मध्यरातमा मैले मेरो कथा भेटेँ
मेरो कथा घाइते थियो
मेरो कथा रक्ताम्य भएछ
चोटै चोट लागेको मेरो कथा
रुँदै थियो
बिलौना गर्दै थियो
मैले उसको नीलडामहरू नियालेँ
कथाका घाउहरू आलो नै थिए
मलाई कता-कता आफ्नो कथा देखेर माया लाग्यो
मैले उसलाई अंगालोमा हालेँ
कथा झन् भक्कानियो
ठूलै घत र घात लागेजस्तो घिक्काउन थाल्यो
मैले उसको चोटको कारण सोधेँ
उसले मतिर देखाउँदै भन्यो-
'म'
संसारको मोहको नसामा बेहोसिएर
मैले नै आफ्नो कथालाई
घाइते बनाएछु
दोबाटोमा लछार पछार पारेर
मैले नै मेरो कथाको गला दबाएछु।
मेरो कथाको पात्र तिमी
म आफूले ममा भएको मलाई बिर्सेर
तिम्रो लागि नै
मैले मेरो कथालाई घाइते बनाएको छु
तिम्रो लागि नै
दोबाटोमा लछार पछार पारेर
मैले नै मेरो कथाको गला दबाएछु।