कविता
एउटा दुर्घटना
ऊ अचेत छ
चिकित्सक
उस्को
छाती थिचिरहेका छन्
पुनः श्वासप्रश्वास
फर्काउन
त्यो देखेका
उसका साथी
सबै निराश छन्।
त्यस्तैमा
उनी कारमा आउँछिन्
सुटुक्क भिड छलेर
दोपट्टाको घुम्टोबाट
भित्र चिहाउँछिन्
जतिखेर
उनका ओठहरू
थर्थर काँँपि रहे
अनि एकाएक
पर्स खोलिन्
आँसु लुकाउन
कालो चश्मा लगाइन्
उनको त्यो पर्स भित्र
अचेत उसैलाई
अंगालेको तस्बिर थियो।
त्यही भिडमा
कसैले उनलाई सोध्यो
कहाँ आको ?
उनी बोलिन् –
मम्मीको औषधी लिन।
उफ्, आज
कस्तो भिड रहेछ
किन हो?
उनी जिब्रोले
झूट बोले पनि
आँखाले सत्य
बोलिरहेका थिए
कालो चश्मा
छिचोल्दै
आँसु
गालामा
टिलपिलाई
रहेका थिए।