डाडुपन्युँ उसकै हातमा छ
गफ उसकै ठूलो छ
गफलाई सत्य मानिदिनु पर्ने बाध्यता छ
ऊ बसेको घुम्ने मेचले यसै भन्छ
माखो मारेको देखिन्न
सिन्को भाँचेको नि देखिन्न
तर कर्मवीर उसले आफूलाई घोषणा गरिसकेको छ
मूर्खहरूको माझमा घेरिएर
ऊ भ्रमको लिस्नो उक्लिरहेको हुन्छ
नयाँ बनाउन त जानेकै छैन
पुराना सामानको जतन गर्न झन् जानेकै छैन
दुनियाँको नजरमा अचाडु
ऊ-
हाँगामा बसेर फेद काटिरहेको पत्तै छैन
अकर्मण्यहरूको झुण्ड बोकेर
हेर ऊ वैतरणी तर्न तयार छ
अरुले बनाइदिएको घरको धुरी चढेर
अग्लिएको भ्रम पाल्छ
साराको पालनकर्ता त म नै हुँ भन्ने
आत्मश्लाघाको लिउनले लेपिएर
दैनंदिन पतनको भासमा धसिरहेको हुन्छ
दास बनेर पाउ पखाल्छ
ख्वामित् हजुर भन्दै
स्वाभिमान र आत्मसम्मान बन्धकी राख्छ
लाछीहरूको सभामा आफू सुरवीर भएको घोषणा गर्छ
दास बन्ने मानसिकताले
उसलाई दासहरूकै झुण्ड प्यारो लाग्छ
जाडोमा घाम ताप्न नजान्ने
वर्षामा घुम तानेर ओढ्न नजान्ने नयाँ कालिदास
मलेवाले बिस्कुन सखाप पारिसक्दा पनि
मलेवा धपाउने होस छैन-
ज्ञान छैन-
सबैथोक भए पनि
दास मानसिकता भएको
मन मुटुमा आँट पटक्कै छैन।