‘भुट्भुट्भुट्भुट्भुट्भुट्’
टाढा आकाशबाट आएको आवाज विस्तारै नजिकिँदै थियो। हामी विद्यालयबाट फर्किरहेका थियौं। म, नरे, सुरी र चेत आवाज आएतिरै मुन्टो बटार्दै आवज आएको दिशा पत्ता लाउन थाल्यौं।
सडकका दुई तिरका घरहरूमा ठोक्किएर आवाज कहिल्यै अघिबाट आएजस्तो हुन्थ्यो भने कहिल्यै पछिबाट आएजस्तो हुन्थ्यो।
‘चिलगारी चिलगारी ...ऊ हेरो चिलगारी’ हेलिकप्टर टाउका माथिबाटै उडेर गएपछि नरे चिच्यायो।
त्यसपछि हामी हेलिकप्टरका पछि दगुरिन थाल्यौं।
हामी यसअघि पनि धेरै पटक हेलिकप्टरका पछि दगुरेका थियौं। धेरै पटकको प्रयासपछि हामीले हेलिकप्टर ओर्लने ठाउँ पत्ता लाएका थियौं। पार्क मोडको ठ्याक्कै पारी पट्टिको बाटो हुँदै खोला तरेर गयो भने एसपी कार्यालयको तारबारले बेरेको ठूलो चौर आउँथ्यो। त्यसैको दक्षिणतिरको गेट नजिकै हेलिकप्टर ओर्लन्थ्यो। गोलो घेराभित्र अंग्रेजीको एच लेखेको ठाउँमा ठ्याक्कै लाएर हेलिकप्टर अडिन्थ्यो। प्राय: छोटो समयका लागि मात्र अडिने हेलिकप्टरबाट केही दौरा सुरूवाल लाएकाहरू ओर्लन्थे। हेलिकप्टर फेरि आफ्ना लामा-लामा पखेंटा घुमाउँदै एकै छिनमा उड्न सुरू गर्थ्यो।
हामी हेलिकप्टरको पखेंटाले फालेको हावा मुन्तिर टाउको तल गरेर हिँड्दै गरेका मान्छे अनि हेलिकप्टरका अघि शिर निहुँराएका घाँसहरू हेर्दै रोमान्चित हुन्थ्यौं।
तारबार बाहिरैबाट यी दृश्य हेर्दा मात्रै पनि हामी निक्कै खुसी हुन्थ्यौं।
कति पटक कक्षा कोठामा सर अउनुअघि डेस्कमा चढेर पंखाको हावामुनि हेलिकप्टरको हावाको अनुभूति लिन खोज्दा सरको कुटाइ खाएका छौं।
त्यो तारबारले बेरेको चौरमा कहिलेकाहीँ विद्यालयहरू बीचको प्रतिस्पर्धा समेत आयोजना हुन्थ्यो।
अनि वर्षको एकचोटि पुलिसहरूले कवाज देखाउने र विभिन्न अचम्म लाग्दा कर्तबहरू देखाउने मैदान पनि यही थियो। त्यही चौर हुँदै मोहनाको किनार जाने बाटो पनि थियो।
गर्मी बढ्दाका दिनमा विद्यालय छलेर नुहाउन जाने वा शनिवारमा क्रिकेट खेलेर खर्बुजा चोर्न जाने ठाउँ भनेकै मोहनाको किनारा त हो।
मोहनाकै किनारमा फेरि मान्छे पोल्ने घाटहरू पनि छन्।
कतिपय बेला नुहाउनेहरूले पानीमा बग्दै आएको जलेका दाउराका टुक्रा पानीबाट झिकेर बच्चाहरूलाई तर्साउँथे।
अनि एक्लै खुला ठाउँमा पौडेर बस्थें।
विद्यालयबाट फर्कने बाटो भनेको त्यही तारबारे चौरतिर जाने बाटै भएर हो। खासमा विद्यालय चौर भन्दा धेरै पर थिएन। बाटो अलि घुमाउरो भएकोले जान केही समय भने अवश्यै लाग्थ्यो। तर हेलिकप्टर हेर्न पाउँदाको मजा बेग्लै हुन्थ्यो।
नरेले चिलगारी चिलगारी भन्दै दौडन सुरू गरेपछि सुरी र चेत पनि उसैका पछि लागे। त्यसपछि म पनि के कम, झन बेतोडले तिनलाई उछिन्ने गतिमा दौडन थालेँ।
दौडने मामिलामा नरे निकै तेज थियो। चेत पनि उस्तै उस्तै हो। सुरीका लामा खुट्टाले उसलाई पनि चाँडै बनाउँथ्यो। मलाई भने सबैभन्दा गाह्रो हुन्थ्यो। पिँठ्यूको भारी झोला प्रत्येक पल्ट उचालिँदै फेरि पिँठ्यूमै खस्थ्यो। त्यसले पनि गति निकै ढिलो बनाउँथ्यो।
एक हातले पछिको झोला च्याप्दै हिँड्दा ढिलो कुदिन्थ्यो। जेनतेन तिनीहरू नजरबाट गायब नहुने गरी पछ्याएँ। भेटेनरी मोडको चाट पसलेले टिक्की र गोलगप्पा (पानीपुरी) तयार गर्दै थियो।
विद्यालय छुट्टिपछि चाट र गोलगप्पा खान रोकिनेको भिड लाग्थ्यो। चाट र गोलगप्पाको रसको बास्ना नाकमा भर्दै हामी चाहिँ बत्तियौं हेलिकप्टर बस्ने ठाउँतर्फ।
भेटेनरी पछाडिको खोलामा पुल नहुनाले तर्न केही समय लाग्थ्यो। त्यही तर्न रूकेको बेला मैले सबैलाई छोपेँ।
खोला तरेका मात्र के थियौं हेलिकप्टरको आवाज हाम्रा अघिल्तिर आउनुको सट्टा हाम्रो पछिल्तिर आयो।
हामी एकछिन के गर्ने भन्दै अचम्म पर्दै रोकियौं।
पछि हेलिकप्टर छेउछाउ नै बसेको लगभग पक्कापक्की भइसकेपछि हामी खोला वारि फर्कियौं र आवाज पछ्याउँदै हेलिकप्टर बसेको ठाउँ खोज्न थाल्यौं।
हेलिकप्टर खोलासँग जोडिएको घरहरूको लहर पारि भएको गहुँबारीमा ओर्लेको रहेछ। हामी पुग्दा ठ्याक्कै उड्न थालेको थियो। गहुँबारीको छेउको घरमा मान्छेको असामान्य भिड थियो। हेलिकप्टर पर पुगेर त्यसको आवाज कम हुने बित्तिकै त एकाएक आइमाइहरू रोएको आवाज आउन सुरू गर्यो।
हामी सबै अचम्ममा पर्दै मुखामुख गर्न थाल्यौं। भिडको नजिकै जाँदा एक महिला सेतो सारीमा प्लास्टिकको पोका अघि मरूँलाझैं गरेर रोइरहेकी थिई।
उमेर हेर्दा त्यति छिप्पेकी पनि लाग्दैनथी। हामी त्यो सब वाल्ल परेर हेरिरह्यौं।
‘बिचरा तालिम सक्या महिना दिन पनि भया’थेन।’ भीडको एकले भन्यो।
‘त्यै त है। विचरी त्यो नानीलाई पो गाह्रो हुने भयो। कलिलै उमेरमा ...च्च च्च च्च।’ दोस्रोले थप्यो।
‘लासहरूका हातखुट्टा त पूरै छरिएका थिए रे! जिप चाहिँ रूखमा अड्केको थियो,’ तेश्रोले थप्यो, ‘पुलिस जान नसकेर सेनाको गस्ती गएको हो।’
‘तीन दिन लागेछ है खोज्न पनि। त्यसरी नजानु पर्ने। मरु आएपछि त्यस्तै हो,’ पहिलोले भन्यो।
‘कैलाई था थ्यो त्यसरी बाटामै धरापमा पाड्डाछन् भन्ने त!’ पहिलोले भन्यो ।
हामी त्यहाँको माहोल देखेरै विरक्त भइसकेका थियौं। सम्साँझमा एकोहोरो आइमाइ रोएको ठाउँमा के रमाइलो हुँदो हो। तै पनि केही देखिन्छ कि भनेर हामी एक छेउबाट हेरिरहेका थियौं। एक हुल लोग्ने मान्छे आए। कोही ती रोइरहेकी आइमाइलाई सम्झाउन लागे कोही वरपरका मान्छेलाई भिड नलाउन भन्न थाले।
‘भाग तिमीहरू! काँ आएको यस्तो ठाउँमा? ल हेर, इस्कुलको लुगासम्म फेरेका छैनन् ! भन्दिऊँ तिम्रा हेडमास्टरलाई ?’ भिडबाट बाहिरिने एक अधबैँसेले सातो खाने गरेर हकारे।
हेडसरलाई भन्दिने भनेपछि हाम्रो सातो त्यसै गयो। त्यसपछि हामीहरू त्यहाँबाट बतास भयौं।
बाटामा हामीहरू केही नबोली हिँडी रह्यौं। अरू दिन हुन्थ्यो भने हेलिकप्टर देखेको उत्साहले हाम्रा गोडा भुइँमा हुन्थेनन्। तर त्यो दिन कसैलाई केही बोल्ने मनै भएन। चुपचाप आ–आफ्ना घरतिर लाग्यौं।
घर पुगेपछि कसैसँग नबोलेर सिधै ओछ्यानमा लडेँ। उत्तानो पल्टेर पोका भित्रको लास कस्तो होला भन्ने कुरा खेलाई रहेँ। यो कल्पनाको पार्श्व ध्वनी चाहिँ लासका छेउमा रोइरहेकी सेता लुगा लगाएकी आइमाइको विरहपूर्ण रूवाइ थियो।
उसका अघि राखिएको प्लास्टिकको पोका म मनमनै खोल्दै थिएँ।
आधा भाग हराएको टाउको, बाएको मुख र त्रासले भरिएका उघ्रिएको एक आँखा, रगताम्म धडको छेवैमा उल्टा परेको पाखुरा, भाँचिएको दाउराजस्ता लाग्ने गोडा, आदिआदि।
त्यसदिनदेखि आकाशमा धेरै पटक हेलिकप्टर उडे। पहिलेजस्तो हामी हेलिकप्टर बसेको ठाउँ खोज्दै दौडेनौं।
मलाई हरेक पटकको हेलिकप्टरको आवाजले त्यो प्लास्टिकको पोका छेऊ सेता लुगा लगाएर हात बजार्दै रोइरहेकी महिलाको झल्को दिलाउँथ्यो। खुसीको सट्टा चिन्ता हुन्थ्यो। कसको घरमा फेरि रूवाबासी हुने हो भन्ने पीर पर्थ्यो।
बेला-बेला मोहना किनार जाँदा भने कर्के आँखाले एसपी कार्यालयको चौरतिर नजर लगाउँथ्यौं। त्योभन्दा बढ्ता हामीले कहिल्यै केही गरेनौं। चिलगारी रहर सधैंको लागि मेटियो।
***
जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी हवल्दार राजेन्द्र जोशी, प्रहरी हवल्दार ३० वर्षीय प्रेमबहादुर रावत, हवल्दार धर्मानन्द जोशी, प्रहरी जवान देवराज भट्ट र एसपी रामबिनय सिंह दनुवारको २०५८ माघ १५ गते माओवादीले कैलाली जिल्लाको फूलबारी गाविस –७ स्याउलेमा राखेको विद्युतीय धरापमा परी मृत्यु भएको थियो। यो कथा त्यसैमा आधारित स्मृति हो।