बाबु,
किताब छपाउँछु
न आफू हाल्छु
न तँलाई भन्छु।
म छापिहाल्छु नि
पैसा पर्दैन
विदेशी पैसाले
साहित्यको मर्म बुझ्दैन/चिन्दैन
बाबु, तैंले डलर पठाउनु पर्दैन।
नानीबाबु
गर्भमा आए
खुसी भयौँ
यो सतर्कता
त्यो सतर्कता
अपनाऊ भन्यौँ।
भन्यौँ-
यसरी घुच्चुकमा तेल दल
घोप्टो पारेर
डडेल्नु माड
पुराना नाना
तोरीको सिरानी छान भन्यौं।
खान नमागे नि ख्वाऊ
दूध चुसाऊ, खाना कोच्याऊ
बटुकामा र'को
आफू खाऊ
भनी सिकायौं।
नातिनातिना बढे
तिनको एउटा भाषा
हाम्रो अर्को भो!
अब त हेराहेर मात्र
कुरा यत्ति मात्र भो।
पछि त थ्याङ्कु र
आके छोटा-छोटामा
समय गो
घरको कुरा
सार्वजनिक कसरी गर्नु हो!
सोचें, सम्झिएँ
घाँटीको निकालेर
ख्वाउँथी
हतार-हतार खालान् भनि
मेरा थालको झिकेर दिन्थी
नाबालक छन्
सन्तान हाम्रा भन्थी।
अस्ति नै बुहारीले नआउनू भनी
खै कसरी हो
चम्चाले खान
टाई लाउन जान्दैनन् भनेर जानी।
पछि मेसेन्जरमा कुरा भए
क्यामरा अफ हुँदा
बुझेँ उँदारू त
दारूमा लठ्ठ थिए।
पछि किताब छाप्छु ला'गो
घर, परिवार,
गर्न पर्ने/नगरे हुने
अर्ति मिसिएको
किताब छापेँ।
बसेर पिसाब फेर्नू
यसरी सुत्नू, उठ्नू
यौन कार्य यसरी गर्नू
शास्त्रानुसार सबै भनेँ
आमा लजाउँदै थिई
अचेल तीन किलासका'ले
मोबाइलबाट जान्दछन्
के सिका'को? भनी।
प्रेसबाट
किताब केही ल्याएम्
केही प्रेसमा थिए
कोरोना प्रिय भएम्।
सद्गद् गर्न नपाए नि
काजक्रिया गर्न
सात समुद्र पारिबाट
छोरा-बुहारी
छोरी-ज्वाइँ
नातिनातिनाको जुलुस आए
शोक कार्यक्रम
उत्सवमय बनाए।
कोरामा पत्रपत्रिका
मोबाइल, एफएम सबै चलाए
गर्न हुने नहुने कुरा सङ्केत शोकमा भए
यताउता चियाउने
ब्लु फिल्ममा रमाए
जे होस् बिजी लाइफवालाले
ईजी समय पाए।
कोहीले छेर लागेका निहुँमा
अस्पताल बास छाने
कुनैले पिसाब गर्न जाँदा नि
ह्विस्की ताने
समय हो भनेँ
शोकमा छन् ठानेँ।
आमा भन्थी-
तिमी पहिला निधन भए
राम्ररी काजक्रिया गर्दिन्छु
वरषीमा गाई दान दिन्छु
तिथिमा बाउको श्राद्ध गर भन्छु।
भनेजस्तै भो
म पहिला गएँ
सालघारीका
हरिया दुना खोचामा पानी पाएँ
पिशाच थिएँ
पितृ हुनेमा रमाएँ।
काम सकियो
सेता लुगा लगायो- फुकायो
मासिक खिचियो
छिटा गुरूले भनेको मानियो
एकछिन ला'का धेरै लुगा फालिए
तल्ला पल्ला घरका लागि लुगा दसैँ भए।
छोराबुहारीहरू जुलुस झैं कुदेर प्रेस गए
साहुलाई भने
किताब यतिका किन छापेको?
घरमा, कोठा-भर्याङ
चोटामा किन थन्का'को?
सबै फिर्ता ल्याऊ!
बाउले दे'को धन अंशियार हौं
शेषपछि खाने
फिर्ता पाउँ।
हुन्छ!
गल्ती भो क्षमा पाउँ
घर लगेका किताब ल्याउँछु
हजुरका बाउले दे'को सबै धन दिन्छु
आय व्ययको कुरा रहेन
हजुरहलाई
दु:ख भो सबै फिर्ता दिन्छु।
कृति कथ्दा, लेख्दा
अनि उहाँले खाए नखाको थाहा छ
सबै पैसा तिर्छु ल
चेक दिँदा हुन्छ?
किताब छाप्ने मेरो रहर
अब साहित्यको
किताब छाप्छु
कवि सम्मेलनमा
एक-एक वटा कविता पढ्छु
मनमा लागेको गर्छु
प्रकाशक खोजिन्
नानीकी आमा
म किताब छाप्छु।