महेशलाई छाडेर गएकी शिला झल्यास्स देखा परिन्। ऊ अचम्मित, आश्चर्य चकित भयो।
'अरे ! यो के भएको? तिमी त मलाई छाडेर गएको हैन र? यत्रा वर्षपछि फेरि ? अहो ! म सपनीमा छु कि क्या हो? के अचम्म हो यो?' म त यही ढल्छु किजस्तो भयो। चक्कर नै लाएर आयो।
'तिमी शिला नै त हौ? कि कसैले मलाई छल गर्दैछ। आशा मारेकी तिमी पुनः मेरो दैलोमा। योभन्दा अचम्म अरू के हुन सक्छ?'
शिलाले केही भन्न खोज्दै थिइन्।
महेशले ओहोरोदोहोरो कुरा गर्ने मौका नै दिएन। उसका दर्जन बढी आश्चर्य, उदेक, हर्षको प्रत्युत्तर दिने मौका मिलेन। केहीबेर गन्थनपछि ऊ रोकियो। बल्ल शिलाले केही कुरा बोल्ने अवसर पाइन्।
'हो महेश म आएँ। म उही शिला हुँ। प्रेमविवाहपश्चात् तिमीलाई छाडेर अर्कैसँग गएकी हुँ। हिँड्ने बेलामा तिमीसँग बोल्न आँट आएन। शब्दमा व्यक्त गर्न सकिनँ। त्यसैले पत्र कोरेकी थिएँ। मेरा वेदना लेखेकी थिएँ। परिस्थिति प्रष्ट पारेकी थिएँ। तिमीले पढे हौला। मनन गरे हौला। हैन र?'
'पढेँ र त्यसपछि तिमीसँगको सामिप्यतालाई एउटा तीतो अतित सम्झेर बाँकी जीवन एक्लै काट्दै छु।'
'तिमीले जानु पहिले दिएको अन्तिम चोटको निशाना थियो त्यो पत्र। नचाहेर पनि त्यसलाई सँगै राखेको छु। जीवनभर साथमा राख्नेछु। पत्रसँग तिक्तता छैन। तिम्रो सम्झना आउँदा यसो वाचन गर्छु। मन कटक्क खान्छ। पूरा पढ्न सक्दिनँ। अनि त्यसलाई पट्याएर राख्छु। चुप लागेर बस्छु।'
'हो महेश, म त्यतिबेला बाध्य थिएँ तिमीलाई छाड्न।'
'म बुझ्छु। तिमी अघाएरै हिँडेकी रहेछौ भन्ने पनि प्रष्ट लेखेकी छौ। हुन त त्यहाँ मायाजालका कुरा पनि छन्। मीठा शब्दहरू कोरेर मेरोबारे बयान गरेकी छौ। मलाई नचाहिँदो उचाइमा पुर्याएकी छौ। देशको एक नायकझैं प्रस्तुत गरेको रहेछौ। जति बयान गरे पनि तिमी स्वयम् मसँग रहेनौ। अनि केको खुसामद? केको शब्दैपिच्छे प्रशंसा? किन चाप्लुसी? त्यस्तो माया भए त किन छाडेर जान्थ्यौ र?
‘अंग्रेजी साहित्यका रोमान्टिसिज्म कविहरू’ झैं नरोकिई ‘स्पोन्टेनियस ओभरफ्लोमा’ बग्न थाल्यो महेश। विलियम वर्डस्वर्थ बरू रोकिन्थे होला। जोन किट्स बरू थाक्थे होला। शेक्सपियरहरू विश्राम लिन्थे होला। महेश रोकिने छाँटकाँट नै छैन।
'केही बोल्न त मौका त पाऊँ महेश मैले।'
अह ! महेशले पुनः भाषण चुट्न थाल्यो।
'अहिले धेरै मुखसार नबन शिला। बोलेर अब केही अर्थ छैन। जे हुनु भइसक्यो। तिमी अर्काको भइसकेको छौ। अब गुनासो गरेको अर्थ छैन। तै पनि धोका दिनेलाई भेटेपछि मनको बह यसो कहेको मात्र। वेदनाको पोको ठूलो छ। अहिले तिमीलाई खोलेर देखाउन सक्दिनँ। तर पनि ..... '
ऊ टक्क रोकियो। मलिन मुद्रा ....निस्तेज आखाँ...ओइलाएको शरीर।
'तिमी त एकोहोरो बहकिन पो थाल्यौ त। तिमीलाई नसम्झेको भए म फेरि किन आउथें? तिमीलाई तिरस्कार गरेको भए किन फेरि तिम्रो समिपमा झुल्कन्थें? तिमी बुझन। अबुझ, केटाकेटी त होइनौ। किन एकोहोरो मलाई हकार्ने मात्र गर्छौ? म स्वीकार्छु कि तिमीलाई त्याग्नु मेरो गल्ती थियो। तिमी व्यक्तिमात्र थिएनौ। एउटा साझा पात्रः जिउँदो सहिद थियौ। मलाई धिक्कार छ कि एउटा अपांग श्रीमानलाई पूरा समय सहारा दिन सकिनँ। दुखेको घाउमा मल्हम लगाउन सकिनँ। सुख दिन त त्यस्तै हो। साथ पनि दिन सकिनँ। तिम्रो आँसु पुछ्न सकिनँ।'
'शिला, तिमीले कहानी हाल्नै परेन। तिम्रो सहयोग अथाह थियो। माया अगाध थियो उतिबेला। अब मन फर्काउन सकिएला। चोट निको हुँदै जाला। तथापि जति तेल घसे पनि वास्तविकता लुकाउन नसकिने रहेछ। जनआन्दोलनमा म घाइते भएपछि तिमी मात्र एउटा सहारा थियौ मेरो। मलाई बचाउन तिमी आफू मरणासन्न हुनेबेलासम्म खटेकै हौ। दुनियासँग भिख मागेर भए पनि मलाई ख्वाएकै हौ। तथापि ....'
'अनि त्यो मेरो गल्ती थियो त? तिमीलाई जतिबला धेरै सहारा आवश्यक थियो, मैले दिएकै थिएँ। त्यसैले मेरो तर्फबाट पनि एक पटक सोचेर हेरन महेश।'
'हो शिला, त्यसबेला तिमी मेरो एकमात्र सहारा थियौ। गाउँका बाआमालाई म घाइते भएको पनि धेरै पछिमात्र खबर भएको थियो। उनीहरूलाई बेलैमा भनेको भए पनि चिन्ता लिनेबाहेक अन्य केही सहायता गर्ने हैसियत, पहुँच थिएन। एउटा खुसीको कुरो यत्ति हो कि म अझै जिउँदै छु। उतिबेला देखिका धेरै सरकारसँग हारगुहार पनि गरेकै हौ। कसैबाट केही सहयोग भएन। ती सब अतित भइसके। आज तिमी मेरी छेनौ। म तिम्रौ छैन। अब त धेरैबेर मेरो कोठामा गन्थनमन्थन गर्दा पनि समाजले हामीलाई कुदृष्टिले हेर्नेछ। त्यसैले तिमी आएकोमा मुरीमुरी आभार व्यक्त गर्दै अब यहाँबाट जान अनुरोध गर्दछु।'
'त्यति हतार नगर। मलाई हाम्रो समाजको सोच राम्ररी थाहा छ महेश। तिम्रो र मेरो प्रेम विवाह, त्यसबेला गाउँका मानिसहरूको नकारात्मक व्यवहार सबै ज्ञात छ। संघर्षमय थियो। भोगेरै त आएको हो नि। म जम्मा सोह्र वर्षकी थिए तिमीसँग बिहे गर्दा। कानुनसम्मत पनि थिएन विवाह सायद। जे सिकें, जे जानें, जे भोगें तिमीसँग आएपछि नै हो। मलाई केही गुनासो थिएन। छैन। रहने छैन।
सायद जीवन मरण, स्वर्ग नर्क तिमीसँगै जाने भूत सवार भएर होला त्यो लाउरेको दौलतभन्दा तिम्रो लगभग सिनो हुन लागेको शरीर अगाल्न आएको छु।
महेश, एउटा कुरा चाहिँ तिमीलाई पक्कै ख्याल छ होला। तिम्रो सपना पूरा नहुन्जेल म तिमीसँगै थिएँ। तिम्रो परिवर्तनको सपना पूरा भएपछि म टाढिएकी थिएँ। त्यसमा मभन्दा शासकहरू बढी दोषी छन्। जिउँदो सहिद मात्रै भनेर के गर्ने? कसैबाट केही सहयोग थिएन। राजनीतिक आन्दोलनले गर्दा तिमी अपांग भयौ। तिमीले काम पाए पनि गर्न सम्भव थिएन। तिम्रो पढाइ पनि आन्दोलन, राजनीतिकै कारण ध्वस्त भयो।
गाउँबाट प्रथम श्रेणीमा एसएलसी पास गरेर क्याम्पस आएपछि, राजनीति सुरू भयो। आइएसम्म त जसोतसो सकियो। स्नातक भर्नामा मात्रै सीमित भयो। अर्को सवाल जतिबेला दुईछाक पनि खान जुटाउन सक्ने वातवरण थिएन हामीसँग। त्यतिबेला बरू म बाहिरिँदा केही सहज होला कि भनेर म हिँडेकी हुँ। सबै कुरा मेरो अन्तिम पत्रमा उल्लेख नै छ।'
'मैले बुझें। तथापि विगतलाई अब कसरी फर्काउने? बगेको नदीको उल्टो प्रवाह सम्भव छैन।'
'हैन महेश। त्यसो नभन। तत्कालीन समयमा मैले भोगेका हण्डर सम्झ। मेरो सहयोगलाई तिमीले नजर अन्दाज नगर। तिमी आन्दोलनमा होमिन जाँदा घरायसी वातावरण मैले मिलाएकी थिएँ। बाले दिएको पकेट खर्च पनि भनिनँ। म भोकै बसेर भए पनि तिमीलाई खुवाएर आन्दोलनको मोर्चा सम्हाल्न पठाउथें। तिम्रो पेसा नै विद्यार्थी राजनीति थियो। भाडाको कोठा। कति दुःख थिए। यसो याद गर त। मट्टीतेल सकिएकोसम्म तिमीलाई थाहा हुने थिएन। चामल, दाल, तेल सलाई मागेर मैले किचेन चलाएको थिएँ। तिमीलाई नमिठो नलागोस्। वास्तवमा तिमीसँगै म नभएको भए तिमीलाई परिवर्तनको आन्दोलनमा साथ दिन गाह्रो हुन्थ्यो। मेरो पनि साथले तिमी ‘जिउँदो सहिद’ बन्न सक्यौ।'
महेश फेरि झस्कियो ‘जिउँदो सहिद’!
'फेरि तिमीले मलाई यो तीतो अतितको स्मरण गरायौ शिला। मैले त ‘जिउँदो सहिद’ भन्ने नै बिर्सिसकेको रहेछु। म ‘जिउँदो सहिद’ भएकोमा गौरवान्वित थिएँ। हर्षविभोर थिएँ। तर त्यो हर्ष टिक्न सकेन। म र जीवन उत्सर्ग गरेका सहिदहरूका सपनाहरू पूरा भएनन्। देशमा अपेक्षित परिवर्तन आउन सकेन।
संविधानले नेपालको शासकीय प्रणालीमा आधारभूत परिवर्तनको परिकल्पना गर्यो। संघ, प्रदेश र स्थानीय तहसहित तीन तहको सरकारको व्यवस्था भयो। जनताको स्तरमा सुधार होला कि भनेर जनता कुर्दै बसे। यत्तिका वर्ष बिते। तर उन्नाइसको बीस भएको छैन। भएको छ त तिनै दलका टाउकेहरू अट्ने गरी संसदको संरचनाहरू विस्तार। दलका सबै नेताहरू अट्ने गरी प्रदेश सरकारको मन्त्रिमण्डलमा थप मन्त्रालयको व्यवस्था। उफ्!'
'महेश, मलाई थाहा छ। तिमी जिउँदो सहिदका रूपमा साक्षी छौ। देशमा अपेक्षित केही सुधार भएन। तथापि तिमीहरूको संघर्षले ठूलो राजनीतिक परिवर्तन ल्याएको हो। नेपालको शासकीय प्रणालीमा आधारभूत परिवर्तन भएकै हो। महत्वपूर्ण राजनीतिक प्रशासनिक रूपान्तरण भएको हो। अपसोच नेतृत्व सही नहुँदा जनताका आकांक्षाहरू सम्बोधन भएनन्। लोकतन्त्रमा सार्वभौम जनता निरिह, नेता सर्वैसर्वा हुनपुगे।
अहिले लोकतन्त्रका कुरा खरानी भइसके। हो, हाम्रो लोकतन्त्र जसको लाठ उसको भैस भएको छ। शक्तिमा रहेकाले उनीहरूको स्वार्थ पूर्तिमा यसलाई प्रयोग गर्ने गरेका छन्।
विधि, न्याय भनेको जसको शक्ति उसको भक्ति भएको छ। दलका घोषणापत्र अर्को निर्वाचनका खुराक भएका छन्। सिद्धान्त भनेको जनतालाई भुलाउने साधन भएको छ। सहिद भनेका माघ सोह्रका पाहुना भएका छन्। कार्यकर्ता भेडा सरह भएका छन्। हनुमान भएका छन्। गरिब नेपाली जनता भनेका भोट बैंक भएका छन्।
धनी नेपाली नेताका व्यावसायिक साझेदार भएका छन्। राजनीतिको केन्द्रमा स्वार्थ समूह पुगे। संविधान, ऐन, कानुन केबल काला अक्षर सावित भएका छन्। कर्मचारी भनेका कठपुतली बनेका छन्। चाप्लुसीतन्त्रमा व्याप्त छ। कर्मचारीतन्त्रलाई छायामा पारिएको छ। राजनीतिक संयन्त्रलाई सक्रिय बनाएर काम गर्ने चलन बसेको छ।'
'हो शिला, अब देशका कुरा गरेरमात्रै जनताले सुख पाउने हैनन्। लामै गन्थन मन्थन भयो। अब तिमी जान सक्छौ।'
'तिमीले मनबाट नै भनेको हो महेश। म साँच्चै जाऊँ त?'
महेश गम्भीर हुँदै भन्यो, 'तिमी मसँग आएर बस्न चाहन्छौ भने त्यो मेरो जीवनको खुसीको कुरा हुन्थ्यो। म अब केही महिनाको पाहुना हुँ। कति नै बाचौंला र! अर्को कुरा तिमी र म छुट्टिइसक्यौँ। हामी अहिले श्रीमान-श्रीमती होइनौं।'
'महेश, तिमी मलाई अब स्वीकार्दैनौ त? पक्का?'
'भावनामा डुबेरमात्रै भएन। मन त तिमी छँदा चङ्गा नै भएको छ। गोली झिकेका र छर्रा रहेका ठाउँमा भइरहने पीडा पनि मत्थर भएको छ। सुतिरहने शरीर अनायस उठेर बस्न सकेको छ। थोरैमात्र बोल्ने मुख आज दर्शन छाट्न सक्ने भएको छ। भोक मरेको शरीरमा अचानक भोक जागेको छ। तिर्खा लागेर आएको छ। यो सब शक्ति तिम्रो आगमनले भएको हो।
तर मैले स्वीकार्नु/नस्वीकार्नुको अब के सार्थकता छ र? पहिलो कुरा म अपांग। मात्र केही दिनको पाहुना। श्रीमान भएर कुनै भाव दिन सक्दिनँ। पालन पोषण त अब सम्भव नै भएन। दोस्रो समाजको कुदृष्टि। अर्कासँग गएकी आईमाई फेरि आई भन्छन्। यसमा म के गरौं। तिमीलाई मर्ने बेलामा किन फेरि पीडा थोपरौं भनेर शिला।'
'महेश तिमी त क्रान्तिकारी सोच भएको मानिस। समाजमा सकारात्मक परिवर्तनका लागि सधैं संघर्ष गर्ने एक योद्धा। अहिले आएर किन रुढीवाद जस्ता कुरामा अल्झन्छौ। कानुनसम्मत कुराहरूमा डराउने किन?'
'क्रान्तिकारी सोच थियो। अब त शरीर यति गलेको छ कि त्यो आँट समेत आउँदैन।'
'म महिला हुँ। महिलाका आफ्ना अधिकारहरू छन्। म पुनः तिमीसँग बिहे गर्छु। हिजो भएको प्रेम विवाह पुनः स्थापना गर्छु। मलाई अन्य चाहना केही छैन। तिम्रो अवस्था देखेर यहाँ आएकी हुँ। बाँकी जीवन मैले काट्ने हो। समाजसँग म आफैं भिड्न सक्छु। तिमीलाई बाचुन्जेल अब खुसीसाथ राख्न चाहन्छु।
अर्को गम्भीर प्रश्न पनि छ यो समाजलाई। के एकपटक बिहे भएर गएकी महिला पुनः कानुनसम्मत उही श्रीमानसँग बस्न पाउँदिन र? समाजमा यस्ता कैयन होलान्। उनीहरूका लागि हामी उदाहरण बनौं। नडराइकन फेरि एकपटक महेश-शिला एक भएर बाँचौं। हाम्रो पुनर्मिलनले समाजमा एउटा सकारात्मक सन्देश पनि प्रवाह होस्।
हिजो संघर्षका दिनमा झैं अब अन्तिम दिनहरूमा पनि मसँगै रहन चाहन्छु। म अरूसँग जाँदैमा अपवित्र हुँदिनँ। समाजलाई अपवित्र भए मतलब भएन। तिमी र मेरो मनमा अगाध प्रेम छ। स्नेह छ। त्यसैले त दुःखमा पुनः एकै ठाउँमा रहने प्रण गरेको छु।'
महेशका आँखाबाट बलिन्द्र धारा आँसु चुहे। राजनीतिक संघर्षको बखत उनी एक पक्ष थिइन्। आधार थिइन्। रथको एउटा पाङग्रा नै थिइन्। उनको सहयोग, सद्भाव, माया, उत्प्रेरणा र सहयोगले आज ऊ जिउँदो सहिद बन्यो। त्यसपछि जीवनमा उतारचढाव आए।
पुनः जीवनको अन्तिम चरणमा उसलाई सघाउन उनी त्यहाँ आइन्। लास सरहको महेशको शरीरसँग गाँसिन तयार भइन्। वास्तविक माया प्रमाणित गरिन्। प्रेम विवाहलाई पुनर्स्थापना गरिन्। उसको झुपडी नै उनको दरबार सरह भयो।
महेश झल्यास्स ब्युँझियो।
'ए! यो त सपनी पो रहेछ।'