स्थान: काठमाडौँबाट १५ किलोमिटर उत्तर पूर्वमा पर्ने एक प्रसिद्ध पिकनिक स्थल।
समय: बिहानको साढे १० बजे।
सन्दर्भ: अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा आयोजित पिकनिक कार्यक्रम।
कार्यक्रम स्थलमा राखिएको फ्लेक्समा लेखिएको थियो- 'सामाजिक न्याय र लैंगिक समानताः दिगो विकासको सुनिश्चितता।'
यस वर्षको नारी दिवसको निम्ति जुरेको नारा रहेछ यो।
गीता रेग्मी पेसाले स्वास्थ्यकर्मी, एकै वर्षको फरकका दुई सन्तानकी आमा। ३ र ४.५ वर्षका जुम्ल्याहा झैँ देखिने सन्तानहरूलाई चिया, पाउरोटी र चनाको तरकारी खुवाउँदै अनि आफू पनि खाँदै थिइन्।
रूप्सी पनि आफ्नी बिरामी छोरीसँगै पिकनिक गएकी थिइन्। बैंकर रूप्सी छोरीले केही खान मन नगरेकोले पिरिँदै थिइन् र उनलाई छोरीलाई अझै गाह्रो हुने हो कि भन्ने डर थियो।
घरमा कोही नभएकाले निशाले पनि ठूलो छोरालाई घरैमा सहयोगीको भरमा छोडी छोरीलाई भने आफूसँगै पिकनिक लिएर गएकी थिइन्। पिकनिक स्थलको वरिपरि डाँडाकाडा र भिरालो जमिन भएकाले अनि छोरी सानै भएकोले ऊ पनि छोरीकै पछि-पछि कुदिरहेकी हुन्थिन्। उनका श्रीमान व्यापारको सिलसिलामा विदेश भ्रमणमा थिए।
राजनीतिमा सकृय सुनिताका श्रीमान ३/४ दिनदेखि नजिकिँदै गएको चुनावको प्रचार प्रसारको निम्ति घर बाहिर नै थिए। घरमा ताल्चा ठोकेरै ऊ आफ्नो ५ वर्षको छोरासहित नै त्यहाँ पुगेकी थिई। दिउँसै चोरको बिगबिगी धेरै भएकाले उसको शरीर पिकनिकमा भए पनि मन भने घरतिरै सोझिएको थियो।
जुनिताले बिहान ४ बजे नै उठेर हुर्किएका तीन सन्तान, सासू-ससुरा र श्रीमानका निम्ति बिहानको खाना, दिउँसोको खाजाको बन्दोबस्त गरिदिएर गएकी थिई। उसलाई बेलुकी कतिबेर घर पुगेर बिहानदेखिको जुठो भाडा, अनि बेलुकीको खाना पकाउने भनेर आँतुरी भइरहेको प्रष्ट बुझिन्थ्यो। उसलाई नितान्त घरेलु कामकाजी महिलाको रूपमा परिवार र समाजले स्वीकारेको थियो।
'सासू-ससुरा दुवै वृद्धावस्थाका रोगहरूले ग्रसित भएका हुँदा छोराछोरी नहेरिदिने भएरै मन भएरै पनि पिकनिक जान पाइनँ' भनेर छिमेकी सुमनाले रितालाई हिजो भनेकी थिई रे। अरू दिन त छोराछोरी विद्यालय गएका हुन्थे। सधैँ घरको सम्पूर्ण काम सक्काएर स्कुल पढाउने उसलाई हप्ताको ६ दिन घर हेरिदिएर बुहारीलाई बाहिर काममा पठाउने गरेको भनेर गर्व गर्दै टोलछिमेकमा भन्दै हिँड्ने उनका सासू-ससुरा, शनिबारको एकदिन त बुहारीले दिनभरि घरमा बसेर घरधन्दा र खाजा पकाएर खुवाउनु पर्छ भन्ने सोचाइ राख्ने उनीहरूलाई जित्न गाह्रै पर्थ्यो। यो जागिर खान दिएबापत बुहारीले गर्नुपर्ने भर्पाइ हुन सक्थ्यो सायद।
यसरी एउटै सन्दर्भमा अधिकांश महिलाहरूका परिस्थितिहरू समान थिए र ती नारी दिवसको उपलक्ष्यमा आयोजित त्यस पिकनिक कार्यक्रममा छताछुल्ल भइरहेका थिए।
त्यस पिकनिकमा लगभग १५० जना जति महिलाहरूको सहभागिता देखिन्थ्यो। तिनमा लगभग ६० % महिलाहरू आफ्ना छोरा वा छोरीसहित नै दखिन्थे। सबैका समस्या के थिए भनेर खोज्न सकिने स्थिति थिएन। तर लाग्दै थियो, त्यो पिकनिकमा आउनको निम्ति अधिकांश महिलालाई धेरै यत्न गर्नु परेको हुनसक्छ। अनि पिकनिकबाट घर फर्किएपछि पनि उनीहरूले थकाइ भयो भनेर भन्न पाउने छैनन्।
नारी दिवस सप्ताहव्यापी मनाउन थालिएको धेरै भएको त थिएन तर पनि पहिलेको तुलनामा आजभोलि महिला दिदी-बहिनी केही खुल्न थालेका थिए। महिला अधिकार, स्वतन्त्रता, समानता र सामाजिक एकताको निम्ति भनेर आयोजना गरिएको त्यो पिकनिक कार्यक्रममा अधिकांश महिलाहरू आमाकै भूमिकामा आफ्ना सन्तानहरूको रेखदेखमा नै व्यस्त हुनुले कार्यक्रमको सान्दर्भिकतालाई नै गिज्याइरहे झैँ देखिन्थ्यो।
महिला मुक्तिको कुरा जति गरिए पनि एकै दिनको निम्ति पनि महिला स्वतन्त्र छैनन् र हुन सक्दैनन् भन्ने कुरालाई यी माथिका केही प्रतिनिधि उदाहरणहरूले प्रष्ट पारिरहेको हो कि भन्ने भान परिरहेको थियो।
म आफैं त्यस पिकनिक कार्यक्रममा उपस्थित थिएँ। छोरो युवावस्थामा प्रवेश गरेसँगै ऊ त्यति हामी आमाबुवासँग कतै जान त्यति मन नगर्ने, छोरी सानी थिई। त्यसैले हामी सासू, बुहारी र छोरी तीनै जना सहभागी थियौँ। त्यसदिनको बिहानीको खाना श्रीमान आफैंले पकाएर खाऔँला भनेकाले मलाई खाना तयार गर्नु परेको थिएन।
एकदिन खाना पकाएर खान्छु भन्दैमा पनि समानता हुने त हैन तर पनि म आफूलाई यस अर्थमा भाग्यमानी मान्दछु। मैले समानता, महिला हक-अधिकार तथा सशक्तिकरणको मुद्दामा आफूलाई सहयोग गर्ने परिवार पाएको छु। तर यो पर्याप्त भने छैन। मैले पनि घर-परिवार अनि काम बीचको तालमेल मिलाउन धेरै नै परिश्रम गरेको छु।
अन्तर्राष्ट्रिय नारी दिवस जेका निम्ति जहिलेदेखि मनाउन थालिए पनि म अनि मजस्ता धेरै घरेलु, तथा कामकाजी महिलाहरूलाई त्यसको सान्दर्भिकता पुष्टि हुनुपर्ने हो। तर त्यो त्यति सजिलै हुनेवाला छैन।
यसै पिकनिकमा धेरै महिलाहरू घर बाहिर पनि केवल आमाहरूकै भूमिकामा थिए, आफ्ना एक वा दुई सन्तानसहित अल्झिरहेका थिए।
सडकदेखि सदनसम्म जति पनि नारीमैत्री स्वरहरू गन्जिए पनि, हाम्रा सामाजिक संरचनाले तोकिदिएको महिला-पुरूषबीच विरोधाभासपूर्ण परिधि, सीमा अनि समानतामा विद्यमान दूरीलाई चिर्न नयाँ पुस्ताले महत्वपूर्ण भूमिका खेल्न सक्नुपर्छ।
यो पिकनिकको सन्दर्भ नारी दिवसको थियो तर त्यसको सान्दर्भिकता झल्किने खाले वातावरण खासै देखिएको भने थिएन। महिला लक्षित कार्यक्रम भनिएकाले होला, पकाउने भान्सेहरू र आमाका साना-साना छोराहरू बाहेक पुरूषहरूको उपस्थिति खासै थिएन।
आयोजकले पनि एकदिनको पिकनिक आयोजना गरेर महिलाहरूलाई रमाइलो गर्ने र खुल्ने वातावरण मिलोस् भनि आयोजना गरिएको भए पनि त्यहाँको माहोल उनीहरूको सधैंको भन्दा खासै फरक लागेन।
नारी दिवसका नाराहरू केवल नारामा मात्र सीमित नहोउन्। सरकारले एकदिनको बिदा दिएर मात्र नारीहरूको सम्मान हुने हैन।