सपना नदेख्ने को होला र?
मनभरि रहर फुलाउँदै
हिँडेका थिए अविरल यात्रामा
विश्राम गर्न चाहँदैनन्
गन्तव्य अझै टाढा छ
भाग्यका रेखाहरू
खोज्दैछन् हत्केलामा
मनमा दुखाइ बोक्दै
हारजीतसँग जुहारी खेल्दैछन्
तर,
अहँ! आशाहरू मर्दैनन्
आँट डगमगाउँदैन
अझै जीवित छन्
कष्टभित्र डढेका
ती अनुहारहरू
गहिरिएर त हेर
आँसु मात्र छैनन्
ती एकजोर आँखाहरूमा
ऐनामा हेर्दा होस्
या त आफैलाई
अनुहारका चाउरिपन हेर्छन्
मिलेका आँखीभौ
ओठका लालीहरू हेर्छन्
केशका रंगहरू नियाल्छन्
खै त नि ती आँखाहरू?
जसले हेर्न सक्छन्
संघर्षका कथाहरू
लडेका सिँढीहरू
बिझेका शब्दहरू
हत्केलाका फुटेका रेखाहरू
गुमेका विश्वासहरू
अस्तव्यस्त यो समयमा
अनगिन्ती छन्
दृश्यहरू
परिकल्पनाहरू
भविष्यहरू
बाटाहरू
अनि हेर्ने आँखाहरू
अफसोच!
दृश्यविहीन छन्
अन्यायविरुद्ध लड्नेहरूका
बुलन्द आवाजहरू
स्वतन्त्रताका पंखहरू
भौतिकवादभित्र रुमलेका छन्
आधुनिक हेराइहरू
कति आँखाहरू त
चश्माका पर्दाभित्र छन्
हेर्नकै लागि मात्र हेर्ने
देख्नकै लागि मात्र देख्ने
अहँ!
त्यस्तो नजर हुनु हुँदैन
हेरेपछि देख्नुपर्छ
देखेपछि बोल्नुपर्छ
अनि मात्र छरपष्ट हुन्छ
आँखाहरूका भाका
आँसुका मोलहरू
साँच्चै!
नहेरिकनै देखेका
पात्रहरू, परिवेशहरू
सपनाहरू, भविष्यहरू
अनि अनुहारहरू
मनको आकाशमा अट्नुपर्छ
आँखा र मनको धरातल
उस्तै-उस्तै हुनुपर्छ
किनकि
दृश्यहरू आँखामा बस्छन्
त्यसैले
आँखाले झुट अनि जालझेल
अविश्वासहरूबीच पनि
स्पष्ट छाया देख्नु पर्छ
देखेपछि झनै नियाल्नु पर्छ।