सानोमा बाबाले सुत्नुअघि आफै बच्चा बनेर सुनाउनु भएको कति त्यस्ता कथा वर्तमान र भविष्यका कहानी बने होलान्। मैले जिन्दगीको यथार्थ के बुझ्थें थाहा छैन तर 'छोरोले बाबु बुढो हुँदा डोकोमा बाबुलाई हालेर फाल्न लगेको' कथा सुन्दा त्यो छोरोप्रति उठेको रिस सम्झिँदा मस्तिष्कले त्यति त अड्कल्न त्यति बेलै जानेको रहेछ भन्ने लाग्छ आज।
आमाले कथा सुनाउने हिस्सा आफ्नो भागमा कहिल्यै राख्नुभएन, यो सधैँ बाबाको भाग थियो। कथा सुनिसक्दा बन्द हुन आँटेका आँखाको अगाडि उभिएर सेलाउन लागेको दूध नसक्काई निदाउन नदिने आमाको नित्यकर्म थियो। अनि, दिनहुँ कथा सुन्नको लागि ओच्छ्यानमा जान हतारमा रहन्थेँ मेरा पाइला। तर त्यो दूधको गिलासतिर जाने नजर भने सधै हिच्किचाउँथ्यो। आज लाग्छ, त्यो कथाले कति जीवनको यथार्थ समेटेको थियो। बालापनमा सुनेर रमाउन खोजियो, अहिले गहिराई अड्कल्न खोजिन्छ।
बित्ताले जिन्दगी नाप्दै, अञ्जुलीमा खुसी बटुल्दै, कहिले आफ्नो हिस्साको खुसी जिन्दगीमा समेटिने हो। त्यो विगतमा कथा सुन्दा मिल्ने खुसी, अहिले कठिनाइका विशाल हण्डर फोर्दा पनि मिल्दैन। खुसीको मूल्य ज्यादा भयो या जिन्दगीको मूल्य कम, यो बुझ्न गाह्रो। अब चाहना विशाल छन्, पूरा गर्ने जोश बिछट्टै, तर पूरा हुँदाको उमंग छोटो, न त मिठो।
हिजो बारीको वनमारा चुँडेर गाँसेको चुङ्गी खेल्दा कति हर्ष बढ्थ्यो अनुहारमा। आज त्यही वनमाराको झोल घाउमा दलेर आएको बिरामीको उपचारमा तल्लीन रहँदा पनि खुसी हुन जाँगर चाहिन्छ।
डाक्टर भएको हैसियतले मस्तिष्कमा भएका सबै ज्ञान अनि हातमा भएका सबै सीपले भ्याएसम्म बिरामीको उपचार गरेर सन्तुष्टि कमाउने चाहना हो मेरो। तर, कहिलेकाहीँ त्यही सन्तुष्टि खोस्नुपर्छ। उसले मसँग मेरो ज्ञानको प्रमाण माग्छ, मेरो सीपको वजन नाप्छ, अनि म दंग ऊतर्फ हेर्छु- मेरो ज्ञानले उसको मूर्खताको प्रमाण किन खोज्दैन?
उसको मगजको हिसाबले मेरो इमानदारीताको जोड-घटाउ गर्न नजानेर हो या आफ्नो शरीरको घाउमात्र गुणान गरेर हो, मप्रति उसको जति हुनुपर्ने आत्मियता हो त्यो कहिल्यै भेट्दिनँ। म उसैको लागि अनिदो र भोको पेट रात-बिहान काम गर्छु, ऊ चर्को स्वरमा पुरुष हुनुको अहंकार देखाउँछ। गलामा आला भिरेको डाक्टरले उसको सत्कारमा कहाँ कुन दियो बाल्नुपर्ने हो म बुझ्दिनँ।
रक्तअल्पताले काम गर्न छोड्न आँटेका उसका शरीरका हरेक कोषले रगत पाएकै छ, मस्तिष्कघातले शरीर कुजो भएर अस्पतालसम्म आइपुगेका बिरामीको उपचारमा कुनै कमी राखेको छैन। कहिले छाती कहिले पेट, कहिले हात कहिले पाउ, अनेक दुखेर मुर्छा परेर आएका बिरामी हाँसी-खुसी घर गएकै छन्, तर पनि उसका शब्दहरुमा मेरो लागि कहिल्यै धन्यवाद भेट्दिनँ।
घरमा आमाले जिस्किँदा जिस्किँदै तानिएको बच्चाको नचलेको हात अस्पताल आइपुग्दा चल्ने भएकै छ। सुन्निएका आँखाका डिल बसेका छन्। रक्सी जमेको कलेजोले औषधि पाएको छ। चुरोटको धुवाँले भरिपूर्ण आमाका फोक्सोमा पुनः अक्सिजन भरिएकै छ। तर उसको मानसपटलले अस्पतालले गरेको ढिलाइको मात्रै हिसाब राख्छ। यो कस्तो चलन, उसको रिसलाई थाँती राखेर मैले उसैको लागि उचित निर्णय गर्नुपर्ने रे! उसको रिसले उसकै नराम्रो भए फेरि म नै जिम्मेवारी?
बच्चाबेला बाबाका कथामा रमाए झैँ आज काममा रमाउन उसका वचनले दिँदैनन्। कथा त सुनिन्थ्यो अनि सुतिन्थ्यो, यो सुन्दा रातभर निन्द्रा लाग्दैन। उसको छटपटी कम त मैले नै गरेँ, तर किन मेरो छटपटीको कारण उसले आफूलाई बनाउँछ?
मैले हरेक पटक निको पारेको एउटा समस्याको फलस्वरुप हरेक अनुहारले मुस्कानसाथ बिदा किन माग्दैनन्? म भनेर आउने त सबै मेरा, तर म किन कहिल्यै उसको हुँदिनँ? दिन यस्तो पनि आओस्, म हाँसी-खुसी निर्धक्क उसको उपचारमा लाग्न सकू, ऊ थोरै धन्यवाद अनि धेरै सन्तुष्टि बोकी आफ्नो बाटो लाग्न सकोस्।