आजभोलि मस्त बजार तातेको छ
पक्ष विपक्षमा भेडाहरू कुर्लेका छन्
नाराबाजी, तथानाम गाली र गलौज
सराप्दै धिकार्दै खिसिट्याउ गर्दैछन्
यो यस्तो, त्यो त्यस्तो भन्नेहरू हो
एकछिन ठन्डा दिमाखले सोच त
दोष पीडित वा पीडकको मात्र हो?
नाबालिका अन्तरंग अभिनय गर्छिन्
वयस्क भूमिकामा लठठ् जवानका साथमा
जवानीका भाका र शब्दहरू गुन्गुनाउँदै
हामी फुरुंग परी प्रशंसा गर्छौँ
उत्तेजक युगल अभिनय र स्पर्शले
बालमस्तिष्कमा कौतुहलता जाग्दो हो
के हामी, हाम्रो समाज दोषी नहुने?
संवेदनशील अपराधका मुद्धा गिजोल्ने
छोरीलाई अंश, शिक्षा र समानता नदिने
पाउनेहरू पनि आधुनिक हुँ भन्दै रमाउने
चुरोट, वाइन, डिस्को मनलाग्दी गर्दै हिँड्ने
महिला सशक्तिकरणका नारा लगाउनेहरू
मरेपछि लासको व्यापार गर्छौ
के तिमी दोषी कहिल्यै नहुने?
समाजका मूल्य, मान्यता र बन्धनबाट,
पितृसत्ताको आडम्बर र अहंकारबाट
सदियौँदेखि जकडिएका महिलाहरू हो
लामो संघर्ष र त्यागबाट पाएको मुक्तिमा
तिम्रो भूमिका र स्वतन्त्रता यति हो?
तिमी संयम, सचेत र जवाफदेही नहुने
सधैँ दोष जति अरुलाई थोपर्ने?
मैले हिजो नै भनेको हो छोरी पढाऔँ
कुनाकन्दरामा चेतना बुलन्द गरौँ
शोषण,पिडन र अत्याचार विरुद्ध
नानीहरूलाई जागरुक र लड्न सक्ने बनाऔँ
बलात्कारीलाई फाँसीको सजाय माग गरौँ
नारी अङ्ग पोल्ने तेलका खानीहरू जलाऔँ
त्यो बेला कानमा तेल हालेर बस्नेहरू
के अनि आज तिमीहरू दोषी नहुने?
सधैँ एकले अर्कालाई दोष दिने
व्यक्ति अनि समाजले उन्मुक्ति पाउने
अभिभावक किकर्तव्यविमूढ हुने
सन्तानहरू स्वतन्त्रताका नाममा बरालिने
कसैको अस्मिता लुटियो, कति आफैँ लुटिए
कसैको घाँटी थिचियो, कति रोदन मिचियो
अनि फेरि दोष अरुको मात्र हुने
तपाईंको चाहिँ हुँदै नहुने?