व्यंग्य
चलचित्र वा टेलिश्रृङ्खलाको श्रीगणेशमा 'यो कथा काल्पनिक घटनामा आधारित छ, कसैको जीवनसँग मेल खाए संयोग मात्र हुनेछ' भनेर लेखेको वा भनेको हामी सबैले देखेका र सुनेका छौं। यथार्थ घटनामा चलचित्र बनाउन नपाइने पक्कै पनि होइन किनकि बायोपिक हामीले प्रशस्त हेरेका छौँ भने चलचित्र वा टेलिश्रृङ्खलामा यस्तो किन लेखिन्छ?
यो एउटा खोजिको विषय तर यस्ता व्यवसायिक कुराहरू खोज्न सजिलो छैन। तसर्थ यस्तो लेख्नुको आफ्नै महत्व छ। त्यसको बारेमा यहाँ चर्चा परिचर्चाको कुरै नगरौँ तर यहीँ महत्वलाई आधार मानेर यो व्यङ्ग्य पनि काल्पनिक कुराहरू र घटनाहरूमा आधारित छ।
कुनै एयरलाइन्स कम्पनीको जहाजमा, चाउचाउको खोल वा बट्टामा, मोटर बाइकको डिकीमा, पेट्रोलको ट्यांकीमा, डिजेलको ट्यांकीमा, पानीको ट्यांकीमा, बसको सिटमुनि, बाटो हिँड्नेको झोलामा, कर्मचारीको टेबलमा वा टेबलमुनि, कुर्चीको तल, कर्मचारीले अत्तालिएर झ्याल बाहिर फाल्दा, अख्तियारले छापा मारेको बेला भेटिएको, राजश्वको टोलीले गस्ती गर्दा पैसाको बण्डल भेटिएको वा लुकाएको कामकुरासँग यसको कुनै सम्बन्ध छैन। तर कुनै यस्तै घटनाक्रमसँग मिल्न गएमा संयोग मात्र हुनेछ। यस्ता संयोगले धनको महत्व, लोभ र प्रयोगमा कुनै कमी ल्याउने छैन।
धनलाई महत्व दिएर 'धनै छ सर्वोच्च सार जे छ सबै धनैभित्र लुकिरहेछ' भन्ने गरिन्छ। धनको बारेमा यो भनाइ त्यत्तिकै भन्ने गरिएको पक्कै पनि होइन। धनको महत्व, आवश्यकता, मानिसले धनलाई दिने प्राथमिकता, धनबाट जन्मने घमण्ड, रवाफ, धनप्रतिको लोभ, धनको माध्यमबाट नहुनपर्ने काम भएको र हुनपर्ने काम नभएको आदि जस्ता कामकुराहरूलाई टेकेर नै यस्तो भन्ने गरिएको हुनुपर्छ।
त्यस्तै धनको महत्वलाई थप प्रष्ट पार्न 'धन भनेपछि महादेवको तेस्रो नेत्र पनि खुल्छ' भन्ने उखानलाई पनि अगाडि तेर्स्याउन सकिन्छ। यहाँनिर महादेवले के कामको लागि कुन अवस्था, समय र परिस्थितिमा तेस्रो नेत्र खोलेको हो त्यसको बारेमा पनि चर्चा परिचर्चा गर्नुपर्ने हो तर अहिलेलाई त्यसको पछाडि पनि नलागौं। यहाँनिर हामी पनि धनको पछाडि मात्रै लागौं। सके तलमाथि, दायाँबायाँ गरेर कमाउँ नसके थुकनिलेर बसौं।
हाम्रा प्रसिद्ध व्यङ्ग्यकार महोदयले भुँडीको विभाजन गरेर सबैलाई चकित पारेजस्तै हामीले पैसालाई सानो पैसो, मझौला पैसो, ठूलो पैसा र ज्यादै ठूलो पैसा अथवा ज्यादै थोरै पैसो, थोरै पैसो, धेरै पैसा र ज्यादै धेरै पैसा गरी अनेक प्रकार र तरिकाबाट विभाजन गर्न सक्छौं। अहिलेलाई यिनै तरिकाहरूलाई अगाडि राखौँ।
धेरै वा थोरै जतिसुकै किन नहोस पैसा सबैले लुकाउँछन्। कोसँग कति छ सामान्य अवस्थामा भन्दै पनि हिँड्दैनन्। बैंकमा गएर कसैको नाममा कति पैसा छ भनेर सोध्यो भने बैंकले पनि भन्न मिल्दैन भन्छ। तैपनि खोइ कसरी हो ज्यादै धेरै पैसा वा ज्यादै ठूलो पैसा कोसँग छ? त्यसको नामावली विभिन्न पत्रिकाले निकाल्छ अर्थात् सार्वजनिक गरीदिन्छ।
यस्तो गोप्य कुराको जानकारी कहाँबाट कसरी पाउँछन्? उनैले जानून् तर सानो पैसो, थोरै पैसो वा सुख्खा पैसोको बारेमा कहीँ कतै चर्चा गरिँदैन। तसर्थ थोरैको बारेमा खै किन हो पत्रिकाले पनि जानकारी पाउँदैन, फेरि अर्कोतिर सानो पैसोले हुने कामलाई नहुने र नहुने कामलाई हुने बनाउने क्षमता पनि राख्दैन। तसर्थ समाजमा यसखाले पैसोको प्रभाव नगन्य हुन्छ। यसर्थ सानो पैसोमा कसैको नजर लाग्दैन।
यही भएर होला सानो पैसो लुकाएको वा भेटिएको खबर कही कतै आउँदैन। सानो वा थोरै पैसोमा पीडा मात्र मानिन्छ। त्यसमा सन्तोष र खुसी कति धेरै लुकेको छ, बसेको छ, हाँसेको छ, अटाएको छ आदि जस्ता कुरा केही पनि हेरिँदैन। त्यसैले यसको चर्चा र परिचर्चा पनि हुँदैन। अतः हामीले पनि सानो पैसो कसले कहाँ लुकायो, कसले कहाँ भेट्टायो त्यसको बारेमा चर्चा परिचर्चा नगरेकै राम्रो।
कताकतै कुनै स्थानीय धार्मिक वा सांस्कृतिक उत्सवमा पैसाको माला बनाएर लाउने वा लगाइदिने चलन छ। त्योबाहेक पैसा देखाउने वा देखाउँदै हिँड्ने चलन कहीँकतै भेटिँदैन। त्यसैले पैसा भनेको लुकाउन वस्तु हो। नलुकाउने हो भने अरुको आँखा लाग्ला, चोरिएला, हराउला भन्ने डर पनि रहन्छ।
औषधोपचारको क्रममा पैसाको कारण कतिका ज्यान गए, कतिका ज्यान बचे हिसाबकिताब गरी साध्य छैन। यस्ता घटनालाई आ-आफ्नै सौभाग्य वा दुर्भाग्य भनौं। आ-आफ्नो छातीमा हात राखेर एकछिन सोचौं। मान्छे र ऊसँग भएको सम्पत्ति वा पैसाअनुसार केही फरक होला, त्यो भिन्दै कुरा हो। तैपनि साथमा पैसा हुँदा र नहुँदा कस्तो फरक हुन्छ? थोरै पैसा वा सानो पैसा हुँदा सामान्य अनि धेरै हुँदा छटपटी, डर त्रास, चीटचीट पसिना आए जस्तो हुँदैन त?
लाखौं पैसा झोलाभरि बोकेर हिँड्दा चिनेकै मान्छे, आफन्तले बाटोमा पछाडिबाट के छ भन्दै नजिकै आउँदा झसंग भइन्छ भने आफ्नै पैसा चाउचाउको खोलमा, पानीको ट्यांकीमा, बाइकको डिकीमा वा टेबलमुनि लुकाउँदा के बिग्रन्छ? आम्दानी कसरी भयो, गैरकानुनी आम्दानी गर्ने भन्नु होला त्यसको कुरा छोडौँ। आम्दानी जे जसरी भए पनि लुकाएको त आफ्नो भएपछि मात्र न हो। लुकाउने काम सबैले गर्छन् भने यसैलाई जल्दोबल्दो विषय किन बनाउने?
मानिसको स्वभाव पनि अचम्मको छ। नदेखाए पनि हुने आफ्नो शरीरको अङ्ग देखाउन तयार होला तर पैसो देखाउन तयार हुँदैन। यस्तो अवस्थामा पैसा लुकायो भनेर किन र केका लागि हल्ला गर्ने? यहाँनिर पैसा कहाँबाट आयो भन्ने प्रश्न फेरि पनि उठाउन सकिन्छ। त्यस्तै अर्कोतिर जहाँबाट आए पनि, जसरी आए पनि पैसा त लुकाउने मान्छेकै हो। राजश्व ठगेर कमायो, भ्रष्टाचार गर्यो वा तस्करी गर्यो अनि कमायो। उद्योग, व्यापार व्यवसाय नगर्नेको अकुत सम्पत्ति कमाउने आधार यिनै त हुन्।
यसको प्रमाण पेश गर भन्नु होला। यो पंक्तिकारसँग कुनै प्रमाण छैन तैपनि राजश्व ठगेको, तस्करी गरेको भन्ने कामका सम्बन्धमा अदालतमा र प्रहरीकोमा उजुरी पुगेको वा प्रहरीले समातेको समाचार यदाकदा बाहिर आएको पाइन्छ। यसैलाई प्रमाण मान्न पनि सकियो।
अर्कोतर्फ नेपालमा भ्रष्टाचार हुन्छ भन्ने प्रमाण पंक्तिकारसँग नभए पनि ट्रान्सपरेन्सी इन्टरनेशनलसँग छ। यसले प्रत्येक वर्ष भ्रष्टाचार गर्ने वा हुने देशको सूची सार्वजनिक गर्छ। जसले हामीलाई माथिल्लो स्थानको भ्रष्टाचार हुनेमा देखाएको छ भने थप प्रमाणको पछि किन लाग्ने?
हामीकहाँ सामान्यतया यिनै तरिकाले गैरकानुनी पैसा कमाउँछन् अनि लुकाउँछन्। लुकाउँदा मिलाउन पर्ने हो, त्यो गर्न सकेनन्। फरक यहीँनिर पर्न गयो। पैसा धेरै-थोरै कति छ सो हेरेर स्थान चयन गरी घरमा, पर्समा, बाकसमा लुकाउन पर्ने। त्यसो नगर्नाले बिग्रियो। पहिला-पहिला खाल्टो खनेर लुकाउँथे रे। जसले गर्दा लुकाएको पैसा भेटाउन कठिन हुथ्यो। अचेल पैसा लुकाउने तरिकामा फरक पर्यो।
चाउचाउ मिठो हुन्छ। काँचो वा पकाएर जसरी पनि खान सकिन्छ। त्यसैले यसको बट्टा अनि खोलमा सबैको आँखा पर्छ। यस्तो भाँडोमा लुकाएको पैसा सजिलै देखिन्छ। त्यस्तै पेट्रोल खानी हामीकहाँ छैन र यो मूल्यवान छ। यसको ट्यांकीमा पनि सबैको आँखा लाग्छ, पानीको समस्या पनि हामीकहाँ कम्ती छैन। तसर्थ पानीको ट्यांकीमा पनि सबैको आँखा पर्छ। यसर्थ लुकाएको पैसा नदेखाउने हो भने लुकाउने स्थान र तरिकामा परिर्वतन गर्न आवश्यक देखिन्छ।
आफैले लगाउने कपडामा भित्री खल्ती बनाएर पैसा लुकाइन्छ भने बाहिरी भाँडोमा पैसा किन राख्ने? किन लुकाउने? केटाकेटीले देख्ने र भेट्टाउने ठाउँमा पैसा नराख है भन्दै हामीले केटाकेटीहरूको अगाडि कुरा गर्दछौं। यसरी केटाकेटीलाई सानैदेखि पैसा लुकाउन वस्तु हो भनेर सिकाउछौं। त्यसैले ठूलो भएपछि सबैले पैसा पायो भने लुकाउने गर्दछन्। आफ्नो पैसा मात्र होइन आफ्नो जिम्मामा रहेको पैसा समेत लुकाउने गर्दछन्।
उदाहरणको लागि बैंकलाई लिउँ। पैसैपैसा हुने र कारोबार गर्ने स्थान भनेकै बैंक हो। बैंकमा पैसा लिन वा जम्मा गर्न जाऔँ लाइन लगाएर एक-एक जनालाई काउन्टरको सानो प्वालबाट खुसुखुसु लिने वा दिने गरिन्छ। सकेसम्म मिलेसम्म अरुलाई देखाउने गरिँदैन। अलिकति धेरै पैसा हुनासाथ झोलामा लुकाएर हिँड्ने गरिन्छ।
अझ अगाडि बढेर बैंकका ढुकुटीहरूलाई हेरौँ। बैंकको ढुकुटी ठूलो र बलियो घरको भित्र वा माथिल्लो तलामा बलिया ढोको सहितको कोठामा चार पाँचवटा ठूल-ठूला ताला लगाएर कसैले नदेख्ने गरी लुकाएर राखिन्छ। थप सुरक्षाको लागि हतियारधारीको पहरा समेत बाहिरबाट दिने गरिन्छ भने मोटर बाइकको डिकी, पानी ट्यांकी, पेट्रोल ट्यांकी, बसको सिटमुनि, चाउचाउको बट्टाभित्र पैसा लुकाइनु कुनै नौलो कुरा होइन। उल्टै नयाँ-नयाँ स्थानबाट लुकाएको पैसा भेट्टाइनु संयोग मात्र हो कि?