मेरो अविस्मरणीय यात्रा
एक पलमै जिन्दगीको हुन्डरी झैँ आयो
यसले छोडेको छाप
आजीवन मेरो साथ नछोड्ने गरी रहिरह्यो।
आफ्नो पवित्र पाउ
त्यस अपवित्र गाडीमा टेकी
मैले मेरो जीवनको नयाँ यात्रा आरम्भ गरेँ
मेरो त्यो पछ्यौरी ढोकामा अल्झिँदा
हरेकको दुष्ट नजर
मेरो खस्किएको पछ्यौरीमा आकर्षित भयो
मेरो काँधमा चोली अलिकति च्यतिँदा
ती हात मतिर अग्रसर भई उक्सिन थाले।
म त एक सानी परी
आफू फसेको जालबाट उम्किन पाइनँ
पवित्र शरीर मेरो अपवित्र भएको पत्तो पाइनँ
ती फोहोर सोच
अनेकौँ बहाना पारी मलाई छुन थाले
हर अश्लील हर्कत तिनका
मेरो छालामा अनेकौं दाग छर्न थाले।
मेरो आङबाट चोली खुस्काई
ती पापी आँखा मेरो अंगमा गडिरहे
सारा भिड जम्मा भई मेरो दुर्दशा हेरिरहे
मूर्तिझैं मेरो तमाशा हेर्न आतुर भई उभिरहे।
मेरो शर्म र लाज त त्यही दिन लुटियो
जुन दिन मेरो चरित्रमा मोहर लगाई
अस्मितालाई लान्छित गरियो।
मेरा यी ओठ गुहारे
मेरा यी हात बाँधिन बाध्य भए
तर कसैले सुनेनन्
हिजो बहिनी ठहर्याउने आवाज
मेरा लागि श्राप रहेछन्
सधैँ उचा भएका शीर
आज सारासममु झुक्न बाध्य भएछन्।
दिनको उज्यालोमा पनि अन्धकार महसुस गर्न थाले
चिच्याएँ, कराएँ, आफूलाई समेटी
ती च्यातिएका कपडा आङमा भिरेर
आफ्ना पाइला चालेँ।
सायद
त्यो दिन मैले यात्रा नगरेकी भए
समाजले मलाई स्विकार्थ्यो होला
सायद
साहसको चाँदर भिरेर
रक्षा गर्ने शक्ति डोहोर्याएकी भए
आफ्नो नजरमा गिर्दिन थिएँ होला।
सायद यो यात्रा कहिले समाप्त नहोला
तर म अघि बढिरहने छु
आफ्नो अस्तित्व त बचाउन सकिनँ
अब यो यात्रा अरुको जीवनमा पुग्नबाट रोक्नेछु
कुनै पनि कोपिला फक्राउनुअघि टुट्न दिन्नँ
म कसैको यात्रा नष्ट हुन दिन्नँ।