जिब्रोले तिम्रो हजारौं बहाना भेट्टाएको थियो
मसँग मुख मोड्न
तर आँखासँग एउटै बहाना थिएन
एकैपटक कैँयन तालमा जिब्रो लर्बराइरहेको हुन्थ्यो
तर पनि आँखाको एउटै सुर थियो
बेलाबेलामा भित्तातिर-
इदर उदर हेर्दै तिमी सुर बिगार्ने निर्दोष प्रयास गर्थ्यौ
फेरि पनि हृदय बीचमा आई त्यसलाई निरन्तरता दिन्थ्यो
मैले त पहिले पनि भनेकै हो
यो अस्तित्वले जिब्रोलाई हजारौं झुट बोल्ने सुबिधा दिएको छ
जुन आँखासँग त्यो छैन
त्यसैले अब झुट बोल्न बन्द गर
आँखाको अभिव्यक्तिलाई जिब्रोसम्म ल्याऊ
अनि मसँगको प्रेम कबुल गर।