एक सुदूर गाउँबाट
अनपढ आमासँग शब्द सापटी मागेर
प्रतियोगितामा पठाउँदै छु यो कविता।
सकभर यो कविता नपढ्नू
पढिहाले भने नसम्झनू
एक बालक जोतिरहेछ हलो
मुखले बोलिरहेछ कविता
लक्ष्य राखेको छ महान् कवि बन्ने।
बालकले जोतिरहेको हलोको जुवामा
दाहिनेपट्टि बुबा र देब्रेपट्टि आमा बाँधिएकी छिन्
हल गोरु छन् छ न त गोठमा
छोराले गोरु जोत्न नसकेर जोतेको छ
आमा र बुबालाई।
घरको कौसीमा बसेर
खेततिर हेर्दै धुरुधुरू रोइरहेछिन् हजुरआमा
उभिएको छु म
तिनै हजुरआमाको ठिक देब्रेपट्टि।
हजुरआमाले मतर्फ हेर्दै भनिन्-
बाबु, यसको बुबाले वर्षौंसम्म मलाई जोत्यो
आज यो हली आफ्नै बुबालाई जोत्दैछ
जोत्न त भोलि त्यसका छोराछोरीले पनि जोत्लान्
त्यो हलीलाई
तर संसारमा आमाबुबा बाहेक
नसकिँदो रहेछ अरु कसैसँग।
चुपचाप खेत हेर्दै थिएँ म
फेरि भनिन् आमाले-
बाबु, सहरमा कवि हुन्छन् रे
कविले सुनाउने कुनै कविता सुनाउनू न मलाई
कविता सुनेर मर्ने रहर छ मेरो
कवि लक्ष्मीप्रसाद देवकोटाको
भिखारी कविता सुनाउँदै थिएँ म
कविता सुनाउँदा सुनाउँदै
आफ्नो जीवनको अन्तिम श्वास काट्नु भयो
हजुरआमाले मेरो काखमा टाउको राखेर।