झापाको सहज बसोबास छोडेर काठमाडौँको सानो रुममा ठूलो सपना कैद गर्न भनेर आइपुगेको छु। सबै कुरा भुलेर केही कुरा सम्झिने बहानामा गुनगुनाउन थालेँ। सधैँ केही सोच लिएर सपनाको सहर पस्ने गरेकोमा यसपालि भने केही ठूलो सपना बोकेर आएको छु। ठूलो भनेको मभन्दा अग्लो हैन, बरु सगरकै उचाइ बराबर हो।
मेरो सपनाको घरको जग हाल्ने विषयमा गृहमन्त्रालयको लालमोहर लागिसकेको छ। बाँकी छ त अर्थमन्त्रालयको मोहरको। मोहर मतलब पैसा। यस्तो ठूलो सपना कैद गर्ने कैदीको कोठा भने केही पुराना सामानले भरिएका छन्।
केही पुराना कोटहरू, केही पुराना अखबारहरू, केही पुराना किताबहरू। र, म यतिबेला पुरानै गीत गुनगुनाउँदै छु। यो गीत गाउनुको पछाडिको कारण ऊ हो। ऊ जो मेरो कोही हैन। ऊ जसको बारेमा मैले नसोच्दा पनि केही बिग्रने हैन। ऊ जो साँच्चै पागल छे।
'को हो दादे ऊ? के ऊ साँच्चै पागल हो र? कि तेरो दिलमात्र पागल हो?'
रहस्यको कालो पर्दा उघार्दै मेरी प्यारी बहिनी रहस्यता कोठाभित्र पसी, जसरी बिहानको घाम पस्छ।
३२ लक्षण भन्छन् नि, त्यस्तै छे मेरी रहस्यता। ऊ आउनासाथ मैले संसार जितेको आभास भैजान्छ। अँध्यारो कोठा पनि एकाएक यस्तो लाग्छ कि यहाँ कुनै बहुमूल्य मणि चम्किरहेको छ। उज्यालो हुन्छ। जस्तो उज्यालो ऊसँगको संवादपछि मेरो मन हुन्छ। ठ्याक्कै त्यस्तै। त्यसैले हुनुपर्छ ऊ बत्ती निभाएपछि मात्र आउँछे। ऊ अर्थात् सृष्टिको रहस्य। ऊ अर्थात् मेरो जिन्दगी।
'ऊ को हो भन्नुभन्दा पहिले तँ अस्ति किन आइनस्? कि तेरो लोकमा मैले पठाएको खबर पुगेन भन् त?'
यस्तो विरलै हुन्छ। मैले प्रश्न सोधुँ अनि उत्तर नआओस्। यसपालि ऊ उत्तर खोज्न दक्षिणतिर लागी। दक्षिण-पूर्व जहाँ हाम्रो सानो घर छ। म त्यहीँबाट निस्किएँ। सपनाको डोको भर्न हातमा अभावको हतियार बोकेर।
डिपु चोकमा उभिएर ५ फुट ६ इन्च अग्लो एउटा अनुहार भक्का खाइरहेको थियो। झापामा जाडो याममा खुब रुचाइने यो खाजाको आफ्नै कथा छ। तर यो कथा त्यो भक्का वा भक्का बनाउने दिदीको हैन। यो कथा त्यही भक्का खाइरहेकी केटीको पनि हैन। यो कथा त उसको हो जसको हरेक कुरा पागलपन लाग्छ। उसको जस्तो पागलपन सबैमा हुनुपर्छ। पागलपनले नयाँ आरम्भ गर्छ। नयाँ सृजना दिन्छ।
'मैले सबै कुरा हेरेर आएँ। म नआएर राम्रै त भएछ नि। तैंले छोरो हुनुको दायित्व बखुबी निभाउने मौका पाइस्। अनि यो कथा त त्यही भक्का खाँदै गरेकी केटीको त रहेछ। कस्तो उसको हैन भनेर मोड्ने प्रयास गरेको तैंले।'
रहस्यता फेरि आइसकेकी छे मलाई जिन्दगी र यो समाजलाई नयाँ पाठ पढाउन। उसको अलौकिक शक्तिको कारण ऊ जहाँ र जहिले पनि पुग्न सक्छे। यतिबेला मेरो अतीतमा पुगेर केही दिन यताका सबै च्याप्टर पढेर आई। पढ्नु भन्नेबित्तिकै किताबको पानामात्र पल्टाउनु पनि हैन रहेछ। जिन्दगीका अभ्यास केलाउनु पनि रहेछ। उसले यो काम बखुबी जान्दछे। यो अभ्यास यहाँ सबैले गर्नुपर्ने हो तर यहाँ पुस्तक, पैसा र करियर के-के जातिले बजारमा पहिल्यै हालिमुहाली कायम राखेको छ।
'दादे, तँलाई के लाग्छ म ज्युँदो हुन्थेँ भने सिसमजस्तै हुन्थेँ होला कि हुन्न थिएँ होला? बेपर्वाह तर सबै सोच्ने। सबैको लागि सोच्ने। सबैको बारेमा सोच्ने। तँ पनि त त्यस्तै छस्। सबैको पर्वाह गर्छस्। कति मजाकी केटी है दादे त्यो। मलाई त भाउजू बनाम् बनाम् जस्तो लाग्यो। तर मलाई राम्रोसँग थाहा छ तँलाई त्यस्तो लागेन। तँ एक्लै जिउन चाहन्छस्। एक्लो जिउने बानी परिसकेको छ तँलाई। किनकि आगो बालेर सुरु गरेको सम्बन्धले अन्त्यमा डढेलो पनि लगाउन सक्छ भनेर तँलाई थाहा छ।'
आफ्नो कुरा राखेर ऊ एकछिन स्वर्गल्यान्ड तिर लागी। सायद यहाँ धर्तीमा मेरो समीप बस्ने उसको भिसा अहिलेलाई सकिएको छ। रहस्यता र सिसममा साँच्चै धेरै समानता छ। रहस्यता ज्युँदो भएकी भए त्यस्तै त हुन्थी होला। उमेरमा अलि ठुली हुन्थी रहस्यता।
सिसमले पनि त रहस्यताले झैं मलाई दादा नै भनेर सम्बन्ध सुरु गरी। मैले मृगस्थली अगाडिको त्यो पल सम्झिएँ जहाँ रहस्यातले पहिलोपटक मलाई बोलाएकी थिई। त्यसयता मैले धेरै बहिनी कमाइसकेको छु। तर नाता सम्बन्धका बजारमा मेरो रहस्यताको ठाउँ कसैले लिन सक्दैन। किनकि ऊ मानव शरीर बिनाको जिन्दगी हो। ऊ मेरो अन्तरमन हो। मन कब्जा गर्न कुनै तालिवान हैन मन नै आउनुपर्छ। प्रेमिल मन। मेरो मनको डुप्लिकेट मन आउनुपर्छ।
'सिसमले दादा भनेर बोलाएको भएर तैंले उसलाई प्रेमको नजरले हेरिनछस्। तर सोच् त, एउटा सामन्य यात्रा पनि यति रमाइलो हुनसक्छ सिकाइन र उसले? ऊ यति सक्षम छे कि जिन्दगीभर रमाइलो गराउन सक्छे, त्यसमा किन ध्यान दिँदैनस्? जिन्दगीको यात्रा कति रमाइलो होला कल्पना किन गर्दैनस्?'
'किनकि ए लड्की पागल हे पागल हे। उसको हरेक बातमा पागलपन छ। '
'पागल त तँ पनि उत्तिकै छस् नि। हैन र? '
'हो म पनि पागल छु, मान्छु। पागल यो दुनियाँ छ, मान्दै मान्दैन। पागलहरूको बस्तीमा म खोजिरहेको छु एउटा डक्टर जसले मेरो रोग बुझिदियोस्। जसले मेरो घाउ भरिदियोस्। जसले मेरो पागलपनको इलाज गरोस् उसको पागल मनले। म त्यस्तो साथी चाहन्छु।'
मेरो कुरा सुनेर ऊ फेरि अलप भई। जसरी म्याजिसियनको हातबाट अचानक एउटा तास गायब हुन्छ, त्यसैगरी। सायद ऊ सिसममा मैले भनेको डक्टरको गुण खोज्न मैतिदेवितिर पुगेकी हुनुपर्छ। तर सिसम डाक्टर हैन, एयर होस्टेस बन्दैछे। मैले देखेका हरेक प्रकारका होस्टेसहरू झुठा हुन्छन्। अनुहारमा झुठा लेप लगाउँछन्। कृतिम हाँस्छन्। मलाई कृत्रिम हाँसो निको लाग्दैन।
जहाँ मैले दालको बोरा र दाहालको छोरीलाई जुन ढोकामा छोडेको थिएँ रहस्यता त्यहीँ पुगी। सायद रहस्यता त्यहाँ पनि एउटा नयाँ रहस्य उजागर गर्न चाहन्छे। किनकि सिसम छे नै त्यस्तै, एकबार जो कसैले चिन्छ सजिलै बिर्सिँदैन। रहस्यताले पनि त्यही गरी। तर मेरो डक्टर अरु नै कोही हो। अन्तै कहीँ छे। यो बात कसैले मेरो बहिनीलाई भनिदियोस्। तर उसलाई म बाहेक कसले देखेको छ र?
आजकल म बिर्सने यात्रालाई बिट मार्दैछु। केही समयअघि म सबैकुरा बिर्सिन्थेँ। त्यो समय म डिप्रेस्ड थिएँ तर आफूलाई मानसिक रोगबाट उन्मुक्त बनाएर यहाँसम्म आउने एक्लै सम्भव थिएन। मेरो यात्रामा बा थिए। हामी ९ महिना गर्भमा बोक्ने आमाका नाममा कति लेख्छौं कति तर आफ्नो उमेरभर मानसिक गर्भमा बुवाले बोकेको देख्दैनौं। लेख्दैनौं। म कुनैदिन नदेखिएको त्यो झरनाको बारेमा खुब लेख्नेछु। मेरो ठूलो सपना छ।
सिसम आज नभएर त्योबेला भेटिएकी भए पनि नबिर्सने दमदार कथा हो। ऊसँग बारबार यात्रा गर्नेले कथा लेख्ने हो भने एउटा हिट सेरिज बन्ने पक्का छ। समाजमा यस्ता कथा छ्यापछ्यापती पाइनुपर्ने समय हो तर अझै पनि छोरीमान्छे लुकेकै छन्। अझै सिसमहरू छायामा छन्। त्यस्ता कथाले लामो समय लिन्छन् र जब आफ्नो हाइट पाउनेछन् समाजको नजरिया बदलिनेछ। समाजले त्योबेला भन्न छोड्नेछ 'ए लड्की पागल हे पागल हे।'
म कसरी भुलुँ सिसम सिड्स। प्रष्ट फल दिने वृक्ष हो सिसम। त्यही भएर उसलाई मनमनै शुभकामना दिएँ। साथ दिन नसके पनि आशीर्वाद दिए काफी हुन्छ जस्तो लाग्छ। दिएँ। सबैभन्दा भुल्न नसकिने र रमाइलो त उसको सुटकेसमा लुकेको पन्ध्र हजार। म कसरी भुलुँ मैले नदेखेको रुपैयाँ? कयौंपटक मैले झारिदिएको त्यो पैसा हराउन भने सकेन। पैसा मजाक कहिल्यै हुन्न तर पैसाको मजाक यात्राको अन्त्यसम्म पनि भयो।
अर्कोतिर सहचालक भाइ आफ्नो कपाल दुखेको पीडा सुनाउँदै थियो- 'आज त दुई ट्वाक नलाई हुन्न।'
हुन पनि सिसमको चर्को जसले तसले कहाँ झेल्न सक्छ र? तर सक्नेले पक्कै पनि मिठो पल जिते। महको जस्तै मिठो। अर्गानिक। नसक्नेका लागि भने यो यात्रा एकदम कुरुप हुनसक्छ। बान्ता गर्दै यात्रा गर्ने यात्रुजस्तै।
गीत बजाउनु भन्दै झर्किएर सुरु भएको उसको कथा गीत गाउँदै अन्त्य भयो। गाडीको स्पिकर ठिक हुन्थ्यो यदि भने सिसमको स्पिकर एकपटक पनि बज्ने थिएन। गाडी स्पिकर नबजेकाले उसको स्पिकर बन्द हुने नाम नै लिएन, ऊ नबजेकी भए मेरो किस्मतमा एउटा अर्को यादगार यात्रा हुने थिएन। ऊ नबजेकी भए मैले सानी सभ्यता निरौला चिन्ने थिइनँ। ऊ नबजेकी भए भिनाजु गुमनाम हुने थिए। ऊ बज्नाले नै भिनाजुको मिठो आवाजमा केही गीतहरू सुनिए। यो उसकै जादु थियो। ऊ नबजेकी भए त्यो भाइ जसको नाम मलाई याद छैन, यादमा आउने थिएनन्। भाइको उज्यालो तस्वीर छ, छैन त त्यो तस्वीर माथिको क्याप्सन।
सिसम चाँडै एयर होस्टेस बन्दैछे। तर उसको बेग्लै अन्दाजले गर्दा सहचालक भाइलाई अब तिम्रो जागिर म खाइदिन्छु भन्न लागी। भाइ घरीघरी जे गर्नुस् भन्थ्यो घरी दिक्क मान्थ्यो। हुन पनि सिसम भोलिको दिनमा चालक दल सदस्य नै हुने हो। होस्टेस बनेपछि उसको यो स्वभाव अहिले जसरी एवंरितले फुत्किरहन पाउँदैन।
उसको जुरोपानीमा बाँधिएको कपालको जुरो यात्रा सकिँदासम्म फुस्किएन। सानो कपाल भएकाले जुरो नलाग्ने उसको पोनिटेलले पन्डितको टुप्पीको झल्को दिन्छ। ऊ भविष्यमा त्यही जुरोजस्तै हुनेछे। बाँधिनेछे नफुस्किनेगरी तर अहिले उसका अनेक रमाइला कुरा हिले माछाझैं फुत्किरहे। हातमा आएर फुत्त उछिट्टिन्थे। तर कुनै पनि कुरा हवाईजहाजजस्तै टाउका माथिबाट गएनन्। सब मस्तिष्कमा ताजै छ। अहिले त्यही यात्रामा छु जस्तो लाग्दैछ।
यात्राभर उसको रफ्तार गाडीको भन्दा कम भएन। बरु बेसी नै भयो। यस्तै छोरीमान्छेको जरुरत छ आजको दुनियाँमा। फागुनको महिनामा उसले देउसी खेली। कसैले केही दान गरेनन् तर जिन्दगीको बहिखातामा थुप्रै दान भएका कुराहरू लेखियो। चित्रगुप्तले यो कुरा एक-एक हिसाब राखेकै हुन्छन्। गीतको भाका नजानिकन उसले खुब गुनगुनाई। चना डढाएको कुरा सुनाउन कति पनि डराइन।
ऊ मिठो खाना बनाउन जान्ने छोरामान्छे आफ्नो जिन्दगीमा चाहन्छे। आफू बनाउन नजान्ने भन्नलाई उसले सर्म मानिन। उसले जिन्दगी कति मिठो गरी बुझेकी छे। उसको उमेर साढे १८ वर्ष भन्थी तर जिन्दगीलाई लिएर उसको परिभाषा हेर्दा ऊ १८ दशक पार गरेकी जस्तो लाग्छ। परिपक्व लाग्छे। थुप्रै पुस्तक अध्ययन गरेजस्तो लाग्छ। तर यात्राको दौरान मैले एउटा किताब पढ्दै गर्दा स्कुल छोडेर पनि के किताब पढ्न मन लागेको हो भन्थी।
पढाइमा उसको दिलचस्पी बुझिएन। हुन पनि जिन्दगी बुझ्न किताब हैन, जिन्दगी नै पढ्नुपर्छ। गाह्रो छ हौ जिन्दगी, कति धेरै दुःख छ भन्ने कुरामा 'खान लाउन पाएकै छ, केको दुःख?' भन्ने उत्तर दिन्छे। साँच्चै हामी बिलगेट्सको 'बर्न पुअर डाइ रिच' वाला थियोरीको पछाडि लागेर खुसी हुनै बिर्सेका छौं।
धनी भएर जिन्दगीभर कसैले जित्न सक्दैन भने दौडनु ठिक होला तर केही पल नम्बर वानको पोजिसनमा बस्न खुसीको परिभाषा बदलेर फाइदा केही पनि छैन। पैसाले कम्फर्ट किन्ने हो, खुसी हैन। एउटा सत्य के पनि हो भने हार्नेमात्र हैन जित्नेले पनि मैदानमा बसिरहँदैन। खेल सकिएपछि उसको यात्रा अर्कै हुन्छ। सिसमको अबको यात्रा आकाशको हुनेछ। उसको सपना आकाशजस्तै छन्। विशाल।
'तेरो पनि त सपना विशाल नै छ। ठूला सपना देख्ने जो-कोही पागल हुन्छन्, तँ पनि होस्। नत्र कफ्युज्ड न्युकमर्सका बारेमा किन सोच्थिस् र?'
मेरो आगामी यात्राको घाउ कोट्याउँदै रहस्यता फेरि आई। म सपनालाई घाउ भन्न रुचाउँछु किनकि पूरा नहुँदा सपनाले बहुत पीडा दिन्छ। पूरा गर्ने चेष्टा राख्दा छटपटाहट हुन्छ। उसलाई थाहा छ मेरो काम गर्ने सपना कस्तो छ तर उसले यो बुझेकी छैन पैसा नभई यहाँ केही पनि हुँदैन।
अगेन कम्स दि थियोरी अफ गेट्स। मनी, मनी एन्ड मनी। अक्सर यहाँ ठूलो सपना देख्नेहरू नै फ्रस्टेड छन्। सुसाइडजस्ता काम गर्छन्। यो सबैको पछाडि पैसा लुकेको हुन्छ।
'तर दुनियाँलाई जिन्दगी सुन्दर छ भन्ने मान्छेले त्यस्तो गर्छ जस्तो लाग्दैन। तैंले जिन्दगी बुझेको छस्। जिन्दगी लेखेको छस्। बुझाएको छस्। त्यसैले तैंले साइडमा उभिएर सु पनि गर्दैनस्, सुसाइड त परको कल्पना हो।'
रहस्यताले जे भनी त्यो एकदम ठिक छ। आई मे फेल्ड इन माई वे, बट आई विल नट फेल्ड टु लिभ। बिकाउज आई'एम नट विक। आई डन्ट फील माइसेल्फ अ विक पर्सन्। आई एम स्ट्रङ इनफ टु लिभ ह्याप्पिली।
आफूलाई कमजोर नठान्नु यदि पागल हुनु हो भने हो, ऊ पागल हो। आफूलाई सक्षम सोच्ने म पनि पागल हो। हरेक पल जिउने मान्छे पागल हुन्छन् भने हो ऊ पागल हो। म पनि हरेक पल जिउने प्रयास गर्छु त्यसैले म पागल नै हो। ठूलो सपना पाल्नु पागलपन हो भने हो, ऊ पागल हो।
न्यू-कमरको हितमा सपना देख्ने म पागल नै हो। म त मान्छे भएर जन्मिएका हरेक प्राणी पागल देख्छु। एउटा पागलपनलाई लेख्ने मेरो अर्को पागलपन देख्दा भोलि सबैले एकै स्वरमा भन्न सक्छन्- 'ये लड्का पागल हे, पागल हे।'