कैयौं बिहानीहरूको समाधिपछि
तमाम अनिदा सपनाहरूपछि
तैरिरहेको हावाले बिउँझिँदै
जीवनका थोपाहरूले सिँचिँदै
किरणका डोबहरूले भरिँदै
म जन्मिएँ
धर्तीको ढुकढुकीमा
उसका
नाङ्गा गराहरूमा
भविष्यका फाँटहरूमा
पहिलो आश उमार्दै
हरियो रङ्ग छर्दै
म हुर्किरहेँ
धर्तीको बैँसमा
कहिले
कलेटी परेका चिराहरू
मेरा जराहरू उखेल्न चाहन्थे
कहिले
अनवरत छिटाहरू
मेरा हाँगाहरू छिचोल्न चाहान्थे
तर
ऊ कहिले डगमगाएन
ऊ गोडिरह्यो
हरेक अनुकूलताहरू
फुटाइरह्यो सङ्कुचित डल्लाहरू
र
फुकिरह्यो मभित्र सासहरू
उसका अभावले, हातका ठेलाहरूले, पसिनाले
मेरा पत्र-पत्र फुलाइरहे
धर्तीको उधानमा
हरेक बिहानी
उसका बाफिएका सपनाहरू
ममाथि समेटिने गर्थे
टकटकिएका भकारीहरू जस्तै
केही सतहबाट चिप्लिने गर्थे
केही हावासँगै विलीन हुन्थे
उसले
खेतका आलीहरूमा
इच्छाहरू रोपेको थियो
केही
विषाद अनि रोगले मारिने गर्थे
केही
बिचौलियाहरूको सर्तमा साटिने गर्थे
ऊ
आधुनिक गोरेटो कोर्न जान्दैन
समयले पुरेको चाल पाउदैन
माटो र बाटोमा फरक कसले बुझाइदिने उसलाई?
ऊ त
झार र बुट्यानकै जालोमा जेलिएको छ
कृषिमा क्रान्ती कसले बुझाइदिने उसलाई?
हुन त
देश आफै परनिर्भरतामा अडिएको छ
जुम्ली स्याउ सिम्ला पुग्न चाहँदो हो
इलामे अलैंची बेलायत घुम्न जाँदो हो
हुन त
सपनाहरूको गन्तव्य परेलीहरूमै थामिएको छ
म त
उसको बारीमा फुलिरहेको एक गाँस
भोकनगरीमा चम्किरहेको एक टुक्रा जून
मेरो टहटहले
पारिलो घाम पर्खेको छ
उसको र मेरो कथाले
अब
नयाँ आयाम खोजेको छ।