निकै विवश छु म आज
कारण भिन्न छ तर गहिरो
त्यो चियाघर अनि टेबल
साथीहरूले भेट्नभन्दा
खुसी भई पुग्ने ठाउँ
हरदिन फेरिरहने गफ
अनि बद्लिरहने साथी
चिया तातो होस् या चिसो
अडिरहन मन लाग्ने ती कुर्सीहरू
अह! चुरोटसँगै सलाई
बानीले अभ्यस्त भएको त्यो धुवाँ
हरपल आउने-जाने नयाँ मान्छे
अनि गफैगफको कोलाहलमय गुन्जन
रमाइलो लागिराख्ने त्यो चियाघर अनि टेबल
खै! किन, एक्कासी प्रश्नहरू गर्छ
बाफ उडिरहेको चियाले सोध्छ
के चियावालले मिठो चिया बनाएको छ?
जलिरहेको चुरोटले सोध्छ
के तिमी मैले गर्दा स्वस्थ छौ?
बिल तिर्दै गर्दा पैसाले सोध्छ
के तिम्रो लगानीको प्रतिफल राम्रो छ?
अनि फर्किँदा बाटोमा साथीले सोध्छ
के तिमी मेरो साथमा खुसी छौ?
जवाफविहीन म
घर पुग्दा आमाले सोध्छिन्
चियाघरको कि घरको चिया?