बुटवल नगरी- दीपनगर, पन्ध्र फीटमाथि
बसी म देख्छु- एक वृक्ष र सानो चौपारी
अर्ध छाया अर्ध धुप, घाम ट्याक्कै चेहेरामा परेको
मुर्छित नशामा, मुडोझैँ ढलेको
वर्षौंको गाथा हो, खासै फरक भेटिनँ
फरक यति छ कि आज उसको साथी देखिनँ
सानो बुकुरो अनि ओत लाग्ने छाना
बुढा र बुढी, धौँ-धौँ दुई छाक खाना
मजदुरी गर्दै जीवन बिताउँदै
कहिले जीवनले उसलाई बिताउँदै
काट्दै थियो दिन
सायद लक्षहीन
छ आज एक्लै, एकल साथी नि गुमायो
गरिबी रह्यो केवल, साथ सबै हरायो
मुहार त देख्छु उस्तै, त्यही पहिल्यैजस्तो
बुझ्छु म कहाँ र, उसको मन कस्तो?
त्यही चौपारी सानो, जस्तै उसकै लागि बनेको
भेटिन्छ सधैँ ढलेको, निर्जीव झैँ लडेको
केही सोध्दा प्रश्न, दिन्छ जवाफ हाँसी
छ एउटा लोर्के, यही लखनपथ निवासी।