न मदिरा
न नशा
न पान
न गुट्खा
न किताब
न कापी
न इष्ट
न मित्र
न पूरै गोरो
न पूरै कालो
छ यो चरित्र
तैपनि लट्ठ छ
नशामा यो दुनियाँको!
यो कस्तो अवसर भनौं
या हार भनौं
मभित्र
भित्रै झन् भित्र
नशामा डुबिरहेछु
झन् बाहिर-बाहिर
बिर्सिरहेछु
न लेख्न सक्छु
न बोल्न सक्छु
न त नियाल्न सक्छु
त्यो भित्रको मलाई
मसँग
न खोस्न सक्छु
न च्यात्न सक्छु
न जलाउन सक्छु
ती याद भित्रका
साथहरू
न म भन्छु
न म सुन्छु
न म मान्छु
आदर्शविहीन आदर्शहरू
म त यसै लट्ठ छु
त्यो भिडमा मदिराको गन्धको
जहाँबाट म सुरु हुन्छु
न गन्छु
न खोज्छु
न हेर्छु
न बुझ्छु
आफूलाई आफूबाट
एक्लै गन्छु
मलाई दुनियाँबाट
अलग खोज्छु
बुझ्दा र सुन्दा सबथोक
सँगै बुझ्छु
र पनि
म लट्ठ छु
यो चिताको
चितामा ढलेको
लासले श्वास फेरेको देखेर।