काठमाडौं! काठमाडौं एक त्यसो सहर हो जहाँ हुनेखानेहरूले सुखको जीवन भोग गर्दछन्। अनि केही नभएकाहरूलाई यहाँ बन्ने अवसर पाइन्छ। अवसरहरू आँखै अगाडि छन्। तर के बन्ने भन्ने हो? पहिलो नम्बरमा मेसिन बन्ने अवसर छ यहाँ। दोस्रो नम्बरमा चिहान बन्ने अवसर छ यहाँ। योभन्दा सजिलो अवसर अक्सर विलासको जीवन जिउने छ यहाँ।
महाराजगन्जको देवीमार्गस्थित ओरालो बाटोको छेउमा तीनतले घरको अँध्यारो कोठमा थियो बास। माघ महिना चलेको थियो। स्वस्थानी व्रतको समय। अलिक चिसो। सिरकबाट बाहिर आएँ। आँखा खोलेँ। भित्ताको घडीमा हेरेँ। बिहानको ७:३५ भैसकेछ। हतार-हतार गर्न थालेँ। तातो पानीले दाह्री मिलाएँ। सरकारी कर्मचारी कार्यालय जाँदा चिटिक्क परेर त जानै पर्यो।
प्रेसरकुकरमा भात बिसालेँ। कराईमा गहतको दाल बनाएँ। मेरो भाषामा भनुँ? तिहून बनाएँ। दुई पात हरिया साग भुटेँ। यस्तै हो मेरो सदाको खाना। जागिरको नाम सरकारी कर्मचारीमा छु। मिठो मसिनो के हुन्छ? त्यसको खासै स्वाद आउँदैन किनकि मिठो-मसिनोको स्वाद हेर्न थाले भने तलबी खाताको स्वाद हराउँछ। तलबी खाताको स्वाद हराए काठमाडौंमा बसेर खान जटिल छ।
हतार-हतार खाना खाएँ। हातमा पुस्तक थियो- सरल गौतमको आख्यान 'डुमेरो'। मैले डुमेरो पढ्न सुरु गरेको त्यही दिन हो। लामो होस् या छोटो होस् जस्तोसुकै यात्रामा पनि म पुस्तक पढ्ने गर्छु। डुमेरो पढ्दै थिएँ कोठा अगाडिको चोकमा उभिएर। नेपाल यातायात बस आयो, पुस्तकको पेज न. ३ मा दाहिने हातको माझी औंला राखेर बसमा चढेँ।
हुलमुल थियो बसमा। मान्छेहरू उभिएर यात्रा गर्दै थिए। बसभित्र गएर यताउती हेरेँ। बसको अन्तिम सिट खाली थियो। म अन्तिम सिटमा गएर बसेँ। पुस्तक पढ्न सुरु गरेँ। अलिक स्वर बाहिर सुनिएको थियो मेरो। बस विस्तारै गुड्दै थियो।
मैले पुस्तकबाट आँखा अगाडितिर लगेँ। बसको अन्तिमबाट दोस्रो सिटमा बसेकी एक अज्ञात महिला यात्रु उठिन् र चल्दै गरेको गाडीमा अगाडि पाइला सारिन्। उनको ठ्याक्कै पछाडिको सिटमा बसेको भएकाले मेरो नजर उनमा पर्यो। उनले हरियो रङ्गको कुर्ता र सेतो सुरुवाल लगाएकी थिइन्। उनी आकर्षक देखिन्थिन्। म हेरेको हेर्यै थिएँ।
तर अचानक मेरो नजर उनको सुरुवालमा पुग्यो। सेतो सुरुवालको पछाडिको भागमा खै के पो हो दाग लागेको थियो। सुरुमा त सोचेँ, उनी कुनै फोहोर ठाउँमा बसेकी होलिन् र त्यसैले फोहोरको दाग होला। हामी कुनै ठाउँमा हेरीरहेको बेला कुनै नयाँ कुरा देख्यौ भने हाम्रो ध्यान त्यहीँ तर्फ जान्छ। मेरो ध्यान त्यतातिर खिचिनु स्वभाविक हो। मैले अझै राम्रोसँग हेर्ने प्रयास गरेँ तर केही देखिनँ।
गाडीमा उभिएर यात्रा गरीरहेको एक पुरुष ती महिला उठेको सिटमा आइपुगे। ती अज्ञात पुरुष जोरले बोले। उनको ओठबाट छुटेको शब्द यस्तो थियो- 'छिः छिः कस्तो ब्लड, यो त्यही केटीको हुनुपर्छ।'
यो कुरा सुन्ने बित्तिकै भर्खर सिटबाट उठेकी ती स्त्रीले पछाडि फर्केर आफ्नो सुरवाल तिर हेरिन् र आँखाबाट आँसु खसालिन्। उनको अनुहारभरि पसिना भयो। सलले अनुहार छोपिन् र बसबाट झरिन्।
म मनमा अनेक कुरा खेलाउँदै बसमा बसिरहेको थिएँ। परिचालकले बोल्यो 'न्यू-प्लाजा!' मेरो झर्ने ठाउँ आएछ। म हतार-हतार गरेर गाडीबाट ओर्लिएँ, हातमा उही पुस्तक थियो 'डुमेरो' जुन अलिकति पढेको पनि थिएँ। पुस्तकभन्दा मेरो ध्यान र मस्तिष्कले गाडीमा भेटिएकी ती स्त्रीलाई सम्झिरहेको थियो।
उसो त मेरो घरमा पनि बहिनी छे। ऊ महिनावारी भएको बेला मेरोसामु समेत उपस्थित हुँदिन। खै कुन्नी! किन पो हो महिनावारीको समयमा चार दिनसम्म म खासै राम्रोसँग बहिनीको अनुहार देख्न पाउदिनँ। आमाबाट सुनेको छु, महिनावारी हुँदा बहिनीको पेट असाध्यै दुख्छ, ऊ चिच्याएर रुन्छे रे।
वर्षमा एकपटक घर पुग्छु। पोहोरसाल घर जाँदा म घर गएकै दोस्रो दिन बहिनी महिनावारी भइछे। त्यो साल दुई वर्षपछि घर गएको थिएँ। लामो गाडीको यात्रामा थाकेकाले मैले त्यो दिन बहिनीसँग राम्रोसँग कुरा गर्न पाएको थिइनँ। दोस्रो दिनदेखि उनी कोठाबाट बाहिर निस्किनन्।
उनको कोठाबाट मसिनो स्वरमा फरकै किसिमको आवाज आएको थियो। सायद त्यो उनको असह्य पीडाको दुखाइका कारण रोएको आवाज हुनुपर्छ भन्ने अनुमान लगाएँ र मैले आमालाई सोधेँ- 'बहिनीको कोठाबाट आवाज आइरहेको छ नि, रोएको जस्तो किन हो?'
आमाले भन्नुभयो, 'उसलाई महिनावारी भएको छ, आजै भएको हो। यो बेलामा उसको पेट असाध्यै दुख्छ।'
म टाउँको हल्लाएर बाहिर निस्केको थिएँ।
म घरमा पुगेको तेस्रो दिनको कुरा। बिहानै फोन आयो। मैले फोन उठाएँ। उताबाट आवाज आयो, 'नमस्कार कविज्यू, तपाईंको कविता सुन्ने औधी रहर थियो यो पटक मौका पाउने भए। तपाईंको 'पैसाको खेती' कविता सुनाउनूस् है?'
मैले हस् भनेँ, तर फेरि प्रश्न गरिहालेँ, 'कविता सुनाउने चाहिँ कहाँ हो मैले? भर्खर धनगढीमा कविता सुनाएर आएको हुँ। हिजो मात्र म घर पुगेको छु।'
उताबाट आवाज आयो, राष्ट्रिय नाचघरमा सामूहिक रचना वाचन हुने भनेर ब्यानर आएको छ। ब्यानरमा ८ जनाको फोटो छ, कवितामा तपाईंको मात्र। कार्यक्रम एक हप्तापछि छ।'
यति सुनेको थिएँ फोन काटियो। अँ, एक हप्ताअगाडि आयोजकसँग कुरा भएको थियो तर कार्यक्रमको मिति तय भएको थिएन। म काठमाडौं फर्किनु पर्ने अवस्था आयो। भोलिपल्टै घरबाट काठमाडौं फर्किएँ। दुई वर्षपछि घर जाँदा मैले बहिनीसँग कुनै कुरा गर्न पाइनँ, यतिसम्म कि म घरबाट फर्केको दिन उनलाई महिनावारी भएको तीन दिन भएको थियो। म घरबाट फर्किँदा उनी भेट्न समेत आइनन्।
घरबाट काठमाडौं फर्किएँ तर मलिन अनुहार लिएर। एक महिनावारीका कारण वर्षौपछि भेटेकी बहिनीलाई घर छोड्ने बेलामा राम्रोसँग बस्नु पनि भन्न पाइएन। साँच्चीकै यो महिनावारी वरदान हो कि अभिशाप?
मेरो मनमा त त्यति धेरै नरमाइलो लागेको थियो। बहिनीको मनमा कति नरमाइलो लाग्यो होला? अनि दाजुभाइ, दिदी-बहिनीमा दाजुभाइले गर्नेभन्दा दिदीबहिनीले दाजुभाइलाई गर्ने प्रेम र माया निकै बढी हुने मैले महसुस गरेको छु।
काठमाडौँ फर्किएपछि राष्ट्रिय नाचघर जमलमा कविता सुनाएको थिएँ। कविता सुनाउँदै गर्दा 'आज' शीर्षकको कविता सुनाएँ जुन कवितामा आमाको वर्णन छ। त्यो कविता सुनाउँदा सुन्नेहरूमा केही मान्छेहरू रोइरहेका थिए खै कुन्नी! किन पो? कविता सुनाउँदा रुनेहरू दिदीबहिनी थिए। आफ्नै दिदीबहिनी नभए पनि जो-जोसँग मेरो दिदी-बहिनीको नाता सम्बन्ध रहेको थियो उनीहरू रोएको देखेर मेरा आँखा समेत आँसु झरेका थिए।
अब त्यही दिनको कुरामा लागौँ। न्यू-प्लाजामा बसबाट झरेर म कार्यालयतर्फ लागेँ। मेरो कार्यालय सिंहदरबारको पश्चिमपट्टि अर्थात् रामशाह पथ। म कार्यालयमा पुगेँ। कार्यालयमा पुग्दासमेत मेरो मन र मस्तिष्क दुवैमा बसमा भेटिएकी ती युवतीको बारेमा अनेकन कुराहरू मनमा खेलिरहेका थिए।
कार्यालयमा काम गर्दै थिएँ। कार्यालयभित्र कहीँ कतै केटाकेटी रोएकोजस्तो आवाज सुनिरहेको थियो। मैले के-को कस्तो आवाज हो ठम्याउन सकिनँ। यताउति हेरेँ कोही देखिनँ। बाहिर आएँ र बाहिरतर्फको कोठामा हेर्न ढोकामा पुगेँ। भित्र कोही रोइरहेको थियो। अज्ञात मान्छे। जो जोर-जोरले चिच्याइरहेकी थिइन्।
मैले ढोका खोलेँ। आफैलाई साह्रै नराम्रो लाग्यो किनकि त्यो कोठाभरि महिलाहरू मात्र थिए। त्यो महिलाहरू बस्ने कोठा थियो। त्यो कोठामा पुरुष पस्नु खासै शोभनीय भने पक्कै होइन। मैले ती रोइरहेकी महिलाको ओठमा हेरेँ। ओठहरू सुकेका थिए, आँखाबाट आँसु बर्बरी झरिरहेका थिए।
उनी छटपटाइरहेकी थिइन्। हातले पेट छामिरहेकी थिइन्। उनी को हुन्? मैले चिने जानेको थिएन। उनी रोएको देखेर मैले बहिनी सम्झिएँ। बहिनी सम्झँदै गर्दा बहिनीको महिनावारी र गए वर्षको आफ्नो यात्रा सम्झेँ।
त्यो कोठामा भएका महिलाहरू सोधेँ, 'किन रुँदैछिन्? के समस्या भयो?'
एउटी केटीले मतर्फ कर्के लगाइन् तर केही बोलिनन्। अर्कीले भनिन्, 'महिला समस्या महिनावारी भएको छ आज उसलाई, यो समयमा कोही कोहीलाई असाध्यै पीडा हुन्छ, सहनै नसकिने गरी। उहाँलाई साह्रै गाह्रो भएको छ।'
मैले भनेँ, 'अस्पताल लैजानुस् न।'
अर्कीले थपिन्, 'अस्पतालभन्दा जुन ताल गए पनि हालत यहीँ हो, औषधि खाँदा एकछिन अलिक कम दुख्छ फेरि यसैगरी दुख्छ के गर्नू? दैव लीला सबै दु:ख महिलाले नै सहन गर्नुपर्ने?'
मैले शीर निहुर्याएँ र सरासर कार्यालयतर्फ लागेँ। एक थर्मस तातोपानी पिएँ। अनि मनमनै ब्रह्माजीलाई प्रश्न गरेँ, 'ब्रह्माजी, आमा बन्नका लागि योग्य हुन प्रत्येक स्त्री महिनावारी हुनुपर्छ किन? अनि हजुरले दिनु भएको महिनावारी प्रकृया स्त्रीहरूका लागि वरदान हो कि अभिशाप?'
मैले सोधेको प्रश्नको जवाफ ब्रह्माजीले आजसम्म पनि दिनु भएको छैन्। यसैले यो प्रश्न तपाईंहरूलाई गर्दैछु। सृष्टिको विस्तार गर्नका लागि योग्य हुन हरेक स्त्रीले महिनावारी हुनुपर्छ। स्त्रीहरूका लागि महिनावारी वरदान कि अभिशाप?