उनीहरूको खेल मैदानमा
मर्यादापालकहरूको हातेसाङ्लोको
वारि र पारि छन् खेलाडीहरू
तमासा छ यहाँ
रमाएका छन् उनीहरू
समय समयमा
विश्राम हुन्छ र
पक्ष फेरिन्छन्
तर
खेलाडीहरू
हुन्छन् उनै
वारि र पारि
दौडन्छ्न् र उफ्रन्छ्न्
कहिले च्यात्न खोज्दछ्न्
कहिले जोगाउन खोज्दछन्
हिजो च्यात्न दौडेकाहरू
जोगाउन खोजेजस्तो गर्छन्
हिजो जोगाउन तम्सेकाहरू
च्यात्न उफ्रन्छन्
नियम बनेको छैन खेलको
रेफ्री छैन उनीहरूको
त्यसैले
कुनै लय छैन खेलको
कुनै ताल छैन नाचको
कुनै सुर छैन चिच्यावटको
उनीहरू त
बाँदरजस्तै उफ्रन्छन्
गधाजस्तै घुम्छन् र
स्यालजस्तै कराउँछन्
एकोहोरो चिच्याहट
हुन्छ र हुन्नको गर्जित स्वर
टेबल ठटाएको कर्कश आवाज
सबै नै राष्ट्रिय खेल।