बाकसमा राखिएको कागजको टुक्रा
ठाउँ-ठाउँमा छर्दै, बुझ्दै
पर्खेर बसेको धेरै भयो
त्यसभित्रको अंक प्रतिशत
धेरै जोडेँ, घटाएँ तर उसलाई भेटिनँ।
मैले सुनेको थिएँ
धेरै अंक, प्रतिशतले ठाउँ दिन्छ भन्ने
आज ठाउँ र साउँ, दुवै गुमनाम छन्
सायद घुम्दै छन् होला, मलाई खोज्दै छन् होला।
मैले खोजेको, पर्खेको धेरै भयो
न मैले भेटाएँ न ऊ आयो
न खबर र छनक पठायो
सुन्छु मेरो कागज उसले डस्टबिनमा हाल्यो रे।
एउटा डिग्रीधारी सुनाउँदै थिए
प्रथम डिभिजन डस्टबिनमा भेटियो रे
ऊ भन्दै थियो
धेरै पहिले उसको पनि अर्कोले भेटाएको थियो!
उसलाई पिर परेछ सायद
आज ऊ ठाउँ-ठाउँमा त्यस्तै कागज बटुल्न थालेको छ
प्रत्येकका प्रतिशत हेर्दै, छान्दै, छाम्दै
बटुल्दै आफ्नो आँसु थाम्दै
ती कागजका टुक्राले आँसु पुछ्न जानेको छ।
त्यो देख्दा मन चिसो भएको छ
दराजको कुनामा बसेको त्यो टुक्रा
मलाई हेर्दै दिनहुँ गिज्जाइरहन्छ
प्रश्न गर्छ, कति घुमाउँछस्, बाँड्छस्
भन्छ म थाकिसकेँ, लज्जित भैसकेँ
बन्द गर तेरो टुक्राको यात्रा भन्दै चिच्याइरहन्छ
तेरो औकात हेर् भन्दै बारम्बार घोचिरहन्छ।
त्यो कर्कश चित्कार सुन्दा
शरीरको तापक्रम घट्दा
ती जिन्दगीका अंकहरु आँखा वरिपरि घुमिरहन्छन्
मस्तिष्कमा खेलिरहन्छन्
पुनः यात्रा जान मन लाग्छ, आँखा डुलाउँ झैं लाग्छ
भेटिने आशामा, पाउने अपेक्षामा।
बाकस दराजको त्यो टुक्रा
जो बारम्बार जलाउँछ, जगाउने नाममा
अब चिस्सिएको मनलाई
न्यानो दिन्छु, मस्तिष्क र आँखालाई आराम दिन्छु
हराएको जागिरलाई अन्त्य गर्छु
आज म त्यसको ताप ताप्दै छु
त्यसको खरानीभित्र अस्तु बटुल्दै छु।
कुनै दिन गंगामा बगाउने छु
मुक्त हुनेछ, खोज्न बन्द गर्नेछु।