भर्खरै कोरोनाको कहर अलिक साम्य भएको थियो, बजारमा अर्को रोगले आफ्नो प्रभुत्व जमाएछ। त्यही के 'भाइरल रोग'।
यो रोगको उत्पत्ति भएको ठाउँ भने मैले ठ्याक्कै ठम्याउन सकिनँ तर यसको फैलावट विश्वभर नै रहेछ। नेपाल पनि यो रोगबाट टाढिन सकेन। अब नेपालको सन्दर्भमा कुरा गर्दा, यो रोग भित्रिएको त्यही ३-४ वर्ष भएछ। तर आजकल भने यो डरलाग्दो रूपमै फैलिराखेको छ।
'अनि यस्तो खतरनाक रोगको बारेमा किन कोही चिकित्सक बोलेका छैनन् त? अस्पतालमा पनि यस्ता रोगीको सङ्ख्या बढेको समाचार सुनिन्न?' भन्ने प्रश्न हजुरहरूका मनमा पक्कै उठेका होलान्। वास्तवमा, यो कुनै भाइरस सङ्क्रमणले लाग्ने विज्ञानले प्रमाणित गरेको रोग होइन। यो त त्यही नैतिक, अनैतिक जस्तोसुकै कार्य गरेर सामाजिक संजालमा भाइरल हुन खोज्ने टिकटक, युट्युब, फेसबुक, इन्स्टाग्रामका प्रयोगकर्तालाई लाग्ने रोग हो।
यो रोगको एउटा बडो अचम्मको कुरा छ नि! प्रायः रोगीहरू आफूलाई लागेको रोगबाट मुक्त हुन चाहन्छन्, तर यो रोगको सन्दर्भमा भने रोगीलाई आफू बिरामी भएको पत्तै हुँदो रहेनछ। ऊ त झन् यो रोगसँग नजिकिन खोज्दो रहेछ। यो रोगको कारक कुनै भाइरस नरहेको कुरा त मैले माथि उल्लेख गरिसकेकी छु।
'फेरि यस्तो नौलो रोगको कारक चाहिँ के रहेछ?' यो प्रश्नमा हजुरहरू अल्मलिनु भयो होला। मैले पनि भर्खर थाहा पाउँदै छु, यो त हामीले केही गुमायौँ भने लाग्दो रहेछ। त्यही के, हामीभित्र एउटा के 'विवेक' भन्ने कुरा हुँदोरहेछ नि त्यही।
अब तपाईंलाई लाग्यो होला शिक्षित मान्छे त यो रोगबाट पक्कै सुरक्षित होलान्। तर, विडम्बना! सबैभन्दा बढी यो रोगको शिकार त त्यही शिक्षित युवा वर्ग रहेछन्। मेरा हजुरबुवा-हजुरआमा बरू खुसी हुनुहुन्थ्यो, यो रोगले उहाँहरूको उमेर समूहलाई छुन सकेन भनेर। शिक्षाको हाम्रो चरित्र निर्माणमा ठूलो भूमिका हुन्छ, तर यदि यसले हामीभित्र विवेक स्थापना गर्न सक्दैन भने यस्तो शिक्षाको के काम? खैर, यो विषयमा पछि कुनै दिन चर्चा गरौँला। आज, यही रोगको विषयमा कुरा गरौँ।
अब यसको लक्षणको कुरा गर्दा, भर्खरै मोरङको बेलबारीमा लगाइएको क्यामोमाइल अर्थात् दामिनी फूलमा भएको आतंक र नोक्सानी नियाल्नुहोस्। तपाईं यो रोगको लक्षणको विज्ञ आफै बन्नुहुन्छ। यो रोग लागेपछि मानिसले किसानको मेहनत, पसिना, आफ्ना गतिविधिले अरूलाई कतिसम्म असर पार्छ भन्नेजस्ता कुरा सोच्नै सक्दा रहेनछन्। यसो हेर्दा त यो रोगले बुद्धि नै नष्ट पार्दिन्छ कि जस्तो पनि लाग्छ।
'कस्तो खालको केटो हो! अगाडि हजुरबुवाको शव छ। म एकछिन रून्छु एउटा टिकटक भिडिओ बनाइदिनुहोस् न भन्दै मेरो हातमा मोबाइल पो थमाउँछ। मजाले झपारम् जस्तो भएको थियो तर त्यस्तो अवस्थामा के थर्किनु भनेर चुप लागेँ, भिडिओ चाहिँ बनाइदिनँ।'
हिजो बसमा एकजना आन्टी मुर्मुराउँदै हुनुहुन्थ्यो। आन्टीलाई सायद भाइरल रोगको बारेमा थाहा रहेनछ। त्यो भाइ पक्कै पनि यही रोगले ग्रसित हुनुपर्दछ, विचरा भाइ!
यो रोगले दुःख, सुख सबै अवस्थामा च्याप्दो रहेछ। एकजना टाइफाइड लागेर अस्पताल भर्ना हुनुभएकी दिदीलाई भेट्न अस्पताल पुगेकी थिएँ। मलाई देख्नासाथ दिदी हर्षले 'कस्तो ठिक समयमा आएछौ' भन्दै मुस्कुराउनु भयो।
पक्कै पनि बिरामी हुँदा यसरी कोही भेट्न जाँदा दिदीलाई खुसी लाग्यो होला भन्ने मैले सोचेँ। उहाँ त हतार-हतार आफ्नो साइडमा भएको मोबाइल मलाई दिन खोज्नुहुन्छ। 'यो मोबाइलबाट मेरो एउटा राम्रो बिरामी भएजस्तो फोटो खिचिदेऊ त, फेसबुकमा राख्नुपर्ला' भन्नुहुन्छ!
दिदीलाई देखेर साह्रै दया लागेर आयो। एकैचोटि दुई-दुई वटा रोगको शिकार हुनुभएछ। टाइफाइड त ढिलो-चाँडो निको होला तर यो भाइरल रोगबाट दिदी कहिले मुक्त हुनुहोला त?
फेरि यो रोग लागेका मानिस कस्ता हुँदारहेछन् भने नि अर्काको भावना फिटिक्कै नबुझ्ने, मूर्ख भनौँ कि के भनौँ। अस्ति भर्खरको कुरा हो एकजना दाइको हत्या भएको खबर एकजना भाइरल रोग लागेका युट्युबरले थाहा पाएछन्। दाजुका बाबु-आमासँग 'तपाईंलाई कस्तो लागिराछ?' भनेर प्रश्न सोध्दै थिए। हेर्नुहोस् त, यो रोगले त मान्छेको दिमाग नै फुस्काइदिँदो रहेछ, मान्छेले केही पनि सोच्नै सक्दा रहेनछन्।
कतिपय ठाउँमा त यो रोगले बिरामीको ज्यानै पनि लिएको सन्दर्भ छ नि! यो रोगले समातेपछि त मान्छेलाई पुलमा झुन्डेर भिडिओ खिच्न, खोलाको चिप्लो ढुंगामा नाच्न मन लाग्ने रहेछ। यस्तै बेलामा दुर्घटनामा परी मृत्युलाई अँगाल्ने पनि कति छन्, कठै!
यो रोगबाट ग्रसित भएका मान्छे फेरि जताततै पुग्न सक्ने शक्ति राख्दा रहेछन्। आफ्नो आँट देखाउन पहाडको टुप्पो र खोलाको बीचमा, कुबुद्धिको उदाहरण दिन शोकाकुल परिवार र दुर्घटनामा परी घाइते भएकाकोमा, किसानको पसिनालाई मजाक बनाउँदै तोरीबारी र फूलबारीको बीचमा। कहिलेकाहीँ त आन्दोलनमा गएर पुलिसको लाठी खान पनि पछि पर्दैनन्। बडो निडर स्वभावका हुँदा रहेछन् यी रोगी।
समाज पनि यो रोगप्रति त्यति संवेदनशील देखिँदैन। भविष्यमा यो रोगले निम्त्याउने दुर्घटना बारे चिन्तित नै छैन। बाहिरबाट भने यस्ता कार्यको विरोध गरे झैँ गर्छ अनि भित्र-भित्र भने भाइरल रोगीका क्रियाकलापबाट भरपुर मनोरञ्जन लिइराखेको हुन्छ। नत्र तिनकै भिडिओ, फोटोको मिम बनाएर तिनलाई थप भाइरल बनाई त्यस्तो उच्छृङ्खल कार्य गर्न थप प्रेरित किन गर्थ्यो होला र?
यो रोग हेर्दा सामान्य लागे पनि यसको असर अत्यन्तै खतरनाक छ। यदि यो रोग यही अनुरूप फैलिँदै जाने हो भने भोलिका दिनमा विवेकशून्य जमातको संख्या समाजमा अत्याधिक बढी हुनेछ। यस्ता विवेकशून्य मानिसले सामाजिक सद्भाव भत्काउने र समाजलाई उल्टो दिशातर्फ डोहोर्याउने कार्य गर्छन्। त्यसैले, यसको रोकथाम अहिले नै आवश्यक छ।
यो रोगको उपचारका लागि कुनै औषधि अथवा भ्याक्सिन उपलब्ध हुँदैन। यसको उपाय भनेको आफ्नो उपचार स्वयमले गर्नु हो। साथै, भाइरल रोगीका क्रियाकलापलाई मिमकै रूपमा भए पनि सामाजिक सञ्जालमा सेयर नगरौँ र अरूमा चेतना जगाऔँ। यसरी पनि हामीले यो रोग फैलिन दिनबाट रोक्न सक्छौँ।
हामी मानव हौँ, हामी सबैसँग मस्तिष्क छ, यसको प्रयोग गरौँ। आफूले भाइरल हुनका लागि गर्ने कार्यले अरू कसैलाई अथवा स्वयमलाई कुनै नकारात्मक असर पर्छ कि पर्दैन एकपटक सोचौँ। अनि मात्र त्यो कार्यमा कदम अगाडि बढाऔँ। यस्ता कुरामा विद्यार्थीको बढी संलगनता हुनेहुनाले विद्यालयस्तरबाटै विभिन्न चेतनामूलक कार्यक्रमको संचालन हुन आवश्यक छ।
अभिभावकले पनि आफ्ना बालबच्चाले सामाजिक सञ्जालमा गर्ने क्रियाकलापलाई विशेष ध्यान दिन जरूरी छ। बेलाबेला तिनीहरूलाई सम्झाउन आवश्यक छ। सबैभन्दा सुरूमा त अभिवावक स्वयम् यो रोगबाट बच्न जरूरी छ। फेरि आफू भाइरल हुनलाई जे पनि गर्ने अनि छोराछोरीलाई सम्झाउन खोजेर त भएन नि!
भाइरल हुन गरिने जथाभाविका क्रियाकलापले समाजलाई मात्र होइन व्यक्ति स्वयमलाई पनि ठूलो हानी पुर्याइराखेको हुन्छ। यी कार्यले तपाईंलाई दुई-चार दिन प्रख्यात त बनाउला तर यसको नकारात्मक असर जीवनभर रहिरहनेछ। आज रमाइलो लागे पनि भोलि सोही कार्यको कारणले हजुर डिप्रेसनमा जान सक्नुहुन्छ। त्यसैले यस्ता क्रियाकलाप्रति व्यक्ति, विद्यालय, समाज, राष्ट्र सबै जिम्मेवार बनौँ र यिनको रोकथामका लागि मिलेर कदम अगाडि बढऔँ।
अन्ततः आफ्नो विवेक गुमाएर कतै तपाईं पनि भाइरल रोगको शिकार त हुनु भएको छैन? विचार पुर्याउनुहोस् है!