विषय प्रवेश :
वि.सं. २०२० सालमा नेपालको काभ्रेपलान्चोक जिल्लामा जन्मिएका गोपी मैनालीले शिक्षा क्षेत्रमा विकास प्रशासन, अर्थशास्त्र र वित्तव्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन्। निजामती सेवा विशिष्ट तहसम्म रही देश सेवामा निरन्तर लागेका मैनाली नेपाली साहित्यको क्षेत्रको निबन्ध विधामा पनि चर्चित व्यक्तित्व हुन् र समालोचनाको लेखनमा उनले योगदान गरेका छन्।
‘निबन्धबारे आफ्ना कुरा’ शीर्षकमा निबन्धकार मैनालीको दृष्टिकोण छ, ‘प्रत्येक निबन्ध लेखनमा मलाई सधैं पछ्याइरहने दुई पात्र छन्, मेरी आमा र मेरो जन्मस्थान। आमा र जन्मभूमि एकै हुन्, जो निःस्वार्थ छन्। आमा र जन्मभूमिले कहिल्यै केही लिँदैनन्, दिने मात्र गर्छन्। एउटा निबन्ध त नमोबुद्धको डाँडामा बसेर मनमा आमा र आँखामा जन्मस्थानलाई राखेर लेखेको छु।’
निबन्धकारको कति सुन्दर र यथार्थ अभिव्यक्ति छ। दुबै जीवनदान दिने हुन्, दृष्टिकोणमा रहेको सत्यता र यथार्थता खुलस्त खुलेको छ। वर्तमान समयमा हाम्रो समाज कतातर्फ जानुपर्ने हो कतातिर उन्मुख छ। सारा संसार नै कतिपय अवस्थामा भ्रम सिर्जना गरिरहन्छ, त्यसैमा हामी बाँच्न बाध्य छौं। कता-कता सबैको मानसिक अवस्था तल झरेको अनुभूति हुन्छ, यसले स्रष्टाहृदय पिरोल्लिएको छ र यस्ता निन्धहरूको सिर्जना हुन्छ। यहाँका समस्त निबन्धलाई अवलोकन गर्दा यी कुराहरू देखिन्छन्।
गोपी मैनालीका आजसम्म प्रकाशित कृति हुन् : अवसाद अभिनयी (निबन्ध सङ्ग्रह २०४०), आँखाभरि रमिता मनभरि वेदना (नियात्रा सङ्ग्रह २०६३), युगकवि सिद्धिचरण कृति र प्रवृत्ति विश्लेषण (समालोचना २०६८), अपेक्षा र अनुभूति (निबन्ध सङ्ग्रह २०७४), घाउ आफैंलाई दुख्छ (निबन्ध सङ्ग्रह २०७८)।
सन्तोषी माता सञ्चार प्रा.लि. काठमाडौंबाट प्रकाशित ‘घाउ आफैंलाई दुख्छ’ (निबन्ध सङ्ग्रह) विषयक भूमिकालेखनको क्रममा ‘गोपी मैनालीको निबन्धकला’ शीर्षकमा चर्चा गर्दै नेपाली साहित्य समालोचना क्षेत्रका प्रसिद्ध व्यक्तित्व प्रा.डा.खगेन्द्रप्रसाद लुइटेलको भनाइ छ- गृहित विषयको दार्शनिक व्याख्या र कलात्मक अभिव्यक्ति, अनुभूतिको तीव्रता, काल्पनिकताको प्रबलता, स्वैरकाल्पनिक प्रस्तुति, बेजोड कल्पना र बौद्धिकताको सम्मिलन, राष्ट्रवादी भावना, स्वैरकल्पनात्मक भावाभिव्यक्ति, छोटाछरिता वाक्यको प्रयोग, प्रवाहपूर्ण भाषिकविन्यास आदि निबन्धकार गोपी मैनालीको ‘घाउ आफैंलाई दुख्छ’ शीर्षकको प्रस्तुत निबन्ध सङ्ग्रहमा सङ्ग्रहित निबन्धका खास विशिष्टता हुन्।
निबन्ध सङ्ग्रहको समीक्षात्मक दृष्टिकोण
‘घाउ आफैंलाई दुख्छ’ (निबन्ध सङ्ग्रह) विषयमा सङ्क्षिप्त तर समीक्षात्मक चर्चा गर्ने प्रयास यस लेखनमा गरिएको छ। यस सङ्ग्रहभित्र तीस वटा शीर्षकमा आवद्ध गरिएका परिष्कृत निबन्धहरू छन्। ‘आफ्नै कथा विशेष हुन्छ’ बाट प्रारम्भ भएका निबन्धहरूदेखि ‘बिदाइ’ शीर्षकसम्म पुग्दा कुनै एक शब्दात्मक, कुनै वाक्यांशात्मक र वाक्यात्मक रूपमा समाविष्ट गरिएका छन्।
कुनै छोटा कुनै लामा निबन्धहरू रहेको सङ्ग्रहमा कतिपय शाश्वत् पक्षका साथै कतिपय स्वैरकल्पनामा आधारित बनाएर समसामयिक विषयवस्तु, सामाजिक र राजनीतिक विषय सन्दर्भहरूलाई बढी मात्रामा आलेखन गरिएको छ भने विसङ्गति-विकृतिलाई सूक्ष्म व्यङ्ग्यात्मकका साथ देखाउने प्रयास गरिएको छ। कतिपय निबन्धहरूमा यात्रात्मकता र कथात्मकताको पुट पनि पाइन्छ। जीवनका आन्तरिक भावनाहरूलाई उघार्छन् – निबन्धहरूले। प्रत्येक पलपलमा घट्ने घटनालाई टिप्ने क्षमता निबन्धकारमा देखिन्छ। कतिपय वाक्यहरू कवितात्मक स्वरूपका रहेका छन्। लेखनशैली सुमधुर छ, निबन्धहरूको विषयवस्तु आफ्नै सेरोफेरोमा मात्र सीमित छैन, सर्वदेशीय छ, व्यापकताको धरातललाई प्रतिविम्बित गर्छ।
जीवनको गहिराइसम्म छुने प्रयास गरेका निबन्धहरूले जीवनका घटित घटनालाई औंल्याएका छन्। जस्तै : ‘सबैका सपना हुन्छन्, सपना शून्य जीवन जड हो तर सपनाका पनि स्तर र आयतन हुने रहेछन्। साथी संगति, परिवार, परिवेश र समाजमा उभिएर कसैले सपना देख्छ। सपना ठूला हुन्छन् वा साना तर देख्नेका लागि सबै सपना ठूला हुन्छन्।’ (पृष्ठ २७)
‘आफ्नै कथा विशेष हुन्छ’ मा बुद्धत्वका कुरा, देवकोटा, भूपी शेरचन र डिकेन्स सम्बन्धी लेखनका कुरा, म्यागासासे, पद्यश्रीजस्ता पुरस्कारका कुरा, आध्यात्मिक क्षेत्रका रजनिश र रसेल, अभिनय क्षेत्रका ब्राट पिट, अभिताभ बच्चनजस्ताको ओजनदार वक्तृत्वकलाका कुरा, राजनीतिज्ञ ओबामाजस्ता साहसिक व्यक्तित्वका कुरा उठाएर मानवजीवनमा आवश्यक हुने तत्त्वलाई दर्शाइएको छ र प्रत्येक व्यक्तिको अध्ययनले जीवनमा प्राप्त हुने ऊर्जालाई व्यक्त गरिएको छ।
‘अक्षर म’ शीर्षकमा कहिल्यै नाश नहुने अर्थ रहेको अक्षरको सन्दर्भ ल्याएर बाल्यकालदेखिका कुराबाट विविध तर्क र समाधान खोज्ने प्रयासको चर्चा गरिएको छ। ‘आन्दोलित मन प्रजातन्त्र’ शीर्षकमा असत्यता राजनीति होइन, संसारका कुनै पनि विद्वानले राजनीति भनेको सत्य हो, जनताको बोली हो भनिएको छ। लोकतन्त्र वा प्रजातन्त्रको पुनः आन्दोलन नहोस्। यहाँ विभिन्न व्यक्तित्वको विचारलाई प्रस्तुत गर्दै यथार्थतालाई समेट्ने प्रयास भएको छ। राजनीतिक परिवर्तन भएर पनि विकृति-विसङ्गति हट्न नसकेको र चाहनाहरू जस्ताको तस्तै मात्र पनि रहन नसकेको कुरा उठाउँदै राजनीति कस्तो हुनुपर्छ भन्नेतर्फ उन्मुख उपदेशमूलक निबन्ध रहेको छ।
जस्तै : नीतिशास्त्रीहरू राज्यलाई नैतिक संस्था भन्न रूचाउँछन् भने राजनीतिशास्त्रीहरू यसलाई आदर्श संस्था भन्छन्। आदर्श यस अर्थमा भन्न खोजिएको हो कि सर्वसाधारणको सकारात्मक इच्छालाई राज्यले समेट्नुपर्दछ। सबैको भलो हुने कार्य आदर्श हो। नैतिक भनेको चाहिँ भलो मूल्य सिर्जना गर्ने स्वभाव वा प्रवृत्ति हो। कुनै संस्था नैतिक वा आदर्श बन्न त्यसका सञ्चालक आदर्श, सक्षम र उदाहरणीय बन्नुपर्दछ भन्ने मान्यता प्लेटो र कौटिल्य हुँदै आजसम्म पनि स्थापित छ। नेतृत्वको अर्को नाम उदाहरणीयता हो। (पृष्ठ ४१)
‘एप्सटाइन सङ्गीतले बोकेको जीवन’ शीर्षकमा एप्सटाइन सङ्गीतको यथार्थता र सांगीतिक कलात्मकताको सांसारिक परिवेशमा देखिएको अनुभूतिजन्य भावनालाई विषय बनाइएको छ भने ‘आत्मस्थापना खोज्ने कला सङ्गीत’मा पनि पूर्वीय संस्कृति परम्पराका कुरा उठाउँदै सरस्वतीको वीणा, नारदको एकतारे वादनको विविधताको कलात्मक सन्दर्भलाई वर्णन गरिएको छ। त्यसको सन्दर्भ भनिएको उदाहरण स्वरूप : सङ्गीत आफू भुलेर आफैंलाई पोख्ने माध्यम हो – त्यो पूर्वीय होस् वा पश्चिमी। कन्दरा, कुटुम्ब वा नेपथ्य होस् वा रोलिङ स्टोन, ब्ल्याक सब्बाथ वा बिटल्स सबै नै आत्मस्थापना वा स्वत्व खोज्ने कला हुन्। (पृष्ठ ५२)
‘बिचरा निजामती’ कर्मचारीतन्त्र कुनै पनि देशको स्थायी सरकार हो भन्दै कर्मचारीलाई राजनीतिक दलको खेलौना बनाउन नहुनेतर्फ ध्यान आकर्षित गर्दै त्यसको दुरावस्थाको यथार्थ चित्रण यहाँ गरिएको छ भने ‘घाउ आफैंलाई दुख्छ’ शीर्षकको निबन्ध यस सङ्ग्रहको मूल शीर्षक पनि हो। मानिसको जीवनमा आरोह-अवरोह, सुख–दुःख, बाधा–व्यवधान आइराख्ने अनुभूतिजन्य कुरा हुन् तर मानवीय चेतना साँघुरिँदै जाँदा मानसिक चिन्ताले ठाउँ लिन्छ भन्ने भावना प्रस्तुत भएको छ यसमा।
‘जीवनयात्रा’ले जीवनयात्राको निरन्तरतालाई प्रस्तुत गरिएको निबन्धमा कतिपय कुराले दुःख दिन्छन् भन्दै जीवनका यावत् सन्दर्भहरूलाई व्यक्त गरिएको छ। त्यस सन्दर्भमा भनिएको छ : पौरखी परिश्रमलाई प्रोत्साहन गरेर नै सिर्जनाको यात्रा अगि बढ्ने हो, त्यसैले फराकिलो मन, उदात्त भावना र सिर्जनाको कर्म यात्राका प्रस्थानविन्दु हुन्। परिश्रमी यात्रा न जीवनमा प्रतिष्ठा माग्छ न मृत्युपछिको प्रशंसा। सुख होइन –सिद्धि खोज्छ। फगत कर्म, समर्पण र सङ्घर्ष उसको यात्रा हुन्छ। जति नै जर्जर र सङ्घर्षपूर्ण भए पनि अन्तिम विन्दुसम्म यात्रा अविराम हुन्छ। (पृष्ठ ५२)
‘महान् मानिस’ मा मानिस महान् बन्न चाहेर हुने होइन, उसको कार्यप्रणलीबाट सिद्ध हुन्छ, जो विद्वान् छ, राम्रा पक्षलाई समेटेको हुन्छ। विवेकशील, क्षमाशील व्यक्तित्व नै महान् हुन् भन्ने निष्कर्ष निकालिएको छ। ‘मृत्यु अझै मरेन’ निबन्धमा मृत्युको सम्बन्धमा चर्चा-परिचर्चा गर्दै मृत्यु टारेर टर्ने होइन। यसको कुनै समय निर्धारित हुँदैन। चेतना शून्य हुनु, आत्माबाट अलग्गिनु, आनन्दमा पुग्नु मृत्यु हो भन्दै आध्यात्मिक धरातल र काल्पनिकताको व्याख्यात्मक सङ्केत पनि रहेको छ। जस्तै : जीवन आत्माको निरन्तरता हो – अमर आत्मा नश्वर शरीरमा प्रवेश गर्दै प्राणतत्त्व भरिदिन्छ भन्ने गरिन्छ। प्रमाण र तथ्यको सहाराबिना कुनै कुरा पत्याउन वा नपत्याउन सकिन्छ। आत्मा अमर छ भने सम्झना, ज्ञान, मूल्य र अपूरा क्रिया बोकेर आउनुपर्थ्यो, यी कुरा विस्मृतिमा पर्नुहुन्नथ्यो ...। (पृष्ठ ७६)
‘नयाँ वर्षको शुभकामना’मा शुभकामना आदान–प्रदानको भावनाबाट उत्पन्न सन्दर्भहरू यसमा आएका छन् भने ‘नेपाली पहिचान बोक्ने नेपालीहरू’ निबन्धमा विदेशमा गएर आफ्नो व्यक्तित्व जमाएका वा नेपाली पहिचान बनाएका व्यक्तिविशेष (जस्तै : डा. स्वर्णिम वाग्ले, शेष घले, कुमुद धिताल, ज्ञानु लामिछाने, पराग पाठक, सुदीप खड्का, सम्राट् आदि अनेक व्यक्तित्व)को विषयमा चर्चा-परिचर्चा गरिएको छ।
‘शताब्दीका खुसीहरू र भाग्यमानी पुस्ता’मा र ‘प्रविधि, पुस्ता र परिवर्तन’मा एक्काइसौं शताब्दीमा मानवजातिले गर्ने-गर्नुपर्ने, पच्चीसौं शताब्दीसम्म पुग्दाको स्थितिलाई उजागर गरिएको छ। चन्द्रमामा पाइला, जैविक प्रविधि, क्लोनिङ, टेस्टट्युब बच्चा, आइफोन, आर्थिक क्षेत्रमा भएको विकास, विज्ञानको चमत्कारका रूपमा लिँदै व्यापक चर्चा रहेको छ भने ‘पदको मान्छे’ शीर्षकको निबन्धमा विभिन्न पदमा रहेका मानिसहरूको आचरण सम्बन्धी चर्चा गर्दै आफूलाई महान् र अरूलाई सानो देख्ने, आफूलाई सर्वज्ञाता सम्झिने र अरूलाई अज्ञानीको रूपमा लिने, आफूप्रति विशेष व्यवहार चाहने र अरूप्रति तुच्छ व्यवहार गर्नेलाई झटारो हानेको छ निबन्धले।
त्यस्तो व्यवहार हुनु राम्रो होइन, आफ्नो धरातल मानिसले छाड्नु हुँदैन, पद क्षणिक हुन्छ भन्ने यथार्थ धारणालाई स्पष्टतया व्यक्त गरिएको छ। यस्तै ‘पीडा तर प्राप्तिको’मा प्राप्ति र पीडा आत्मवृतात्मकको रूपमा व्याख्या गर्दै आवश्यकता अनुसार आविष्कार गर्दै गएको यथार्थलाई ऐतिहासिक सन्दर्भसहित निरन्तर समृद्धितर्फ उन्मुख भएको शाश्वत् सङ्केत गरिएको छ। जस्तै : मानव इतिहास निरन्तर समृद्धिको यात्रा हो। मानवसत्ता यहाँसम्म घटना वा आकस्मिकताले आइपुगेको होइन, यो निरन्तरताको विकास र सामाजिक प्रजननको परिणाम हो। (पृष्ठ १०६)
‘पुस्तक’ शीर्षकमा पुस्तकलाई जीवन्त रूप, ज्ञानको आधार, मार्ग प्रदर्शक, मस्तिष्कको खुराक आदिको रूपमा व्याख्या वा महिमागान गर्दै पुस्तकलाई गुरूको रूपमा स्वीकार गरिएको छ। पुस्तकको आवश्यकताबारे भनिएको छ : नजाने कति ज्ञान र नीति सिद्धान्तहरू लिपिवद्ध हुन नपाई पितापुर्खाले ज्ञानको तिर्खा मेट्न पाएनन्। त्यसको क्षति पूरा हुने गरी पुस्तक लेख्नु छ, पढ्नु छ जसका लागि प्रविधि छ। त्यसैले, नभुलौं लेख्नेहरू लेखिरहौं, पढ्नेहरू पढ्न नथाकौं। पुस्तक छ र समाज छ, पुस्तक छ र त सभ्यता छ। पुस्तकलाई सम्मान गरौं, यो जीवन हो, जीवनको ज्योति हो। (पृष्ठ ११२)
‘राजनीति’ शीर्षकको निबन्धमा राजनीति वादमा टाँसिएको, विवादमा मुछिएको छ। सबैलाई समेट्ने विधा राजनीति भएर पनि समेट्न नसकेको यथार्थ स्थितिलाई विभिन्न दृष्टिकोणबाट हेर्ने प्रयास भएको छ। यहाँ पूर्वीय दर्शन शास्त्रदेखि वर्तमानसम्मका विश्वभरिका राजनीति गर्ने व्यक्तित्वहरूलाई उदाहरण स्वरूप लिएर राजनीतिको तत्त्वज्ञान गराउने प्रयास गरिएको छ भने ‘साथी’ निबन्धमा सर्वप्रिय साथी राम थापाको प्रसङ्गबाट उठान गर्दै साथी बनाउने होइन स्वतः बन्ने हो। मित्रता मनबाट हुने हो, यसमा कुनै छेकबार हुँदैन, यो आत्मिक हुन्छ भन्दै अनेक प्रसङ्हरू जोडेर साथीहरूलाई सम्झिएको छ। मित्रताको निष्कर्ष यसरी निकालिएको छ : स्वार्थपरस्तताबाट प्रकृतितिर जाने भावना नै मित्रता हो। सहयोग र समर्पणमा सक्रिय रहने भावनाले नै समाजले साथी पाउँछ, साथीले संसार बनाउँछ, मानवता बचाउँछ र भविष्यको सभ्यता निर्माण गर्छ। (पृष्ठ १२९)
यस्तै ‘संवेदना सकिएका हामी’मा मानिसमा संवेदना सकिएको वर्तमान समयको अवस्थालाई देखाइएको छ भने ‘सत्ता थरीथरीका’ संसारमा वा हाम्रो समाजमा सत्ताधारीले गर्ने गरेको राजनीति, समाजिक क्रियाकलाप, बुद्धिजीवि आदिमा रहेको अवस्थालाई वा सत्ताधारीको गतिविधि र विविधताको चर्चा गरिएको छ भने ‘सामाजिक सञ्जाल आमसञ्चार’मा सन् १५६६ देखिको इतिहास पल्टाउँदै अहिलेसम्म आमसञ्चारको युगमा भए गरेका अवस्था र सामाजिक सञ्जालमा भएका चारित्रिक सन्दर्भको व्याख्या गर्दै संयमित र सुसंस्कृत हुनुपर्नेतिर सङ्केत गरिएको छ।
यस्तै ‘पश्चात्ताप’मा समयको ख्याल नगर्दा मानिसलाई हुने पश्चात्तापको विषयमा चर्चा गरिएको छ। समाजमा मानिसले अवसर खोज्छ तर ठम्याउन सक्दैन, हतारिन्छ। यहाँ कवि, कलाकार वा अन्यको उदाहरण दिँदै भनिएको छ - कार्य गर्न पनि यथायोग्य ठाउँ ठम्याउनुपर्छ। चाहे राजनीति गर्ने होस्, चाहे व्यवसायी होस्, नबुझिकन गरिने कामले पश्चात्ताप निम्त्याउँछ भनिएको छ। जस्तै : जीवन गर्नका लागि हो। कर्म अवसर हो। यो संसार कर्मको सिर्जना हो। कर्म सानो ठूलो हुँदैन, सामर्थ्य र समर्पणले सबै कर्मलाई ठूलो मान्छ। कर्मलाई प्रधानता दिनेहरू नै खुसी हुन्छन्, कहिल्यै पश्चात्तापको भुङ्ग्रोमा परेर मरिच चाउरिँदैनन्। (पृष्ठ १४८)
यस्तै ‘विपन्नता र वञ्चिति’ शीर्षकको निबन्धमा पनि मानिसले आफ्नो कर्मलाई ठम्याउन सकेन भने अवसरबाट बञ्चित हुन्छ भन्ने तर्क गरिएको छ। ‘बाइसौं शताब्दीको मान्छे’मा स्वैरकल्पनामा आधारित निबन्धले बाइसौं शताब्दीमा बढ्दा जनसङ्ख्याले गर्दा पृथ्वीले थाम्न नसक्ने स्थिति, कृत्रिमताले भरिएको समाजमा प्रकृति सन्तुलन नरहने, विज्ञानको चरमसीमाले कृत्रिमतामा बाँच्नुपर्ने जस्ता सन्दर्भहरूलाई उठाइएको छ भने ‘झ्याउँकिरीले डाकेको दसैं’मा नेपालको चलन झ्याउँकिरी आउँदा दसैं आउने सङ्केत गर्दै यसको महत्त्व भनेको आफ्नाले सम्झिने र त्यहाँ गएर आनन्द आउने, खानपिनमा परिवर्तन हुने र नवरात्रीको संस्कृति–परम्परा बेग्लै आनन्द दिने भएको सन्दर्भलाई व्यक्त गरिएको छ।
त्यस्तै ‘जन्मभूमि’मा आफ्नो जन्मभूमितिर भ्रमण गर्दाको आनन्द अन्यत्र कतै गएर प्राप्त हुँदैन। मातृत्वपना भनेको संसारमा कुनै वस्तुसँग दाँज्न पनि सकिँदैन, हृदयसँग गाँसिएको हुन्छ – जन्मभूमिको प्रेम। त्यहाँको छहरा–पहरा, नदी–नाला, वन–जङ्गल, पाखा–पर्वत सबै खुसीका स्रोत हुन्, त्यहाँ आनन्ददायी शक्ति हुन्छ भनिएको छ। ‘अपहृत आस्था र निमोठिएका सपना’मा सानामा पढ्दादेखि नै विभिन्न कल्पनामा रमाउँदै जागिरे जीवनका प्रारम्भिक अवस्थाको वर्णन गरिएको छ र बढोत्तरी हुँदै विशिष्ट तहसम्म पुग्दाको स्थितिलाई अवलोकनका साथ कर्मचारीतन्त्रमा देखिएका मीठा–नमीठा पक्षलाई उदाङ्गो पारिएको छ।
जागिरेका कुराहरूको सन्दर्भमा भनिएको छ : जागिरे जीवनलाई फगत जागिर सम्झनेहरू वृत्तिप्रति अन्याय गर्छन्, जनता र राष्ट्रप्रति अन्याय गर्छन् तर पाखापखेराहरूको जागिर, जीवनशैली र त्यहाँको दुःख-पीडाको साक्षात्कारले मलाई भने सपना देख्न, सङ्घर्ष गर्न र सेवा गर्न सिकायो। (पृष्ठ १७८)
‘युद्धको संस्मरण र शान्तिको प्रेरणा’शीर्षकको निबन्धमा जापान भ्रमणको क्रममा हिरोसिमा सहरको अवलोकन, अणुवमबाट भएको क्षति र वर्तमानको स्थितिको सम्झना, युद्धचित्रहरूको अवलोकनको वर्णन गरिएको छ भने ‘बिदाइ’ निबन्ध यस सङ्ग्रहको अन्तिम निबन्ध हो र यसले जागिरे जीवनको बिदाइ वा अन्य बिदाइको बारेमा सन्तुलित रूपमा वर्णन गरेको छ।
कुनै पनि बिदाइको क्षण भावुक हुन्छ, चाहे जीवनको क्रममा भएका कार्यगत बिदाइ वा संसार छोड्ने बिदाइ। बिदाइ पलपलको छ, लामो छ, छोटो छ, अवश्यम्भावी छ। यस सन्दर्भमा भनिएको छ : संस्थासँगको लामो सहवासमा यात्राले आफ्नै सिलसिला मिलाएको हुन्छ। संस्था र व्यक्ति एक अर्कासँगको लयवद्धताले व्यक्ति संस्थामा नै समाहित हुन्छ। त्यस अवस्थामा बिदाइ एउटा लय टुट्नु हो, सितारको तार चुडिनु हो। चुडिसकेपछि एकछिन त सितारले झङ्कार दिइरहन्छ, त्यसपछि परिवेशको विह्वलता मात्र शेष रहने हो – छोरी अन्माएको जग्गेजस्तै। (पृष्ठ १९१)
यसरी ‘घाउ आफैंलाई दुख्छ’भित्रका निबन्धहरूले मूलतः समाजको यथार्थस्थितिलाई देखाएका छन्। समाजका विविध क्षेत्र चाहे राजनीतिको क्षेत्र होस्, चाहे धार्मिक तथा सांस्कृतिक क्षेत्र होस्, चाहे शैक्षिक क्षेत्र होस् वा आफ्नो देश र जन्मभूमिप्रतिको धारणा होस्, जीवनको शाश्वत् पक्ष होस् सबैतिरको अवस्थालाई सङ्केत गरिएको छ।
आजको परिस्थितिलाई हेर्दा मानिसको स्वभावमा संवेदनशीलतामा कमी आएको छ, आफ्नो मार्ग पहिल्याउन नसकेको अनुभूति हुन्छ। यस्तो अवस्थामा निबन्धहरूले समाजका विकृति–सिसङ्गतिप्रति प्रहार गर्नु स्वाभाविक हो र निबन्धकारको पनि कर्तव्य हो। कुनै पनि कर्मबाट प्रेरणा पाउने कुरा होस् वा आफूले सिकेको कुरा अरूलाई सिकाउने कुरा होस् प्रत्येक निबन्धमा शालिनतापूर्वक व्यक्त गरिएको छ। निबन्ध लेखन शैली सुन्दर छ, परिष्कृत भाषा छ, बोधगम्य छ, स्वस्फूर्त चिन्तन छ। पाठकीय दृष्टिकोणले अध्ययन गर्दा सङ्ग्रहभित्रका प्रत्येक निबन्धले अध्येतालाई प्रशस्त खुराक प्रदान गरेका छन्, तसर्थ सुन्दर कृति बन्न पुगेको छ।
विषयान्त एवम् कवितात्मक भावना
निबन्धकार मैनालीद्वारा सिर्जित ‘घाउ आफैंलाई दुख्छ’ भित्रका निबन्धहरूमा भावनात्मक संवेदनशीलताको प्रचुरता छ, बौद्धिकताले भरिएका छन् निबन्धहरू। यस सन्दर्भमा मनमा उठेका भावनालाई कवितामा उतार्दै यो समीक्षात्मक लेखनबाट विश्राम लिन्छु।
लोकोपकारी सृजनाहरूमा
स्रष्टा रमाए कृति साधनामा
सौन्दर्यको भाव समष्टिमा छ
गोपी–प्रभा देश सुधारमा छ।१।
सम्मान–सत्कार निबन्धमा छ
भाका यहाँ सुन्दर प्रेरणा छ
छन् कथ्य सारा हित धारणामा
अस्तित्व राख्ने सृजना–प्रभामा।२।
साहित्य उद्यान छ भित्र मान
सत्प्रेरणाको महिमा छ गान
आनन्द भर्ने कृतिमा रमाएँ
सामीप्यको यो गुणगान गाएँ।३।
सहिष्णुता भर्नु छ आज भन्ने
निर्बन्धको आशय हो समेट्ने
यो देशको ज्योति जगाउने हो
संस्कारको भाव फिजाउने हो।४।
गोपी–सुधा मिल्दछ भावनामा
खुल्ने गरेका अति शिष्टतामा
निबन्धको भाव समाजमाझ
आनन्ददायी पठनीय सार।५।
आलोक छर्ने महिमा बखान
गन्तव्य भेट्ने जनको प्रमाण
भेटिन्छ गम्भीर विचार दृष्टि
द्रष्टा बनेको गरिमा छ सृष्टि।६।