आफू जन्मी, हुर्की, ताते-बामे सरेको घरलाई
म मेरो घर भन्न सक्दिनँ अरे!
माइतीघरका ती पाखा पखेरीहरूमा
म जीवनभर रम्न सक्दिनँ अरे!
आमाको काख र बाबाको काँध
कहिले छुट्ने हो के थाहा
दाजुभाइ, दिदीबहिनीको हात पनि
सधैँ-सधैँ म थाम्न सक्दिनँ अरे!
आखिर किन? आखिर किन?
आखिर किन जन्म लिएको घरमा
म मर्नसम्म सक्दिनँ अरे!
आखिर किन जन्म लिएको घरमा
म मर्नसम्म सक्दिन अरे!
नौ-नौ महिना गर्वमा राखेको सन्तानमा
म आफ्नो नाम-थर सार्न सक्दिनँ अरे!
दश धारा दूध चुसाएका सन्ततीमा
म आफ्नो इच्छा र रहर भर्न सक्दिनँ अरे!
मेरो अस्तित्व र परिचय, कसरी मेटिँदैछ के थाहा!
आफ्नो सपना हक र समानताका कुरा पनि
कसैसँग कहिल्यै पनि म गर्न सक्दिनँ अरे!
आखिर किन?
आखिर किन मेरो नै रगतलाई
म नागरिकता दिन सक्दिनँ अरे!
आखिर किन मेरो नै रगतलाई
म नागरिकता दिन सक्दिनँ अरे!
पढी लेखी जति नै सक्षम बने पनि
आफ्नै समाजमा पनि म एक्लै बाच्न सक्दिनँ अरे!
जन्मेदेखी मृत्युसम्म, घरदेखि अफिससम्म
मन खोलेर कसैसँग म बोल्न, हाँस्न सक्दिनँ अरे!
छोरी भएर जन्मनु कस्तो अभिशाप हो के थाहा!
आफ्नो शरीरको सुरक्षा पनि म आफै गर्न सक्दिनँ अरे!
आखिर किन?
आखिर किन रातको १२ बजेपछि
म घर बाहिर निस्किन सक्दिनँ अरे!
आखिर किन? रातको १२ बजेपछि
म घर बाहिर निस्किन सक्दिनँ अरे!
समाजका नीति-नियम, मान-मर्यादाका ती बाधहरू
म कुनै दिन टेक्न र नाघ्न सक्दिनँ अरे!
परिवार आफन्त सत्य र नैतिकताका ती पाठहरू
म कुनै पल भुल्न र च्यात्न सक्दिनँ अरे!
शोषण, दमन, हत्या, हिंसा कति सहनु हो के थाहा
अन्याय र अत्यचार विरुद्ध बलियो
आवाज उठाउन म सक्दिनँ अरे!
आखिर किन? आखिर किन?
आखिर किन मेरो अस्मिता लुट्ने ती पापीहरूलाई
म फाँसी चढाउन सक्दिनँ अरे!
आखिर किन मेरो अस्मिता लुट्ने ती पापिहरूलाई
म फाँसी चढाउन सक्दिन अरे!
समाज मेरो, देश मेरो, सरकार मेरो, कानुन मेरो
तर मेरो न्याय हक र सुरक्षाको ग्यारेन्टी कसैले दिन नसक्ने अरे!
म नै आमा, म नै श्रीमती, म नै छोरी, म नै चेलीबेटी
तर मेरो आँसु, रोदन र पीडाको आवाज कसैले सुन्न नसक्ने अरे!
भयो अब! धेरै भयो!
सदियौँदेखिको मेरो संघर्ष र अस्तित्वको लडाइँ
म एक्लै लडेर देखाउँछु, म एक्लै जितेर देखाउँछु
नारी हो म नारी, कसले भन्छ म कमजोर छु?
मेरो स्वतन्त्रता समानता र स्वाभिमानको रक्षार्थ
म एक्लै लडेर देखाउँछु, म एक्लै जितेर देखाउँछु
म एक्लै लडेर देखाउँछु, म एक्लै जितेर देखाउँछु।