कविता
मलाई अझै याद छ, हाम्रो पुरानो घरको पुरानो पिँढी
जहाँ हाम्रो गफ चियाको कप देखि जिन्दगी पाखा पखेरासम्म डुल्थे।
म पाँच अनि त्यसमा एक कम मेरो भाइ।
पुरानो घरमा मेरा पुराना आमा बाबालाई उही पुरानो मेरो प्रश्न अनि उनका उही पुरानो उत्तर।
जे आमाको छ त्यो मेरो पनि छ तर आमाको जस्तै किन छैन मेरो??
जे बाबाको छ, त्यो भाइको पनि छ तर बाबाको जस्तै किन छैन उसको??
छोरी तिमी अहिले सानै छौ,, पछि आफैं बुझ्नेछौ।
लाज हुन्छ बाबा र भाइको अगाडि यस्तो कुरा नगर भन्ने गर्थिन् मेरी आमा।
१३ ले १२ लाई बिदाई गर्दै थियो
रङ जस्तो मेरो शरीरमा योवनको रङ्ग भरिँदै थियो
बन्दै गरेका मेरा स्तन, योनी अनि पुठ्ठाले कोपिलाबाट फक्रने गति लिँदै थिए
हातहरू पखेंटा बनेर उड्न थाल्दै थिए
स्मरण छ अझै मलाई होलीको त्यो दिन, मेरो जीवनको रङ्ग पखालिँदै दिन लागेको त्यो कालो दिन,,
अंकलले छोरी उता तिर चक्लेट छ, उतै गएर होली खेलम् एकछिन भनेर
छिन मै मेरा नाबालिग योवन टुक्रा टुक्रा भएर छरिएको दिन।
हो त्यो दिन मैले नाइँ नाइँ ऐंया ऐंया छोडिदिनु अंकल भनिरहे।
आमा बाबा अनि भाइलाई सम्झिरहें,पुकारी रहें,चिच्याई रहें।
मेरो नाइँ नाइँ त उसको लागि हस् हुँदै उसकै हवसमा पुरिए!
मेरो छोडिदिनु त अझै उसका लागि बेस्सरी पक्डिदिनु, लुछिदिनु हुँदै उसकै यौनक्रिडामा बाँधिए!
याद छ अझै त्यो बेला पनि अंकलले फेरि त्यही पुरानो शब्द सापटी लिनु भयो
मेरी आमा जस्तै
छोरी यो लाजको कुरानभन्नू कसैलाई भन्नु भयो!
भनौं त भनौं नभनौं त कसलाई,,
मेरो भर्खरै रगताम्मै भएको गुलाबी योनीलाई!
कि त भर्खरै टुसा लागेर चुडिएका स्तनका मुनालाई!
कि भर्खरै उड्न थालेका मेरा भाँचिएका वैशका पखेंटालाई!
कि त कालो कोठरीमा मेरो चित्कार, गुहार ,रोदनमा
पेन्ट खोलेर मेरो कलिलो धर्तीमा हुलिएका त्यो कालो सप्रिएको अंकलको योनीको पाइपलाई!
एकातिर मेरो अंकलको तिर्खा मेटिँदै थियो
अर्कातिर म आफैं मेटिँदै थिएँ।
मेरा योवनका रङ्ग सबै एकै ठाउँ घुलिँदै थिए।
पहिलेको रंगीन, अहिले सेतो हुँदै थिएँ।
४३ का अंकल म १३ मा अझै कालो थप्दै थिएँ।
कालले जितेन अंकलको कालोले जित्यो मलाई
रंगीन दिनमा बेरङ्गी बनाइदियो यौन पिपाशुले मलाई
निर्लज भएर घर फर्किएँ, फर्किएनन् मेरा लाजहरू
आमा सोध्दैथिन् के भयो भन्दै
म पनि रूँदै कराउँदै, छटपटाउँदै
आमा कै शब्दमा
भन्नु हुन्न आमा यो लाजको कुरा भनिदिएँ
महिनावारी भइस् कि के हो नानी
आमा थप्दै थिइन्
वर्ष, महिनाभरी त लाज, महिनावारी सिकाएनौ
अहिले खोसिएपछि लाज र समाज दुवै बुझ्दै छु आमा
नारी हुनु प्रकृतिको अभिसाप पुरूष सुन्दर वरदान बुझ्दै छु आमा
खोसिएका रहेछन् त अस्मिता हाम्रा हजुरआमाहरूका आफ्नै श्रीमानबाट
नातिनीका आफनै हजुरबुबाबाट
छोरीका उनकै बाबाबाट
भाउजूका देवरबाट
बुहारीका जेठाजुबाट
स्त्रीलम्पट संहारीबाट
लुटिएका रहेछन् नारी बसपार्कमा,
मन्दिरमा
ढलेका रहेछन् हजारौं निर्मला इज्जतको भिक माग्दा लास बनी उखुबारीमा
भिडभाडलाई अस्त्र बनाई छुइँदो रहेछ गोप्य अङ्ग त्यसै
बन्द कोठामा खुलेर अंङ्ग देखाइने रहेछ अनावश्यकै
आमा किन सिकाएनौ चक्लेट बनेर लाज लुट्ने भूत दिउँसै आफ्नैको मुकुटमा पनि आउने रहेछ भनेर
मैले नाइँ हुन्न भनिरहँदा ममाथि आइलाग्नेमाथि जाइलाग्न किन सिकाएनौ??
गल्ती त तिम्रै हो आमा..
किन मौन छौ??
के साँच्चै बाबा र भाइले छेकेका थिए र तिमीलाई?? उत्तर लुकाएरै किन राख्यौ??
अब भन यो समाजको लान्छनाबाट मलाई कसरी लुकाउँछौ, मलाई कसरी बचाउँछौ??
आज त बोल आमा बोल ,,
केही त बोल..
तिमीले बोल्नै पर्छ
मेरा शरीरका सबै कोठाहरू एक एक गरी खुलिसके
भन अब कुन कोठामा बन्द गरेर राख्छ्यौ आमा मलाई??
समाजको आँखा नपर्ने ?
कि बाबा र भाइ नछिर्ने??
कि त अंकल नपस्ने??
कि भन्छौ अझै यो लाजको कुरानभन्नू कसैलाई!!!
यो लाजको कुरानभन्नू कसैलाई!!