आज नारी दिवस
सदियौंको महिला आन्दोलनले औपचारिकता पाएको
सुनौला वर्षलाई पनि सुनौला वर्षले छोडी अगाडि कुदिसकेको दिन
तसर्थ नारी दिवस अब यस्तो बनोस्
जहाँ आयतनका भारले शब्द नओकलोस्
संविधानका धारामात्र वाक्यका पहाड नबनोस्
महिला नेतृत्व, मात्र भाषणमा औंला उठाउने हतियार नबनोस्
पैत्रिक सम्पत्ति हात्तीको देखाउने दाराजस्तो नबनोस्
सशक्तिकरणका अभियान महिला समानताका नाममा
परिवारमा आगो सल्काउने सलाईको काँटी नबनोस्
विकासका नाममा महिला सशक्तिकरण
बजेट विनियोजन र खर्चको खातमात्र नबनोस्
अन्तर्राष्ट्रिय नारी दिवसको प्रभाव यस्तो होस्
महिला नेतृत्व भिजिबल र सम्मानित होस्
सम्पत्तिका स्वामिनी बनाइएका नारी आर्थिक रुपमा सबल रहून्
शिक्षा छोरीका लागि राम्रो घर र असल केटा छान्ने प्रमाणपत्र मात्र नबनोस्
नीति निर्माण तहमा महिला सहभागिता
पितृसत्ता प्रभावित नीति निर्माणमा गणपुरक संख्या पुर्याउन
ताली पिट्ने सहायक हातमात्र नबनुन्
महिला आन्दोलन र लैंगिक समानता यस्तो होस्
जहाँ
पुरुष पनि हाँसून्, खेलून्
महिला पनि फुलून्, फलून्
न्यायको दैलामा भीख माग्न महिलामात्र हैन पुरुषलाई पनि जानु नपरोस्
अन्तर्राष्ट्रिय नारी दिवस भव्य बनोस्
तर
कार्यक्रमको मञ्च शब्दको पहाड अनि तालीको वर्षामा हैन
पितृसत्ताको हृदयमा गढोस्
१११ औं नारी दिवसको पुरुष-महिला दुवैमा शुभकामना।