ठेला घिर्सादै
धोती उचाल्दै
काँधमा च्यादर भिर्दै
बा, वैश्य युगका अप्ठ्यारा गोरेटाहरू हेर्दै गए।
ठेलाका टायर जसरी
घुमेका ती मेरा बाका वसन्तहरू
अहिले शिशिरको सिरेठोमा
मनको आगो निभाउन प्रयत्न गरिरहे।
'पापा, खाना खानेकी लिए आइए' भन्दै
छोरी प्रिया
आँखा सन्काउँदै
सल्कालो जीउलाई कामदेवको वाणतर्फ पाइला लम्काइन्।
फुरुङ उडेको कपाल मुर्सादै
खानाका गाँसहरू मुखतिर ओर्सादै
लागेका बाडुल्कीहरूसँगै
हकानिँदै, औँला भाच्दै प्रियका वसन्तहरू गन्दै गए।
दाइजो बारे अखबारमा आएका समाचारहरू पढ्दै
जिमलाई पोटलीमा बाँध्दै
आमालाई बाडुल्की लाग्दा
बा झसंग पर्दै, प्रियाको दाइजो बारे सोच्दै बर्बराउन थाले।
ट्राफिकले झैँ समयले सिठी बजायो
बा'को ठेला त रोकियो
तर
उनको जीवनको रमिता भने रोकिएन।
काजी आका थे
भन्दै आमा बोल्दै गइन्
कुराहरू खोल्दै गइन्
प्रिया भने झ्यालबाट चियाउँदै सुन्दै गई अनि मन डुल्दै गयो।
बा'का थालका
चिउरा
गुँदको अभावमा बताससँगै उड्दै गए
अनि म बबुरो लेखकको मनमा पस्दै गएँ।
तर जब म बाको मनमा पसेँ
तब बाका मनका दाइजोका ज्वालाहरूबीच फसेँ
म जलेर ध्वस्त भएँ
तर पनि प्रियाको दाइजोको तापले बा कहिल्यै जलेनन्।
अचम्म माने सबैले
तर बाले कहिल्यै मानेनन्
बाले प्रतिकारको भाषा कहिल्यै बोल्न जानेनन्
किनकि उनी मरिसकेका थिए।
प्रियाको बिहेको दाइजो टिभीमा बाको मृत समाचार त आयो
तर पनि त्यो अज्ञानी पुरूष भने दाइजो मागिरह्यो
'थुक्क! लाज छैन तँलाई' भन्दै मानव अधिकारकर्मी कराए
तर यतिकैमा सरकार 'न्याय को दाइजो' खोज्दा खोज्दै हरायो।