‘पाँचौं वैवाहिक वर्षगाँठको शुभकामना! तिम्रो जिन्दगीको पारिलो घाम कहिल्यै नअस्ताओस् अप्सरा!’
अप्सरा सधैं पलाँसको फूलसँग आफूलाई तुलना गर्थी। उसको जिन्दगीमा कतिपटक घाम उदाएर अस्तायो। कति पटक असिना पानी बर्सियो कि उसलाई थाहा छ, कि ईश्वरलाई।
उसका साथी, आफन्त, माइती, सबैले उसको जिन्दगीको उज्यालो पक्ष मात्र देख्छन्। उज्यालोसँग लुकेको अँध्यारो पाटो आजसम्म कसैले देखेका छैनन्, अझ भनम देख्न चाहेनन् या प्रयास गरेनन्।
भर्खरै आएको मेसेज तीन पटक पढी। मुटुमा चस्का पस्यो कि सम्झना, उसले जानिन।
बाहिर पारिलो घाम लागिसकेछ। भगेँरा र परेवाका जोडीहरू झ्याल बाहिर चिरबिराए। गौंथली पनि जोडी बाँधेर बसेका थिए। त्यो दृश्यले उसको आधा ओठ हाँस्यो, आधा मन भाँचियो। विवाह अगाडिको सपना सम्झी। त्यतिबेला ऊ कति मीठो भ्रममा रहिछे।
ऐनामा आफ्नो अनुहार हेरी। भरिलो मुस्कान, कसिलो शरीर, सुन्तलाका केस्रा जस्ता ओठ। खै त्यो समय, खै त्यो उत्साह?
उसले आफ्नो छाती छामी नरिवलजस्तो कडा छाती पाकेको सुन्तलाजस्तै भएछ। फेरि गएर ओछ्यानमा पल्टिई। निदाउन खोजी, सकिन।
आफ्नो विस्ताराको माथि झुन्डाएको विवाहको फोटो नियाली। फोटोमा ऊ मुस्कुराएकी थिई। त्यो मुस्कानभित्र कति बाध्यता र खरानी भएका सपना लुकेका थिए, उसलाई मात्रै थाहा छ। तर उसको मुस्कुराएको ओठ उसलाई निकै सुन्दर लाग्यो।
आज रोहनसँग विवाह गरेको पाँच वर्ष पूरा भयो। अप्सरालाई अचम्म लाग्छ पाँच हिउँद उसले यो पिँजडाभित्र कसरी कटाई ? फेरि सोची विवाहको फोटोमा बाहेक म यो घरमा आएपछि कतिपटक मुस्कुराएँ होला?
सुनसान कोठा। भुइँमा असरल्ल परेर छरिएका तसलिमा नसलिनको ‘फ्रान्सेली प्रेमी’ प्यासभित्रको विद्रोह हरिमाया भेटवालको ‘कल्ली’ अमर न्यौपानेको ‘सेतो धरती’लाई टिपेर टेबलमा राखी।
लामो सास फेरेर सिरानमाथि राखेको गुडिया नियाली। आँखा टम्म भरिए। यो भौतिक विलासी यो भव्य महल, हिँड्नका लागि आफ्नै सवारी साधन। तर आँखामा आँसु ...?
अप्सराका साथीहरू उसलाई देखेर निकै डाहा गर्छन्। तीजमा माइती जाँदा रमा, गीता, माया कस्तरी उसको नजिक आएर झुम्मिएका थिए।
रमाको श्रीमान गाउँको प्राथमिक विद्यालयको शिक्षक रहेछन्। उसले नरमाइलो मान्दै भनेकी थिई, ‘हेर न अप्सरा, शिक्षक जागिरले त राम्रोसँग घर चलाउन पनि पुग्दैन तिम्रो जस्तो भए पो।’
‘आर्थिक सम्पन्नताले कहाँ खुसी मिल्छ र? सबैभन्दा ठूलो त श्रीमानको माया र विश्वास हो, रमा। सम्पन्न भए पनि तिमी जति खुसी म छैनन नि!’ अप्सराले प्रतिउत्तरमा भनेकी थिई।
उसका कुरा सुनेर साथीहरू मुखामुख गरे। हुनसक्छ अप्सरालाई आदर्शवादी ठाने होलान्।
‘यो भव्य दरबारमा यो महल जतिकै होला त मेरो उचाइ?’ उसले आफ्नै प्रश्नको जवाफ दिन सकिन।
एकपटक विवाहित हुँ भन्ने कुरा बिर्सन खोजी। फेरि कुन्नि के गर्दा उसको हात गलामा पुगेछ। गालामा पोते र शिरमा सिन्दुर भरेको दिनबाट अप्सराको सम्पूर्ण जीवनको निर्णय रोहनको भैसकेको थियो।
हिजो साँझ हिँडेको श्रीमानको अतोपत्तो थिएन। १२ घन्टादेखि बेखबर श्रीमानको बिम्ब अप्साराको आँखामा ठोक्कियो। उसका हृदयभरि दुखाइ र पीडाका पराकम्पन चलिरहे।
फोन गर्दा मोबाइल पनि अफ रहेछ। म्यानेन्जरमा कल गर्छु सोची फेरि यसो हेरी ऊ १२ घन्टादेखि अफलाइन छ। कति बिजी मान्छेसँग विवाह भएछ जसलाई आफ्नै विवाहको वर्षगाँठ समेत याद छैन।
भर्खर आएको मेसेज पाँच पटक पढी। यो सुखद सन्देश मोबाइलमा पठाउने मान्छे चिन्न सकिन। धेरै पटक नम्बर सम्झिन खोजी सम्झनामा नै आएन।
तर त्यही कुराले बारम्बार झस्काइरह्यो। निकैबेरसम्म सुयोगको याद आयो ‘कतै यो सन्देश पठाउने मान्छे सुयोग त हैन?’
सुयोगलाई सम्झने बित्तिकै मनको कुन कुनामा त्रिशूल रोपियो पत्ता लगाउनै सकिन।
मनमा लागेका सबै कुरा लेखी। सेन्ड बटम दबाउन अगाडि गला र हात अठ्याएजस्तै लाग्यो। निकै मेहनतले लेखेको मेसेज डिलिट गरिदिई। मेसेज त डिलिट गरी तर मनमा बसेको सम्झनाको दाग मेट्न सकिन। उक्त मेसेजमा उसको अतीत मुस्कुराइरहेको थियो भने वर्तमान दुखिरहेको थियो।
***
व्याचर्लस पहिलो वर्षको परीक्षा सकियो। सपनाका हाँगामा रहरका कोपिला लागे। ती कोपिला जसरी पनि फक्राउँछु भनेर दृढ संकल्प गरी।
अप्सरा अलि क्रान्तिकारी थिई। गाउँका महिला दिदीबाहिनीले भोगेको नियति सह्य लाग्दैनथ्यो। माइतीघरमा बाबाको र पराइ घरमा श्रीमानको अधिनमा नारीलाई राख्ने कुराको विरोध गर्थी। हरेक छोरी मान्छे सक्षम हुनुपर्छ, आफ्नो पहिचान बनाउनुपर्छ, र यो देशको नेतृत्व पनि महिलाले गर्नुपर्छ भन्ने उसको सोच र परिकल्पना थियो। पुराना कुरा र पितृसत्तात्मक सोचको सधैं विरोध गर्थी।
व्याचर्लस दोस्रो वर्षको परीक्षा चल्दै थियो। घरमा विवाहको कुरा पनि चल्यो। आफन्त र छिमेकी दिनप्रतिदिन नयाँ अनुहार लिएर घरमा देखापर्थे। घरमा आउने अधिकांश पुरूषहरू कोही डाक्टर हुन्थे, कोही म्यानेजर, कोही सरकारी कर्मचारी हुन्थे साथै व्यापारी पनि नआएका हैनन्।
अप्सराले यस्ता कुरालाई कहिल्यै पनि महत्वका साथ हेरिन, ऊ आफ्नो कर्तव्य र सपनामा दृढ थिई।
घरमा विवाहका प्रस्ताव मात्र आएनन्, विवाह गर्ने दबाब पनि आयो। घरपरिवार एकातिर थिए भने अप्सरा अर्कोतिर उभिएकी थिई। दिनप्रतिदिन सहज मानिएका कुरा असहज हुँदै गए।
एक साँझ उसका बाले अन्तिम निर्णय सुनाए।
‘राम्रो ठाउँबाट कुरा आएको छ, विवाह गर्न तयार रहनू।’ परिवारका अन्य सदस्यले हो मा हो मिलाए।
उसलाई बाले दिएको धम्की मन परेन।
उसको निर्णयको विरोध गर्दै भनी, ‘म यो बिहे गर्दिनँ। मेरा सपना निकै फराकिला छन्।’
उसका कुरामा सबैले विमति जनाए।
‘यो विवाह मेरो हो कि आफन्त र परिवारको?’ उसले आफैंसँग प्रश्न गरी।
धेरै पटक अप्सराले प्रतिकार गर्न खोजी। उसका कुरा कसैले सुनेनन्। बरू बारम्बार ऊमाथि विभिन्न आरोप प्रत्यारोप लगाउन भ्याए।
पहिलो पटक उसकी आमाले भनिन्, ‘काठमाडौंमा घर, केटाको व्यापार, जात, धर्म, कूल, गोत्र मिलेको छ। यहाँभन्दा बढी के खोजेकी होस्। मैले अन्तिम पटक भन्दै छु यो बिहे गरिनस् भने बाआमा गुमाएँ भनेर सम्झनू। ’
‘आमा ! म आफ्नै मेहनत र पहिचानमा बाँच्न चाहन्छु, मेरो बेग्लै अस्तित्व बनाउँछु। मलाई यस्तो जबरजस्ती नगर्नुस् न।’ आमासँग पहिलोपटक आफ्नो सपनाको भिख मागी।
‘आफन्त र समाजले नानाथरि कुरा काट्छन्, अहिलेको जस्तो राम्रो पछि नपाइन पनि सक्छ याद राख्नू।’ आमाको यो वाक्य बारम्बारको उसका कानमा ठोक्किए।
अप्सरा कुनै कोणबाट पनि कमजोर थिइन। व्यवहार, अनुहार, पढाइ सबै कुरामा परफेक्ट। मिलेको शरीर लालुपाते ओठ, ठूलाठूला आँखा, लामो सलक्क परेको कपाल। हल्का उठेको छाती, अनारका दानाजस्ता दाँत। मन पराउने केटाका लाइन थिए, तर ऊ प्रेमभन्दा पनि आफ्नो भविष्य केन्द्रित थिई।
मन मिल्ने साथी थियो सुयोग जसलाई ऊ खुसी हुँदाको मुस्कान र दुखी हुँदाको आँसु लुकाउन सक्दैनथी।
एक अर्काको भौतिक शरीरसँग भेटघाट नभए पनि भर्चुअल माध्यमबाट निकै नजिक थिए।
उसले वर्तमान समयमा आफूमाथि परेको सम्पूर्ण समस्या सुयोगलाई सुनाई। कुरा सुनिसकेपछि उसले ठोस निर्णय दिन सकेन। सबै निर्णय अप्सराको हातमा छोडिदियो। सुयोगले उसको स्वतन्त्रताको सम्मान गर्यो कि सम्बन्धको अपमान अप्सराले बुझ्न सकिन।
एक साँझ तसलिमा नसलिमको ‘फ्रान्सेली प्रेमी’ उपन्यास पढ्दै थिई। परिवारमा उही महाभारत दोहोरियो। अप्सरामाथि यस्तो आरोप लाग्यो कि परिवारको अहिलेको प्रमुख समस्या नै उही हो। त्यसैदिन बुझी, किताब पढ्नु र जीवन भोग्नु अलग रहेछ।
आमाको उही गनगन दोहोरियो, ‘रोहनसँग विवाह भए जीवनभरि रानी भएर बाँच्न पाउँछेस्।’
उसले कुनै प्रतिक्रिया व्यक्त गरिन्, यद्यपि उसलाई रानी बन्ने र तत्काल बिहे गर्ने कुनै पनि चाहना थिएन।
त्यसपछि परिवारमा कुनै दिन शान्ति भएन। कुनै न कुनै कुरालाई लिएर महाभारत भैरहन्थ्यो तीमध्ये अधिकांश बहस अप्सराकै हुन्थे।
सबैलाई शान्ति र खुसी दिलाउन अन्तिममा एउटा निर्णय गरी। तर उसको मनले बारम्बार भनिरह्यो, यो विवाह केका लागि? परिवार र आफन्तको खुसी? अथवा बाँच्नका लागि गरिएको छुट्टै प्रकृतिको मरण? या योग्य उमेर हुँदा पनि विवाह किन नगरेको होली भनेर अप्रिय अड्कलबाजीबाट आफूलाई सुरक्षित बनाउन?
आमाबुबाकी असल छोरी। आफन्तको नजरमा सुशील र ज्ञानी कन्या। समाजको नजरमा इमान्दार केटी बन्नका लागि भए पनि घरकाले तयार गरेको तिथिमिति र मिलाएको साइतमा चुपचाप मण्डपमा बसी। अग्नि साक्षी राखेर होम गर्दैगर्दा उसले आफ्ना सबै इच्छाहरूको त्यही आगोमा तिलाञ्जली दिई।
पण्डितले पढेको मन्त्र र संस्कृतका श्लोकहरूसँगै सापकोटाबाट भट्टराई भई। कौणिन्य गोत्र कि छोरी विशिष्ट गोत्रकी बुहारी बनी। श्रीमानले दस हात लामो सेतो कपडा बिछ्याए, सिउँदो भरिदियो र त्यही सिन्दूरसँग उसको सौभाग्य र पनि भविष्य जोडियो। आफ्नो जीवनको स्वामित्व आफैंसँग रहेन, ऊ कसैको निजी बनी।
बाबुले पनि समरपयामी (समर्पण) गरे।
‘मारे पाप पाले पुण्य’ यसो भनेर श्रीमानसँग हात जोडिरहँदा उसलाई लाग्यो यो संसारमा सबैभन्दा सस्तो म रहेछु। जसलाई मारे पनि पापभन्दा बढी केही लाग्दैन। माइतीघरमा उसको स्थान यति साघुँरो होला भनेर उसले कल्पना पनि गरेकी थिइन्।
श्रीमानका घर पुगेपछि उसलाई बेग्लै लोक पुगेजस्तो लाग्यो। रंगीचंगी फूल फुलेका बगैँचा। पाँच तले घर। छ वटा कुकुर। सफा र सुन्दर बाथरूम। मखमलको कार्पेट। बस्दा भासिने सोफा। एकमन सोची स्वर्ग यही हो।
अर्को मनले आफ्नो माइतीघर सम्झियो, सेतै फुलेका बाआमाका तस्बिर आँखामा आए। ‘हे भगवान् ! मलाई मात्रै यो भौतिक सम्पन्नता किन दियौ? भोकै बस्नु परे पनि म मेरो बाआमाको काखमा खुसी थिएँ, त्यही घर मलाई दरबार थियो।’
अप्सरालाई खास दु:ख थिएन। बिहानै उठ्ने, घर सफा गर्ने। चिया खाजा बनाउने, श्रीमानका लागि नुहाउन टाबेल, साबुन,कोलगेट ब्रस दाह्री काट्ने सामान र पढ्नका लागि पत्रिका ठिक्क पारिदिने र राति स्वर्गीय आनन्दको चरम उत्कर्षमा पुर्याइदिनुबाहेक अप्सराको त्यो घरमा खास काम थिएन।
गाउँमा कति धेरै स्वतन्त्रता थियो। आफ्नोपन थियो। आफू हिँडेको बाटो, जंगल आफ्ना आफन्त साथीहरू खुब सम्झनामा आउथे। बाआमाको सम्झनाले निकै नियास्रो मान्थी।
एक बिहान श्रीमानलाई अफिस निस्कनै लाग्दा सोधी, ‘भरे कति बेला आउनुहुन्छ?’
कर्कश शैलीमा जवाफ दियो, ‘यदि म सरकारी जागिरे भएँ भन्ने थिएँ पाँच बजे अफिस सकिन्छ। काठमाडौंको अस्तव्यस्त सडक र ट्राफिक जामले आधा घन्टा रोकिन परे पनि ६ बजेसम्म आइपुग्छु तर व्यापारमा कहाँ सजिलो छ? कतिबेला कहाँ जानुपर्छ कसलाई भेट्नुपर्छ टुंगो हुँदैन। केही परे म फोन गर्छु।’
‘म एक्लै दिनभरि कसरी घरमा बसूँ ?’ उसले प्रश्न सोधी।
‘मेरो नाम जपेर ध्यान गरेर बस।’ जवाफ यति सहज थियो कि तिर्खा लाग्दा के गर्नेभन्दा पानी पिउने भनेजस्तै।
यति भनेर रोहन निस्कियो। श्रीमानहरूको आफ्ना श्रीमतीहरू शारीरिक रूपमा मात्र होइन मानसिक र वैचारिक रूपमा पनि आफूमात्रै समर्पित हुन भन्ने चाहना हुँदो रहेछन्। रोहन निस्केपछि छतमा गएर ऊ गएको बाटो हेरिरही मानौं, बहुमूल्य सामान ऊबाट सधैंको लागि हराउँदैछ।
व्यस्त सडकमा साइरन बजाउँदै कुदेका एम्बुलेन्स, ट्रक, टिपर र थोक्रा बसहरूको रफ्तार। टेम्पो र माइक्रोमा झुण्डिएर यात्रा गरिरहेका मानिसहरू। नजिकैको कुवामा पानी भर्ने महिलाको भीड। त्यतिबेला उसलाई लाग्यो यो सहरमा सबै कहीँ न कहीँ जान व्यस्त छन्। उसले पनि आफू स्वतन्त्र भएर बाँच्न चाहिँ तर कहाँ जाने र के गर्ने कस्तो स्वतन्त्रता ? आफैंले पत्तो पाउन सकिन।
त्यतिबेला ऊ पिँजडाको चरीजस्तै त्यो पाँच तले भव्य महलमा पखेंटा फटफटाएर कतै उड्नका लागि बाटो खोजिरहेको सुगाजस्तै महसुस गरी। जसलाई स्वतन्त्रता र आफ्नोपन भन्ने थाहा छैन।
विवाहको धेरैपछि रोहन र अप्सराले बिहानको खाना सँगै खाए। खाना खाएपछि रोहनले पार्टी गर्न साथीहरूलाई बोलाएको जानकारी दिँदै अप्सरालाई श्रृङ्गार गरेर बस्न आदेश दियो।
अप्सराले हलुंगो कुर्था फुकालेर रेशमी साडी लगाई। हातमा सुनका चुरा। कानमा ओझनदार झुम्का, गलामा सुनको हार र अनुहारमा मेकअपसँगैै सिउँदोमा सिन्दूर लगाएर ऐनामा हेर्दै मुस्कुराउन खोजी। उसलाई आफ्नै मुस्कानले गिज्जाएजस्तो लाग्यो।
साँझ पाँच बजे रोहनका सबै साथीहरू आइपुगे। कोही व्यापारी, कोही वकिल, कोही सरकारी कर्मचारी हुन् भन्ने प्रस्ट चिनिन्थे। हेर्दा सबै विवाहितजस्ता देखिन्थे। तर कसैका साथमा पनि आफ्ना श्रीमतीहरू थिएनन्।
खाजा र पिय पदार्थहरू बाहिरबाटै मगाइएको थियो। त्यसर्थ अप्सरालाई खाजा बनाउको हतार भने परेन। रोहनका साथीहरूसँग उसले औपचारिक कुरा गरी। रोहनले कोठामा गएर बस्न इसारा गरेपछि ऊ चुपचाप आफ्नो कोठामा गई। तर उनीहरूले गरेका गफ प्रस्टसँग अप्सराको कोठामा सुनिन्थ्यो।
त्यहाँ आएका अधिकांशले अप्सराको रूप र जवानीको चर्चा गरे। रोहनलाई पनि भाग्यमानी भन्न छुटाएनन्।
बैठक कोठामा खोलेको रक्सीको गन्ध अप्सराको कोठासम्म पुग्यो। सबैले आ-आफ्नै रोजाइको रक्सी लिएका थिए। बोतल खोल्दा बोतलको आवाज र उनीहरूले बोलेका रफ शब्द पनि अप्सराको कानमा पुग्थ्यो।
रक्सीले सबैका गिलास भरिएपछि गिलास ट्यांग ठोकाएर चियर्स गरेको आवाज आयो। त्यसपछि निरन्तर ठोक्किएका आवाजहरू आइनैरहे। गिलास ठोकाउँदै एउटाले भन्यो, ‘पानी मिसाएपछि ह्विस्कीको स्वाद नै खतम।’
लर्वराएको स्वरमा अर्को पुरूषको आवाज आयो, ‘नेपालीहरूको समस्या नै यही हो पिउन जान्दैनन्’ त्यही पनि पिउनैपर्ने नेपालीहरू पिउनका लागि पिउँदैनन् झ्याप हुनको लागि पो पिउँछन्।’
कोठाभरि गलल हाँसो भरियो।
रक्सीको मातसँगै एउटा बोल्यो, ‘तपाईंले श्रीमती त गजबकै भेट्टाउनुभयो। रसिली, भरिली हेरिरहूँ लाग्ने।’
त्यस पार्टीमा सबैले आफ्ना धारणा सुनाए। उसको श्रीमानले पनि विवाह अगाडिको आफ्नो प्रेम कहानी सुनायो।
वकिलजस्तो देखिने एकजना बोल्यो, ‘तेरो तेस्रो नम्बरको प्रेमिका थिई नि कता छे अचेल?’
उसले लामो हाँसो हाँस्दै भन्यो, ‘कहिलेकाहीँ कुरा हुन्छ यार। अहिले युएसतिर छे।’
‘अँ साँच्चि रोहन त्योसँग विवाह किन नगरेको?’
‘मुस्ताङ भनेको घुम्नका लागि जाने ठाउँ हो केटा हो। सधैंका लागि बस्न होइन।’ उसले प्रतिकात्मक शैलीमा जवाफ दियो।
रक्सी र चुरोटको धुँवासँगै कोठाभरि फेरि हाँसो फैलियो।
उनीहरूबीचको पूरा संवाद सुनेपछि अप्सराले रोहनको जीवनमा आफ्नो महत्व कतिको छ स्पष्टसँग बुझी।
रक्सी खाँदै गफ गरेको हुनाले उनीहरूले आधा रात बितेको पनि पत्तो पाएनन्। उनीहरू निस्कँदा घडीमा एघार बजेर एकाउन्न मिनेट गएको थियो।
रोहन टन्नै अघाएको थियो भने अप्सरा भोकै थिई। उसले आफ्नी श्रीमतीले एक बचन खान खाएको नखाएकोसम्म सोधेन। तर उसलाई भने यौवनको प्यास लाग्यो। आफ्नी श्रीमतीको भोको शरीरमाथि उसको अघाएको शरीर हमला गर्यो।
उसले धेरै पटक प्रतिकार गर्न पनि खोजेकी हो तर पितृसत्ताको आडमा उभिएर पुरूष हुनुको गौरव गर्ने श्रीमानको अगाडि उसको केही लागेन।
धेरै बेरपछि ठूलै युद्ध जितेझैं श्रीमान लामो सास फेरर अर्कोतिर निदायो। ऊ विवश आँसु बगाएर आफ्नो भाग्यलाई धिकारीरही।
आफ्नै जीवन निरर्थक र बेकार लाग्यो।
‘यो समाजमा नारीको कुनै हैसियत, इच्छा, चाहना र सपना हुँदैन? के बिहे यति भयानक कुरा हो र? आफ्नो बाल्य, युवा, र जवानी अवस्थाको बली चढाउनुपर्ने ?’ यस्तै अनुत्तरित पश्न सम्झेर ऊ निदाउन सकिन् ।
मनको पीडा भुलाउन फेसबुक खोली। इनबक्समा दुइटा नयाँ मेसेज आएको रहेछ। मेसेज सुयोगको थियो।
सुयोगको मेसेज देखेपछि उसलाई एक मन रिस उठ्यो, अर्को मन पीडा भयो।
उसले लेखेको थियो ‘आज तिम्रो धेरै याद आयो अप्सरा।’
सुयोगको उक्त मेसेज पढेपछि ऊ रून पनि सकिन, हाँस्न पनि सकिन। तर मनको कुनाकुनामा उसको चित्र नाँच्न थाल्यो।
‘उठउठ अबेला भैसक्यो।’ श्रीमानको आवाजले ऊ ब्युँझिई।
हिजोका जुठा भाँडा त्यही छरपष्ट थिए, साथै श्रीमानको सेवा र घरका कामहरू नियमित नै थिए। उसले हताहतार गरेर सबै काम सकाई र श्रीमान बाहिर निस्कन लाग्दा सधैंझैं उही प्रश्न सोधी, ‘कति बेला फर्किनहुन्छ?’ उही जवाफ पाई।
रातिको अनिद्राको कारणले ऊ दिनभरि मस्त निदाइछे। साँझमा रोहनले फोन आएपछि उसको निद्रा भंग भयो। रोमान्टिक पारामा आवाज आयो, ‘हेल्लो श्रीमतीजी खानामा के पकाउनुभयो त?’
‘केही पनि पकाएको छैन।’ निद्राकै लयमा जवाफ दिई।
‘के हो आज भोकै मर्ने विचार छ?’ रोहनको आवाज कर्कश सुनियो। अप्सराले तत्कालै के जवाफ दिने सोच्न सकिन। यद्यपि अप्सराको यति छिट्टै विधवा बन्ने इराधा थिएन।
साँझमा घर फर्केर रोहन सोफामा पल्टियो।
उसले मधुर आवाजमा भनी, ‘त्यो धुलो भएको कपडा र जुत्ता खोलेर फ्रेस भएर आउनुस्।’
‘तिमीले फुकालिदिए कसो होला ?’ उसले गोडा तन्कायो।
आफ्ना मसिना औंलाले नम्रतापूर्वक जुत्ता मोजा खोलिदिई। मोजाको गन्ध नाकमा पुगेर पेट बटारिए आयो। बाथरूममा गनाउने मोजा फालेपछि लामो सास फेरी। त्यतिबेला भने उसलाई आफू एउटी नोकर्नीभन्दा माथि लागेन।
उसले झट्ट देह व्यापार गर्ने महिला सम्झी।
‘मभन्दा त बरू उनीहरू नै खुसी होलान्। आफ्नो चाहना, इच्छा र रहर समर्पित गर्नुपर्ने हाय ! यो कस्तो जिन्दगी ।
लोग्ने र देहव्यापारी महिलाको ग्राहकबीचको फरक के छ होला? झट्ट मनमा एउटा फरक आयो ग्राहक पैसा तिरेर हरेक रात आफ्नो जवानी बिसाउन पाउछ तर लोग्ने श्रीमतीलाई दिनुपर्ने कुरासम्म पनि नदिई अंकुशबाट उम्किन पाउँछन्। एकरूपले उसले आफूभन्दा देहव्यापारी महिलाहरू नै बढी स्वतन्त्र भएको अनुभव गरी।
यस घटनाको केही दिन बितेको हुँदो हो।
दिनभर घरमा एक्लै बस्दाबस्दा उसलाई आफ्नो दिमागमा खिया लागेकोजस्तो अनुभूति भयो।
एकदिन रोहनसँग आग्रह गरी, ‘मलाई त दिन काट्न निकै कठिन भयो। जागिर पनि गर्छु पढाइ पनि अगाडि बढाउँछु हस्?
रोहनका आँखामा एकपटक बिजुली चम्कियो।
‘तिमी अब पढेर हाकिम बन्न चाहन्छौ ? के अभाव भयो ? केमा कम गरेँ मैले’ चर्केर भन्यो।
उसको आत्मसम्मानमा गहिरो चोट लाग्यो तर पनि मौन बसी। हुन त रोहनले पहिलो भेटमा नै तिम्रो नाम के हो भनेर तिमी सम्बोधन गरेर कुराकानी सुरू गरेको थियो।
कुराकानीको क्रममा रोहन प्रश्न सोधिरहन्थ्यो,ऊ उत्तर दिइरहन्थी। त्यतिबेला ऊ न त रोहनलाई उसले सोधेजस्तै प्रश्न सोध्न सक्थी न तिमी भनेर सम्बोधन गर्न सक्थी, न त आफूलाई तिमी भनेकोमा उचित मर्यादा नपुगेको भनेर प्रतिवाद गर्न सक्थी।
गरिब परिवारकी केटीले सहरिया धनी व्यक्तिसँग विवाह गर्दाको दुःख भोगी।
सम्पन्नताको आडमा उभिएकाहरूले सम्बन्धलाई हस्तक्षेप र हेपाइबाट मात्रै चलाउन खोज्दा रहेछन् भन्ने अप्सराले गहिरोसँग बुझी।
आमासँग मन भरिने गरी रून मन लागेको थियो। तर फोन गरेर दु:ख सुनाउने विचार गरिन।
‘त्यहाँबाट मैले पाउने के नै हो र ? त्यो घरमा पनि मलाई यो घरको लागि तयार पार्नुभन्दा बढी के नै गरियो र? श्रीमानको घर गरेर खानु नै आइमाईको सबैभन्दा ठूलो धर्म हो। आईमाई भएपछि मुखमुखै लाग्नुहुन्न सबै सहेर बस्नुपर्छ। आईमाईको आफ्नो घर हुँदैन। आफ्नो रूप, गुण र कामले रिजाएर पराइ घरलाई आफ्नो बनाउनुपर्छ। तँलाई सम्पन्न ठाउँमा दिएका छौं। सानातिना कुरा माइतीमा नसुनाउनू, सहनशील हुनू, सबैको मन राख्नू’ , भनेर आफ्नी आमाले दिएको अन्तिम उपदेश सम्झी।
त्यसबीचमा सुयोगको सम्झनाले खुब मन पाक्यो। प्रेम के हो आत्मीयता के हो ? प्रेमको महत्वको त्यतिबेला आएर बुझी। सुयोगसँगको नियमित कुराकानी पनि सायद प्रेम रहेछ। हुन त उता सुयोगले पनि निकै समयपछि अप्सराको प्रेम महसुस गरेको हुँदो हो।
समय निकै अगाडि बढेकाले एक अर्कालाई सम्झेर तड्पिनुको विकल्प थिएन।
सुयोग दुखी होला भनेर अप्सरालाई सुयोगको मेसेजको प्रतिक्रिया दिन मन लागेन। सुयोगले पनि अप्सरालाई समस्या पर्छ भनेर मेसेज गर्न छोडिदियो। एक अर्काको खुसीका लागि कति दु:खद् समय भोगिरहे त्यसको हिसाब दुवैसँग थिएन।
कहिलेकाहीँ सुयोगको टाइम लाइन नियाल्थी। कुनै केटीले सुयोगको पोष्ट र फोटोमा लभ रियाक्ट गरेको उसलाई पटक्कै मन पर्दैनथ्यो। ऊ चाहन्थी सुयोगको कोहीसँग प्रेम नहोस्, विवाह नहोस्।
सम्झनाका छालसँग बगेर धेरै पटक विचलित भइरहन्थी। अरूसँग बोल्ने, कुरानकानी गर्ने क्रम निकै कम भएको थियो चुपचाप घरको काम गर्थी, आफैंसँग रमाउने कोसिस गर्थी।
असह्य भएपछि श्रीमानसँग फेरि भनी, ‘म त पिँजडाको चरीजस्तो पो भएँ, कृपया मलाई जागिर गर्न दिनुहोस् न।’
श्रीमान् जंगियो।
‘मूर्ख आईमाई, के कमी भयो ? तिमीले गर्दा मेरो इज्जत जाने भयो। के तिमीलाई लाउन खाउन कमी गराएको छु र? तिमीलाई के नपुग्दो छ? यत्रो धन सम्पति हुँदा पनि तिमीले जागिर गर्दा मेरो इज्जत के होला? अबदेखि घरमा यो सवाल उठ्यो भने राम्रो हुँदैन।’
अप्सरालाई सोफामा धकेलिदिएर बाहिर निस्कियो।
उसले कुनै प्रतिकार गर्नुपर्थ्यो, गरिन। रून पर्थ्यो, रोइन। तर अप्सराको मनमा भने अनुत्तरित प्रश्नहरू खेलिरहे।
‘के मेरो टन्नै कमाइ भएको भए रोहन उसको कमाइ कुरेर घरमै बस्दो हो त? के श्रीमानहरू आफ्नो कमाइ र सम्पत्तिमा नै श्रीमतीहरूले गर्व गर्नुपर्छ भन्ने सोच्छन् त? के श्रीमतीको कमाइ हुने र श्रीमतीहरू आयस्रोतको प्रमुख हिस्सा हुने र श्रीमानहरू घर घन्दामै बस्नुपरे उनीहरू श्रीमतीको कमाइमा गर्व गर्न सक्छन् होला त?’
उसलाई कताकता लाग्यो अपवादबाहेक एक्काइसौं शताब्दीका शिक्षित पुरूषहरू पनि महिलाले र श्रीमतीले प्रगति गरेको देख्न त चाहने रहेछन् तर आफूले भन्दा धेरै चाहिँ होइन।