‘स्वाद केले थाहा पाउँछ?’
हामी विद्यार्थी हुँदा र पछि शिक्षक भएपछि विद्यार्थीलाईँ पढाउँदा गरिने प्रश्नको एउटै जवाफ हुन्छ ‘जिब्राले’। तर मलाईँ चेतनाथ आचार्यकृत ‘रूइबा’ उपन्यास पढेपछि स्वाद जिब्राले होइन अन्तरमनले थाहा पाउँछ र हृदयमा पुर्याउँछ भनेर ब्याख्या गर्न मन लाग्यो।
साहित्यिक चेत भएका मानिसबीच यसरी संवाद हुनेगर्छ -
‘त्यो कथाका संवादहरु लामा, भद्दा र स्वादहीन लाग्यो।’
‘हैन श्रष्टा चाहिँ मान्नैपर्छ। क्या स्वादिला संवादबाट कथा बुनेको।’
हो, त्यसकारण भनिएको हो-साहित्यिक रचनामा स्वाद हुन्छ।
रूइबा स्वादिलो छ। तीते करेलो स्वादिलो हो र? तीतो हुन्छ। तर हरेकको भान्सामा पाक्छ। मिठो मानीमानी खान्छन् र स्वादिलो भन्दै जिब्रो पड्काउँछन्। रूइबा पनि तीतो छ। पाठकलाईँ हसाउँदैन बरू रूहाउँछ मात्र। तर पढ्न सुरु गरेपछि छोड्न मन लाग्दैन। अन्तरमनले स्वाद लिँदै हृदयलाईँ पगाल्छ।
रूइबा उपन्यासका सर्जक चेतनाथ आचार्य मेरा पुराना मित्र हुन्। उनी चीनको राजधानी बेइजिङमा बसेर पत्रकारिता गरिरहेका छन्। पेशाले पत्रकार आचार्य आख्यानमा राम्रो कलम चलाउँछन् भन्ने कुरा उनका कथाहरुबाट थाहा पाइन्छ। आचार्यले तीन वटा कथा सङ्ग्रह बजारमा ल्याइसकेका छन्।
एक दिन मेरो इमेलमा आचार्यको एउटा सन्देश देखियो। उनले लेखेका थिए ‘एउटा उपन्यास लेख्ने प्रयास गरेको छु। पाण्डुलिपि पढेर प्रतिक्रिया दिनुहोला।’
इमेलसँगै अट्याच गरिएको फाइल डाउनलोड गरेर प्रिन्ट गरेँ र पढेँ। ‘न्याउली’ नामको उपन्यासको पाण्डुलिपि पढ्दा बढा मज्जा लाग्यो। आफूलाई लागेको सुझाव समेटेर एउटा लामो इमेल लेखेँ। यो कुरा दुई वर्ष अगाडिको थियो।
बीचमा कुराकानी हुँदा आचार्यजीले उपन्यास प्रकाशनका क्रममा रहेको बताएका थिए। २०७८ सालको दसैंताका समाचारमा पढ्न पाइयो ‘पत्रकार चेतनाथ आचार्यको रूइबा उपन्यास प्रकाशित।’
‘न्याउलीलाई थाँती राखेर अर्कै उपन्यास लेख्न भ्याएछन्’ भन्ने लाग्यो। किनेर ल्याएँ र पढ्न बसेँ। नाम मात्र पो फरक रहेछ। उपन्यास त मैले पढेको उही पाण्डुलिपिको न्याउली नै रूइबाका रुपमा पो आएको रहेछ।
म समीक्षक होइन। मलाई नेपाली उपन्यास पढ्न मन लाग्छ। नेपाली भाषामा बजारमा आएका प्राय उपन्यास नछुटाइ पढ्ने गर्छु। पछिल्लो समय उपन्यास पढ्नु मेरा लागि नसा जस्तै भएको छ। अनि रूइबा पढेपछि चाहिँ केही कुरा नलेखिकन चित्तै बुझेन।
मैले पढेका नेपाली आख्यानका किताबमध्ये रूइबा सबैभन्दा नौलो छ। यसको कथा भन्ने शैली, कथाबस्तु, विषय छनोट र भाषाको लवज सबै कुरा विल्कुल भिन्न छ। उपन्यासमा वर्णित हरेक शब्द, हरेक वाक्य, हरेक पृष्ठ र हरेक च्याप्टर यति महत्वका छन्। पढ्दै जाँदा शब्द र वाक्यमुनि गरिने रेकाङ्कन नै भरिभराउ हुन्छ। सामान्य पात्रले सामान्य लवजमा व्यक्त गरेका भनाइले मान्छेको जीवनलाई बोकेको छ।
रूइबा काल्पनिक कथा मात्र हो जस्तो मलाईँ लाग्दैन। यसमा नेपाली तामाङ जातिको संस्कृति र संस्कारको यथार्थ वर्णन एकातिर पढ्न पाइन्छ भने अर्कातिर सिङ्गो चीनका राष्ट्रिय पर्वबारे बुझ्न पाइन्छ।
कतिपय कथा बस्तु काल्पनिक हुन सक्छन् तर पाठकका लागि उपन्यासमा उल्लिखित अधिकांश घटनाबस्तु जानकारीमुलक र काम लाग्ने सूचना छन्। तामाङ र चिनियाँ संस्कार संस्कृतिमा केही समानताहरु भेट्न सकिन्छ भने श्रष्टा र दूताबास प्रतिनिधिले न्याउलीलाईँ चिनियाँ जस्तै देख्नुले हिमालय शृङ्खलाले नछेकेको भए चीन र नेपालबीच पनि अहिलेसम्म ‘रोटीबेटीको साइनो’ कायम रहन्थ्यो भन्ने आभाष गराउँछ।
उपन्यासले रुवाउनु मात्र पर्छ? कहीँ कतै हसाउन अथवा खुशी हुन दिएको भए हुँदैनथ्यो? न्याउलीसँगै पाठकलाईँ पनि अन्याय नै गर्नुपर्छ र? उपन्यासकारलाईँ प्राय सबै पाठकहरुले यही प्रश्न गर्न सक्छन्। किनभने मलाई जस्तै अन्य पाठकलाई पनि उल्लिखित प्रश्नहरु खड्किएका हुनसक्छन्। त्यसकारण म पनि यही प्रश्न गर्छु उपन्यासकारलाई।
न्याउली जन्मदा परिवारमा देखिएको खुशी कहिल्यै फर्किएर आँउदैन। के न्याउलीले परिवारको भाग नै खोसेकी हो? दु:ख पाउन मात्र जन्मिएकी हो न्याउली?
रूइबा उपन्यासमा आउने पात्र हाम्रै वरिपरीका हुन्। तपाईं हामीले दैनिक भेटिरहेका र चिनिरहेका व्यक्तिहरु हुन्। किनभने न्याउलीको पीडाका पछाडि नेपाली समाजको जिउँदो र कुरूप चित्र अंकित छ। नेपाली समाजमा वैदेशिक रोजगारका नाममा मान्छेको व्यापार गर्ने चलन सुरु भएको तीन दसक नाघेको छ।
राज्य र कानुनले यसलाई नियन्त्रण गर्नुको सट्टा कुनाकाप्चासम्म फैलिएको छ। तब भन्नैपर्ने हुन्छ नेपालका ७७ वटै जिल्लामा पाबाङ गाउँ छन्। युवापुस्तालाई विदेशमा सुन फल्छ भनेर सपना बाँड्ने सेते र टिमुरे हरेक गाउँमा छन्। हाम्रै भूगोलका, आफ्नै छिमेकका मानिसहरु उपन्यासको नेपाल खण्डमा सलबलाएका छन्।
उपन्यासलाईँ दुई खण्डमा बाँडेर हेर्न सकिन्छ। सुरूको भागमा नेपाल खण्ड र आधाभन्दा पछाडिको भाग चीन खण्ड। उपन्यासलाईँ यसरी खण्डित गरिएको छैन्। मैले सजिलोको लागि मात्र यसरी खण्डित गरेको हुँ।
चीन खण्डका पात्र पाठकका लागि अन्जान भए पनि यथेष्ट सहानुभूति र माया बटुल्न सफल छन्। न्याउली न्यायिक हिरासतमा भएका बेला दोभाषेका रूपमा आएकी पात्र अप्सराले सबैभन्दा बढी पाठकको माया पाउँछिन्। बिरानो देशमा न्याउलीको पहिलो संवाद उही अप्सरासँग गरेकी थिइन्। निरिह न्याउलीले दोभाषे अप्सरालाई भन्छिन्,‘तपाईँको कुरा अदालतले बुझ्छ नि। मेरो बेथा सबै भनिदिनू, म निर्दोष छु।’
उपन्यास पढ्दै भावुक भएका पाठकले पनि न्याउलीले जस्तै अपेक्षा गर्छन्। कतै अप्सराले भनेको कुरा अदालतले सुन्छ कि। तर कानुन भावुक हुँदैन। कानुनले अपराध गरेको छ कि छैन, त्यो मात्र केलाउँछ। कुन परिवेश र कस्तो परिवन्द पर्यो भनेर कानुनले गोहो पहिल्याउँदैन। कानुनसँग न माया हुन्छ न दया। उपन्यासभित्रको सबैभन्दा कठोरपन नै यही हो।
रूइबामा आउने पात्रहरु पाठकको मथिङ्गलमा बसिरहन्छन् डेरा जमाएर। पाना पल्टाउँदै जाँदा नयाँ नयाँ पात्र थपिन्छन् तर पुराना पात्र मस्तिष्कबाट हराउन मान्दैनन्। धेरै पात्रको भिडभाड पनि छैन उपन्यासमा। यसलाईँ रूइबाको सुन्दर पक्ष मान्नुपर्छ।
रूइबा पढौं पढौं लाग्ने उपन्यास हो। यसमा कथा सलल बगेको कोशी जस्तै। कतै भँगाला छुटिएर जान्छन् त कतै दोभान र त्रिवेणी हुन्छन् कथाका। स्थानको वर्णन र प्रकृतिको महिमा यति बेजोड छ जहाँ बिम्ब प्रयोगले उपन्यासलाई अझै सजीव तुल्याएको छ।
पाठक पुग्दै नपुगेको ठाउँको परिवेश चित्रण बढा सुन्दर र जिवन्त छ जहाँ आफैँ उभिएर नियालिरहेको जस्तो महसुस गराउँछ। धादिङको पाबाङ गाउँका बुट्ट्यान, ढुङ्गेधारो, गुम्बा, सल्लाघारी, छ्योर्तेन, गणेश हिमाल, देउराली, भन्ज्याङलाई न्याउलीले गरेको वर्णन सुन्दा किताब पढेको होइन चलचित्र हेरेजस्तो लाग्छ।
तामाङ जातिको जन्मदेखि मृत्यु सम्मका संस्कारहरुमा सहभागी हुन पाइन्छ। गरिब, धनी, दलाल, सामाजिकअभियन्ता, नेता, कोमल हृदय भएका व्यक्तिसँगै पशु पंक्षी र बोटविरुवाहरुसँग जम्काभेट गर्दै कुरा गर्न पाइन्छ। पात्रको चरित्र चित्रण अत्यन्त स्वाभाविक र सहज छ।
पाठकलाई धादिङका तामाङसँग अन्योन्याश्रित गराउँदा गराउँदै रूइबाले परम्परागत चिनियाँ राष्ट्रिय पर्वहरु मनाउने कार्यक्रममा पनि उही ढङ्गले तानेर लान्छ। चिनियाँ समाज कस्तो छ? चिनियाँ कानुन कार्यान्वयनमा केकस्ता कमजोरी छन्?
नेपाली र चिनियाँ सौन्दर्यमा केकस्ता भिन्नता छन्? आधुनिक रुपमा विकसित हुँदै गएको कम्युनिष्ट मुलुक चीनमा परम्परागत प्रचलनले कसरी जरा गाडेको छ? यस्ता प्रश्नको जवाफ गुगलमा होइन रूइबामा पाइन्छ।
उपन्यासले केही नयाँ कुरालाई उजागर गरेको छ। बालबालिकाहरु सरकारी बालगृहबाटै बेचिन्छन् भन्ने कुराले संसय पैदा गराउँछ। महिलाहरुले खोलेको उद्दार संस्थाले नै महिला हिंसा गराउँछ भन्ने कुराले कपाल ठाडो बनाउँछ। पत्रकारले निमुखाको आवाजलाई बोक्ने होइन बोलवालाकै दलाली गर्छ भन्ने थाहा पाउँदा कन्सिरी तात्छ।
वैदेशिक रोजगारीमा गएकाहरु उतै हराउँछन्। बाकसमा फर्कने त अहिले रहेछ। दुई दशक अगाडि त वैदेशिक रोजगारीमा गएका अभागी नेपालीले बाकसमा फर्कने अवसर पनि नपाउने बिडम्बना रहेछ।
तस्करहरु खुलेआम हिँडिरहेका भेटिन्छन्। सजाय पाउने त न्याउलीजस्ता निमुखाले मात्र रहेछ। खास अपराधी त फूलमाला र अबिर लगाउँदै भाषण छाँट्ने काम गर्दोरहेछ। जेल परेका निर्दोशहरु छुटेको खबर आउँदैन। गणेश हिमालको भर पर्नेहरुको रक्षा हुँदैन। पारिवारिक विछोड मात्र हुन्छ, कतै पनि मिलन हुँदैन। कथा वियोग नै वियोगमा सकिन्छ। पाठकले संयोगको अपेक्षा गर्दा गर्दै उपन्यासको अन्तिम पाना पल्टन्छ।
आमा हुन दश महिनाको प्रशव वेदना आमा हुनेलाईँ नै थाहा हुन्छ। दुई भिन्न देश, भाषा, संस्कार, संस्कृति र जीवनपद्धतिलाईँ यथार्थमा उतार्दै उपन्यास सिर्जना गर्ने व्यथा चेतनाथजीलाईँ नै थाहा होला। दश महिना हैन, यो व्यथा उहाँले तीन चार वर्ष नै खप्नुभयो भन्ने अनुमान गर्न सकिन्छ।
उपन्यासको नाम किन रूइबा राखियो?
उहाँको सन्तानको नाममा पाठकको जिज्ञासा हुन्छ। जो कोही पाठकले उपन्यासको नाम मुख्य चरित्र न्याउलीकै नामबाट राखेको भए सुनमा सुगन्ध हुन्थ्यो भन्ने सोच्न सक्छन्। एउटा पाठक भएकाले मलाई पनि त्यस्तै लागेको थियो।
मैले पाण्डुलिपि पढ्दा उपन्यासको नाम न्याउली नै थियो। प्रकाशन हुँदा रूइबा भइसकेको रहेछ। उपन्यासमा ‘न्याउली’ शब्द धेरै ठाउँमा दोहोरिन्छ। तर रूइबा शब्द दुई ठाउँमा मात्र प्रयोग भएको रहेछ।
रूइबाको अर्थ बुझेपछी चाहिँ मलाई उपन्यास अझै गहकिलो लाग्यो। यो नामले सिङ्गो तामाङ पहिचान र गरिमालाई बोकेको रहेछ। छोटोमा भन्नुपर्दा रूइबाको अर्था बंशज रहेको कुरा उपन्यास पढेपछि थाहा पाइयो।
जनजिब्रोमा झुण्डिने नाम न्याउली हुन सक्थ्यो तर अर्थ र गरिमाका हिसाबले रूइबाले जित्यो भन्ने मलाई पनि लागेको हो। तामाङ जातिको संस्कार अनुसार माइतिको हक लाग्ने थर र रुइ (हाड) न्याउलीको नहराओस्। रूइमात्र हैन न्याउलीको पाइला नेपाली माटोमा परोस्। रूइबा संस्कृतिलाईँ जोगाउन सकियोस्।
मुख्य पात्रको नामबाट कृतिको नाम राख्ने परम्परा पुरानो हो। यो परम्परालाई रूइबाले तोडेको छ। बिम्बको प्रयोग गरेर राखिएको तीन अक्षरको ‘रूइबा’ नामले एउटा उपन्यास मात्र होइन तामाङ जातिको संस्कारलाई पनि बचाएको छ। यो उपन्यासले नेपाली शब्दकोषमा एउटा नयाँ शब्द पनि थपिएको छ भन्ने मलाई लाग्छ।
नेपालमा मात्र हैन चीनमा पनि कानुन अन्धो र झन्झटिलो रहेछ। असाहयको कानुनी सहायताको व्यवस्था सरकारी स्तरबाटै गरिएको हुँदोरहेछ। प्रमाणले भेटेपछि त्यो लाहाछाप सरह हुने नै भयो। भाषा तथा कानुनी अज्ञानतामा पिल्सिएकी न्याउली जस्ता विदेशीलाईँ सहायता गर्न खोजिएको भए पनि उनी कानुनको परिवन्दमा परेकी छन्।
चीनको न्याय प्रणाली र सजायको बारेमा पनि उपन्यासमा उल्लेख गरेर उपन्यासकारले कानुनका विद्यार्थीहरुलाईँ पनि न्याय गरेका छन्। न्याउली र मदनको विपक्षमा सुनाइएको फैसला पढ्दा कानुनका विद्यार्थीहरुलाईँ मात्र हैन आम पाठकलाईँ रोचकता दिन्छ। त्यो फैसला साँच्चिकै फैसलाको सम्पादित अंश जस्तो लाग्छ।
त्यहाँ कल्पनाका आधारहरुभन्दा कानुनी यथार्थहरु उल्लेख्य छन्। चिनियाँ जेलजीवन र त्यहाँको भोगाइ अनि जेलमा भए गरेका व्यवहारहरुले अहिलेसम्म नेपालीले थाहा नपाएको चीनको पाटोको जानकारी पाउँछन्।
बन्दीहरुको व्यवहारले समाजको चित्रण गरेको छ। यी सबै कुराहरुको गहन अध्ययन गरेर आख्यानमा समेट्न सक्नु उपन्यासकार चेतनाथ आचार्यको सफलता मान्नुपर्छ।
हामी न्याउलीका माइति हौँ। न्याउलीको रूइ हैन अब हामीलाईँ न्याउली नै चाहिन्छ। न्याउलीजस्ता कयौँ परिवन्दमा परेका नेपालीहरुलाई उद्दार गरेर सरकारले स्वदेश फिर्ता ल्याउन ढिला गर्न हुँदैन।
उपन्यासले न्याउलीको दु:ख सधैँभरि खिल जस्तै मनमा खाँदेर बस्न पाठकलाईँ बाध्य बनाएको छ। भनिन्छ, वियोगको साहित्यले पाठकलाई लामो समय तड्पाउँछ। संयोगको साहित्यले आनन्द दिन्छ तर पाठकले तुरुन्तै बिर्सन्छन्। उपन्यासको अन्तिम च्याप्टर ‘जलेको हिमाल’ पाठकलाई आहत बनाउँछ। हिमाल जल्दैन बरु तापक्रम वृद्धिले पग्लन्छ। तर, असह्य पीडा र बेदनाले हिमाललाई पनि जलाउने रहेछ। नेपाल र चीनका बीचमा अग्ला हिमालहरु छन्। बिम्बका रुपमा हिमाल जलेको भनिरहँदा पाठक चाहिँ पग्लिएर भक्कानिन्छन् र आँखाबाट हिमनदी बगाउँछन्।
करेला तितो हुन्छ तर यसले कसैको अहित गर्दैन। जेरी गुलियो हुन्छ तर यसका अहित धेरै छन्। एउटा नितान्त फरक स्वादको उपन्यास पढ्न पाएकोमा सर्जक चेतनाथ आचार्य र प्रकाशक फिनिक्स बुक्सलाई धन्यवाद।