सरकार! मैले तिम्लाई बोलाएँ
तर तिमी टोलायौ
केही भन्न खोज्दै थिएँ
न त तिमीले भेउ पायौ।
परिस्थिति विचारी
बोलाउनु पर्दथ्यो
गल्ती मेरो पनि हो
लौ! जे हुनु भैगयो।
अब निकै समय
बितिसके तापनि
भन्छु, मन पखाल्छु
तिम्ले नसुन्ने भा’नी।
धेरै काल अघिको
कुरा हैन सरकार
आजकै भावतरङ्ग
मनमा आउँछ बारम्बार
भन्दा रै’छन् सबैले
मलाई केटी मानव
मन फाट्छ मेरो नि
देख्छु अज्ञानता जब
कस्तोविघ्न बाध्यता
भई जन्मिएकी म
था’छ तिम्लाई सरकार?
कथा अन्त्य, आदीम
रट्ठपट्ठ व्यवहारिक
हुन कहिले जानिनँ
यो युगको आधुनिक
कर्म उत्तम ठानिनँ
गाउँले हुँ कि सहरिया
ठिमाहा झैँ बाँच्नु छ
जो-जस्तो छ, उसैसँग
ताल मिलाई नाँच्नु छ।
नजन्मिनु जन्मिएँ
उद्देश्य नै भुलेर
कहिले उसै गद्गद् भै
हाँस्ने गर्छु फुलेर।
आधा जीवन गैसक्यो
म नारी वा महिला
केटी अर्थात् तरुनी
यसकै छ सिलसिला...
महिनावारी भा बेला
जान हुन्न चुल्होमा
पुर्याएर अस्तित्व
मुसो बस्ने दुल्होमा
नबुझेको हो कि खै!
बुझी बुझपचाको हो
कि भूकम्प! यही डरले
बाहिरै राखी बचाको?
कहिले आटापछाडि
कहिले छाउपडीतिर
न बुझ्छु न बुझाउँछन्
भ’का इष्ट र मित्र।
तथ्यपरक उत्तर
दिएनन् लौ कसैले
अन्तरयुद्ध विचारको
गरेँ सुरु आफैले।
वाह! पुत्र क्या! गजब
व्रतबन्ध गरेका
छुन हुन्न तिनलाई
ती अमृतले भरेका
भन्दाभन्दै मैले यो
तिम्रो कान खुलेमा
हे सरकार, एउटा माग
राख्छु म, नभुलेमा।
सयौं थुङ्गा फूलमा
एउटा फूलको पत्र हुँ
म धेरै केही नभई
एक व्यक्ति मात्र हुँ।
प्रत्येक महिनाका केही दिन
म अछुतो हुनेछु
अव्यक्त एक पीडाले
आँसु झार्दै रुनेछु।
मैले छोए त्यो बेला
पानी पनि चल्दैन
मेरो हातले त्यस बखत
दियो बत्ती बल्दैन।
ज्यादै निन्दा गरेझैँ
भान पर्छ सरकार!
नबुझेरै हो तर
अस्पष्ट म बारम्बार
किन यस्तो चलन?
प्रश्न मात्रै गुञ्जन्छ
उत्तर त्यसको सदैव
रहस्यमै रहन्छ।
सायद मैले भन्नुमा
केही अनुराग छ
हो, सरकार तिमीसँग
मेरो एउटा माग छ
कि त संस्कार बुझाइदेऊ
कि त अस्थायी अछुत
घोषित मलाई गराइदेऊ
यत्ति माग छ मसित।