समृद्धिका सपना बुनौँ
जापान, अष्ट्रेलिया र स्विजरल्याण्डका सपना तुनौँ
देश किन विकास भएन चर्चा गरौँ
आरोप गरौँ, प्रत्यारोप गरौँ
आऊ एकछिन भाषण गरौँ
शब्दका जाल बुनौँ
जनताका रगत उमालौँ
सुन्नेलाई जिल्ल बनाऔँ
अरे क्या बात् भन्ने पारौँ
आऊ एकछिन भाषण गरौँ
बाघचाल खेलौँ, तास फिटौँ
देश किन बनेन एकछिन गमौँ
कोरिया सम्झौँ, सिङ्गापुर सम्झौँ
चुरोट सल्काऔँ, गुड्खा चपाऔँ
आऊ एकछिन भाषण गरौँ
एकादेशका कथा हालौँ
फलना देशका बेथा गुथौँ
विकास र सुशासनका माला जपौँ
यसमै रमाऔँ, यसमै हराऔँ
आऊ एकछिन भाषण गरौँ
कर्म गर्दै नगरौँ
मेहनत र परिश्रम अहँ! सोच्दै नसोचौँ
आदर्शको व्यापार गरौँ
चोक, चौतारी, चिया पसल कतै नछोडौँ
खेतबारी छिर्दै नछिरौँ
आशन गरौँ, शासन गरौँ
आऊ एकछिन भाषण गरौँ।