बाँझो बनेका बारीहरूमा
घिरौलाको बेलो सारेर
लटरम्म रहरका फल फलाउने मन छ
सबैथोक छ हाम्रै खेतबारीमा
दूधराज धानको चिउरा कुटेर
उजेली गाईको दहीसँग
चिनीचम्पा केरा मुछेर खाँदै
चाड मनाउने मन छ
आफ्नै बारीमा फलेको सिमल तरुल
आफ्नै खेतमा फलेको तोरीको तेलमा
सेलरोटी पकाएर माघे संक्रान्ति मनाउने मन छ
पब्जी खेल्ने छोरोलाई देउसी खेलाउने मन छ
बेली डान्स गर्ने छोरीलाई भैली सिकाउने मन छ
जालो लागेको मादलमा खरी लाउने मन छ
गोदावरी र सयपत्री आँगनभरि लगाउने मन छ।