बालापनलाई सजाउनका निम्ति रंग भेटिएन। त्यही खोज्ने खुसीमा फर्कनै बिर्सिएछु। म त हराइसकेछु। सानो रातो कपडाले बेरिएको काखमा सजिएको सुन्दर व्यक्तिको ठाउँ खाली थियो।
आमाको सारीको टुप्पो समाएर दौडने ग्रुपमा खोजेँ, बाबाको काँधमा दौडँदै गरेको बच्चाहरूको भिडमा खोजेँ तर भेटाइनँ मैले म भित्रको न्यानो बालापन। साना कक्षा कोठामा गाडिएका बेन्चमा भेटिनँ आफूलाई। बाँसका सुपलामा चिप्लिने रहरमा हरेक चौर चिल्लै पारिन्थो तर त्यहाँसम्म पुग्दा पनि भेटिनँ आफूलाई। म त हराइसकेछु।
गरिबको काखमा हुर्किएको म, धन कमाउने निहुँमा हराएछु। साँच्चै मित्रताको एकै नम्बरमा पर्ने बगरका ती ढुंगासँग छाती टाँसेर सुत्ने म, त्यो बगरको वरिपरि फेला परिनँ। बालापनको सुन्दर सहरमा रमणीय वातावरण खोज्दाखोज्दै आफन्तै आफन्तको माझमा पुरिएछु क्यारे, म त हराइसकेछु।
मेला हेर्न गएको बच्चाजस्तै नाम र थर बोल्न नजान्ने जस्तो, मृगहरूको बथानमा भाग्दा भाग्दै छोडिएको मृगजस्तै जीवनको कहानी नै भुलेर हराएछु। जीवन उज्वल बनाउन विश्वासको झोला बोकी हिँडेको म चारतले भवनको साँघुरो कोठाभित्र हराएछु। म त हराइसकेछु।
मकै र भट्ट भरेर ठूलो जंगलमा बाख्राको लस्कर लिई हिँड्ने बालक म, आज बालापन छाडी युवावस्थामा फर्कनसाथ हराएछु। बालापनमा किताबको भारीले च्याप्दा नहराएको म आफ्न्तै आफ्न्तको भिडमा हराएछु। धनी बन्ने र सबैलाई आफ्नै बनाउने रहरमा म त हराइसकेछु।
लाहुर जाँदा तल्लाघरे बाले दिएको बिस रुपैँयाको खुसीमा खोजे तर भेटिइनँ म। बाँसका ठेलागाडा बोकेर घन्टौँ बाहिर डुल्दा नहराएको म आज सपना देख्ने सहरमा हराएछु। मेरी आमाको काखमा रहेको थाङ्ग्रामा, बाबाको काँधमा, हजुरबुबाको साथमा, हजुरआमाको ओच्छ्यानमा कतै भेटिनँ। साँच्चै म त हराइसकेछु।
बालापनले नियाल्न नभ्याउँदै नियालिसकेछन् ती वयस्क पनका सभ्यताले। त्यसैले त होला सायद म आफैभित्र हराइसकेको। साँच्चै घुलिएको छु कि क्या हो म? बैँसालु नजरका अनगिन्ती पानाहरूका माझ सभ्यता हराए जसरी आफैभित्र नभेटिने गरी म त हराइसकेछु।
किताबका पाना पल्टाए जसरी पल्टिएछ सभ्यता। विश्वसामु प्रख्यात बनेका अश्लीताका प्रश्नहरू खडा भएछन् आँखा अगाडि। हो, म त हराएछु। शिक्षा भित्रका इमानदारीताका पाठभित्र पनि भेटिइनँ म। भेटिइनँ साँच्चै समुन्द्रपारि टल्किरहेका हिमालका काखमा, प्रकृतिको मिठासपूर्ण बताससँगै। कलकल बगिरहेको पानीको बहाबसँग मित्रता गाँस्न अनि शीतल वेगको हावासँगको प्रेममा सामीप्यता जोड्न सकिनँ, म त हराएछु।
हो, हराएछु मधुर बोकेको सुवासको छहारीमा। हराएको मान्छे म, अज्ञानताको अँध्यारोको बहाब चिर्दै उज्यालोको स्पर्श गर्न लम्किरहेको मान्छे। म त हराइरहेछु। नाकभरि सिँगान बोकी बलात्कृत दिदीका सपना पूरा गर्ने रहरमा बेचिएको पो रहेछु। साँच्चै बिलासीका सोचहरू पिँठयूमा बोकी लर्को लगाएर हिँडेकाहरूको माँझमा मिचिएको पो रहेछु। हो, म त हराएछु।
विश्व युद्धको नयाँ अंश आएछ क्यारे, नारीत्व सुनिश्चितताको नाममा प्रहार भइरहेछ। बाँकी नराखी मातृत्व पुरुषवादी बनिदिएछ समाज। बिम्ब प्रतिबिम्ब हुँदै फेरिएछ मुहार। फेरिएछन् ती उच्चभाव बोकेका मन्त्रहरू, तर म त हराएछु।
संस्कार र सुमधुरताका वाणीहरू सुन्न नपाउँदै, कलकल हावाको मिठास नबुन्दै, सुमधर प्रतिध्वनीको रंगमञ्चमा उभिएर निर्मित स्वभावका कथनहरू सुन्न नपाई भुलिएछु कतै। हो, म त हराएछु। सपनामा लागेका सुन्दर फूल जसरी मुस्कुराउने चाह पूरा नगरी म त हराएछु। जीवनको बिम्ब नहेरी म त हराएछु।