बाधक नहोस् सङ्घीयता यति सानो भूमिभित्र
पल्टाउँदा सानै रहेछ मेरो देशको मानचित्र
काम गर्ने योजना र वातावरण खोज्नु पर्ने
तर यहाँ प्रदेश खुले, भत्ता बाँड्न भर्ती गर्ने!
क्षेत्रहरू पाँचै थिए, जिल्ला थिए अञ्चलमा
साना-साना वडा थिए राम्रै थियो सञ्चालन
शान्ति थियो राष्ट्रभरि आनन्द र निर्भयको
खै त आज यत्रो विधि गर्दा पनि केही भएको!
राजा आउने बाटै छैन, छैन कोही लायक पनि
निर्दलीय व्यवस्था त हुँदैन भो जायज पनि
स्वतन्त्रता हुनुपर्छ यस्तै ठिक छ अझै पनि
तर यहाँ सङ्घीयता आयो कि त बाधक बनी?
मुकाम र नाम राख्ने विषयमै बाझ्नु पर्दा
अखण्डता भत्किएला अरुसँग दाँज्दै गर्दा
विकासको कुरै छैन, सुरक्षा त परै जाओस्
जनमत सङ्ग्रहले मात्र यसको टुङ्गो लाओस्!
राख्नै परे राखौँला नि बहुमतले पास गरे
भाषा धर्म रोजौँला नि देशका लागि रोज्न परे
भत्काएर मौलिकता बन्यो भने कानुन कुनै
मान्य हुने छैन यहाँ बाँकी कुरा जानून् उनै
मान्य हुने छैन यहाँ बाँकी कुरा जानून् उनै।