'बोंझु आ तु ल मोन्द! कम: ता ले भु?' विश्वभाषा क्याम्पसकी फ्रेन्च भाषा पढाउने म्या’म कक्षाकोठामा प्रवेश गर्दै थिइन्। साथीहरूले फ्रेन्च भाषामा म्या’मसँग कुरा गर्दा अजय भने ट्वाल्ल परेर हेरिरह्यो। लाग्थ्यो, उसले केही बुझेको छैन।
अकस्मात कक्षाकोठाको ढोका हुत्तिएर खुल्यो र परिवेशमा एउटा आवाज गुन्जियो, 'प्युई जँ थ्रें मादाम?' एकजना विद्यार्थी कक्षाकोठामा प्रवेश गर्ने अनुमति माग्दै भित्र आइन्।
परिचित आवाज झैं लाग्यो उसलाई। आँखाहरू अनायसै त्यस आवाजको पछाडि दगुरे। सूर्यको तेजिलो प्रकाशबाट अँध्यारो कोठामा प्रवेश गर्दा झैँ आँखाका नानीहरू फुल्न थाले। रक्त सञ्चार बढ्न लाग्यो। प्यासी प्रेमीले झैं उसका आँखाहरूले उनका हरेक अंगहरू चुम्न लागे।
जुरुक्क उठेर उनीसँग अंगालिन चाह्यो तर हिम्मत निकाल्न सकेन। अचानक ओठमा मुस्कान भर्दै अलौकिक आनन्द अनुभूत गर्यो। दुम्सीका काँडा झैं देखिने उसका मोटा कपालका रौंहरू तन्किन लागे। वर्षौंदेखि नकाटेको दाह्रीले समेत अनुहारको मांशपेशीको लयमा चाल दिन लागे।
यो सब देखेर ऊसँगै बस्ने आधा उमेरको सहपाठी श्याम अवाक् भयो र भन्यो, 'अंकल, के भयो? तपाईं त एकाएक गम्भीर हुनुभयो त!'
अजय झस्कियो। श्यामले सबै कुरा थाहा पाए झैं गरी लाज मान्न लाग्यो। उसलाई काउकुती लागे झैं भयो। भिन्न परिस्थितिले श्रृजित मन्द उत्तेजक कृयाकलापलाई काबुमा ल्याउन भरमग्दुर प्रयास गर्यो। पुन: आफैंलाई सम्हालेर कल्पनाको दुनियाँमा रमाउन थाल्यो। मानौं, कल्पना नै उसको प्यास मेटाउने वस्तु हो।
बढो रंगिन थिए ती दिनहरू। छुट्टै आकर्षण थियो जीवनको। जिउनुको मजा नै बेग्लै थियो। छोटो समयको मिलन अनि सहयात्रामा जुगौं जुग सँगै बिताएका प्रेमी जोडीका झैं कहानीहरू लुकेका थिए। लाग्थ्यो, एउटा कुशल कथाकारले जानकारी पाए धेरै फिल्मका पटकथाहरू निर्माण हुन्थे। तर अभिनयमा सजीवता भर्न भने ती बाहेक सायदै कसैले सक्थे।
विडम्बना, वर्षौंसम्म एउटा अँध्यारो पोखरीको पिँधको ढुङ्गा झैं भएका थिए ती यादहरू। समयक्रम बदलियो। एकाएक पोखरी संग्लिई पिंधका ढुङ्गाहरू देखिए झैं यादहरू एकपछि अर्को गरी ताजा हुँदै गए। मनमा घरी असीम आनन्द त घरी बेचैनी छाउँदै गयो। कल्पना र योजनाका बाढीहरू तँछाड मछाड गरी ओइरिन थाले।
मध्यम उचाइ। उही सुगठित शरीर। हँसिलो मुहार अनि समान मृगनयनी, जसको पर्खाइ उसको जीवन बाँच्ने आधार बनिरहेको थियो। उनीसँगको भेटको सम्भावना त थिएन तर पनि उसले सत्य स्वीकार्न सकेको थिएन। मूल्यहीन जीवन जिउनुको अर्थ नदेखी भौंतारिँदै थियो। यस बीचमा विदेशिने सोचाइ पनि नआएको होइन। तर मातृभूमि छोडेपछि झन् उनको यादले सताउने ठानी नेपाल छाड्न सकेन।
भाषागत दक्षता अभिवृद्धिप्रति उसको खास रुचि त थिएन। तर पनि यसै के बस्नु भनि विश्वभाषा क्याम्पसमा भर्ना भएको थियो। कक्षा सञ्चालन भएको दुई महिनामा उसको त्यो पहिलो दिन थियो। जहाँ उसले १५ वर्ष पछिको मृगतृष्णा देखेको थियो।
कक्षाकोठाको पहिलो बेन्चमा बसेर पढ्ने बानी उनको वियोगसँगै हराएको थियो। पढाइमा पनि पहिलेको जस्तो सजीवता थिएन किनकी ऊ स्वयं नै निर्जीव प्राय: थियो।
'ओ रभ्वाख:, आ दमा' अकस्मात उसको कानमा परिचित झैं लाग्ने आवाज गुञ्जियो र प्रतिध्वनित हुँदै विलीन भयो। भोलि भेट्ने अपेक्षा सहितको आजको दिनको बिदाइ गर्दै आएको आवाज थियो। आवाजले उसैलाई संकेत गरेझैं ठान्यो। उसका गम्भीर अनि प्यासी आँखाले उनलाई नियाल्न लागे।
आवाज ठम्याउने कोसिस गर्यो। ऊ चाहन्थ्यो, आवाज र उनी एकैसाथ पहिचान होस्। तर त्यसो हुन सकेन। उनीलाई देखेदेखि नै कल्पनाको पोखरीमा चुर्लुम्म डुबेको उसले उनीकहाँ बसिन्, के गरिन् अनि कति बेला गइन भन्ने पत्तो नै पाएन। म्यामले लगातार लेखाइरहँदा अरुको कपीमा कति खाली पेजहरू भरिए थाहा छैन तर अजयको मनका खाली पेजहरू भने उनको प्राप्तिको आभासले भरिँदै थियो।
विगतका रंगिन दिनहरूमा छुटेका रंगहरूको काल्पनिक संयोजनमा व्यस्त रह्यो। तर व्याकुल मनलाई तृप्त पार्न निर्जीवतुल्य सपनालाई सजीव बनाउने हेक्का भएन। सायद उसको लागि त्यो एक घण्टाको समय भविष्यको योजनामा भन्दा विगतको कल्पनाको लागि खर्चिनु उपयुक्त लाग्यो। मानौं ऊसँग जीवनको कुनै योजना नै छैन जसले उनको प्राप्ती हुनु र नहुनुमा कुनै भेद राखोस्, केवल चाहना छ त केवल उनको सजीव शरीर देख्ने।
उसलाई पूर्ण विश्वास छ कि उनी तिनै हुन् जसलाई उसले मन मस्तिष्कमा सजाएर राखेको छ। वर्षौंदेखि खोजिरहेको छ। अनि उनको प्राप्तिको विश्वासमा पर्खिरहेको छ। त्यसैले उनीसँग आजै साक्षात्कार गर्न नपाएकोमा उसलाई कुनै विस्मात् छैन।
भोलिपल्ट पुन: कक्षाकोठामा देख्ने अभिलाषाका साथ मनमा छुट्टै उमंग लिएर घर फर्कियो। हरेक वस्तुमा उनलाई पाउने आशा गर्दै तिलस्मी ओठहरूमा छाएको मुस्कानले आफूलाई सिंचित गर्दै।
अरुबेला क्याम्पस जान अल्छी गर्ने ऊ भोलिपल्ट समय अगाडि नै पुग्यो। २१ वर्ष अगाडिको स्कुले जीवनको स्मरण ताजा गरायो। कक्षाकोठामा छिर्ने बित्तिकै सबैभन्दा पहिले आफैंले देख्ने अभिलाषाका साथ पहिलो बेन्चको पहिलो सीटमा बस्यो। अनि वर्षौं देखिको प्यासी नयनले एक तमासका साथ हेरिरह्यो।
पढाइ सुरु भएको दुई महिना भए पनि कक्षाकोठामा उसको लागि यो दोस्रो दिन थियो। अरु सहपाठीहरूसँग समेत ऊ अपरिचित थियो। पालैपालो आउने सहपाठीहरूलाई नियाल्दै गयो। तर उसको आँखा निमेशभर ढोकाबाट यताउता गरेनन्। ऊ बेचैन हुँदै गयो उनको आगमन प्रतिक्षामा।
कक्षाको समय भयो। शिक्षिका भित्र आइन् र ढोका लगाइन्। यत्तिकैमा एउटा विद्यार्थीले हतारिएर ढोका खोल्दै भन्यो, 'म्याडम सरी टु से, ज्योति इज नो मोर! एकैछिन अगाडि गल्कोपाखाको सवारी दुर्घटनामा उनको मृत्यु भयो।'
कक्षाकोठामा सन्नाटा छायो। अकल्पित मृत्युको जानकारी गराउने त्यो आवाज लामो समयसम्म प्रतिध्वनित भइराख्यो।
असाध्यै मिलनसार, सहयोगी स्वभावकी धनी थिइन् ज्योति। कसैलाई पनि चित्त दुखाउन नचाहने, सबैसँग मिठो बोल्ने अनि रुप र क्षमतामा पनि अब्बल रहेकी उनको निधनले सबै स्तब्ध भए। कक्षाकोठा शोकाकुल बन्यो।
अजयको मनमा चिसो पस्यो। डराउँदै श्यामलाई सोध्यो, 'उसको नाम के हो?
श्यामले भन्यो, 'ज्योति, तपाईंले त चिन्नुभाको छैन होला। ऊ एक टुहुरी केटी हो। सानैमा बुबाआमा बित्नुभएको थियो। मामाघरमा हुर्के बढेकी र त्यही बसेर हाईस्कुलसम्म पढेकी। धेरै पढेर ठूलो मान्छे बन्ने अनि देशको लागि केही गर्ने चाहना थियो उनको। अहिले भर्खर १९ वर्षकी भइन्।'
उसको गला अबरुद्ध भयो। बोल्ने कुनै शब्द नै पाएन। अजय अहिले ४० वर्षको भयो। त्यो बेला उसकी प्रेमिका पनि १९ वर्षकी थिइन्। क्याम्पस पढ्दाको सुरुआती दिनहरूमा उनीहरूको चिनजानसँगै मायाप्रिती गाँसिएको थियो। जुगौँजुग सँगै जिउने कसम खाएका उनीहरूको वैवाहिक बन्धनमा बाँधिने टुङ्गो भएपछिको बिछोड थियो त्यो। सवारी दुर्घटनाबाट भएको उनको मृत्युको खबर उसले स्वीकार्न सकेको थिएन।
अजय मुर्छित थियो। आफ्नो शरीर ठाडो राख्नै सकेन। 'अङ्कल हजुरलाई के भयो?' श्यामले मधुर आवाजमा सोध्यो। उसले सुनेर पनि नसुनेझैं गर्यो। मानौं ऊसँग जवाफ फर्काउने शब्द नै छैन।
विचरा श्यामलाई के थाहा उसको विगत! अनि उनको प्राप्ति नै उसको जिउनुको अभिलाषा।
सम्हालिन कोसिस गर्यो। एकपटक सबैको अनुहारमा नियालेर हेर्न चाह्यो। आफू र उनीहरूको पीडाको फरकपन अनुभूत गर्दै।
संयोग पनि कस्तो अचम्मको। उसको प्रेमिका र ज्योतिमा नमिल्ने कुरा केही थिएन। नाम, उचाइ, कद, रुप, सौन्दर्य, सबैमा समानता। विडम्बना, दुवैको मृत्यु समेत एकै किसिमबाट भयो। फरक यतिमात्र थियो कि उसकी ज्योति यिनी नभई अर्कै ज्योति थिइन् जसले १९ वर्ष अगाडि नै भौतिक संसार छाडेकी थिइन्।
अजय अझै पनि त्यही ज्योतिको खोजीमा थियो। अनि वर्षौंपछि भेटेको दिवास्वप्नमा रुमल्लिएको थियो। उनलाई पाउने चाहनामा १९ औं वसन्त पार गरिसकेको उसले पत्तै पाएको थिएन। र यससँगै उसको कल्पनामा जीवित ज्योतिको उमेर पनि परिवर्तन हुने समेत ख्याल गरेन।
यो स्वभाविक पनि थियो किनकि उनको यादमा यति तड्पिएको थियो कि उनको खोजिमा उसले आफूलाई समेत बिर्सिसकेको थियो। यस्तो लाग्थ्यो ज्योतिको सजीव शरीर उसको मृगतृष्णा बनेको थियो।
अकस्मात उसका आँखाको रङ्ग बदलियो। अनुहार रातो भयो र युद्दभूमिमा होमिने बेलाको सिपाही झैं आफूलाई कठोर बनाई डेस्कमा मुड्की बजार्यो। अनि चिच्याउन थाल्यो, 'हे भगवान, तिमी कहाँ छौ? केका लागि छौ? मरेको लासलाई खरानी बनाउन किन ज्योतिको पुनर्जन्मको आभास गरायौ? किन? किन? किन?'