गहभरि आँसु लिएर सर्मिला भावुक हुँदै आफ्ना जन्म दिने आमा बुवाको अगाडि रूँदै भन्छिन्- ‘पापा ममी, अब हम बियाह ना करेम’ मतलब ‘पापा-ममी अब म बिहे गर्दिनँ।’
यति दुई शब्द भनेर सर्मिला जोडले रूँदै आफ्नो रूमभित्र पसेर भित्रबाट ढोका बन्द गरेर जोड जोडले रून थाल्छिन्।
छोरीको अवस्था देखेर राधेश्याम र उनकी श्रीमतीलाई असह्य पीडा हुन्छ।
दुवै जना ढोकामा गएर स्नेही स्वरमा भन्छन्- बेटी सरू पहिला ढोका खोल, तिमीले जे भन्छौ, हामी त्यही मान्छौं। तिमी नरोऊ बेटी, पहिला तिमी ढोका खोल। हामी सबै जना बसेर सल्लाह गरौंला।
आफ्नो पापा र ममीको स्नेही स्वर सुनेर सरूले तुरुन्तै ढोका खोल्छे र आमालाई जोडले अंगालो मारेर रून थाल्छिन्।
सर्मिला आफ्नो घरबाट ३ किलोमिटरको दूरीमा रहेको क्याम्पसमा बि.एड.को अन्तिम वर्षमा पढ्छिन्।
उसको घर अगाडिबाट नै सधैं क्याम्पसको बस आउने जाने गर्छ। उनी बसमा नै जाने आउने गर्छिन्। उनलाई दुनियाँदारीसँग कुनै मतलब छैन। झट्ट हेर्दा उनमा कुनै खोट र कमी देखिँदैन। गोरी, अग्ली पातली ज्यान भएकी सर्मिला स्पष्ट बोल्छिन्। सबैसँग मित्रवत व्यवहार गर्ने सर्मिलाको आफ्नो टोल छिमेकमा छुट्टै किसिमको पहिचान छ।
सर्मिलाको पढाइ पनि राम्रै हुन्छ र नजिकैको बोर्डिंङ स्कुलमा पनि पढाउँछिन्।
मध्यम परिवारमा जन्मेकी सर्मिलाको एक भाइ र एक बहिनी छन। सर्मिला घरको जेठी सन्तान हुन्।
एक दिन राधेश्यामको नाता पर्ने फुपा घरमा आउँछन् र सर्मिलाको बिहेको कुरा उनकै छिमेक गाउँको एक जना केटासँग कुरा चलाउँछन्। केटा भर्खर लोक सेवाबाट नाम निकालेर सरकारी जागिरे हुन्छ। सर्मिलाको बिहे त्यो केटासँग भयो भने धेरै राम्रो हुन्छ भनेर सल्लाह दिन्छन्। फुपाको कुरा सुनेर राधेश्यामले घर परिवारमा सल्लाह गरौंला भन्छन्।
राति राधेश्यामले श्रीमतीलाई सबै कुरा भन्छन्। ठूली भइसकेकी छोरीको हात पहेँलो गर्दिएकै राम्रो भनेर श्रीमतीले सल्लाह दिन्छिन्। फेरि अर्की छोरी पनि त छ नि! समाजको मान्छेको सोच राम्रो भैदिए त मेरी सरूलाई उसले चाहे जति पढाउँथे तर के गर्नु ? यही समाज त हो ‘बिहे र श्राद्ध’ दुवैमा भोज खाने। भोल केही तलमाथि भयो भने यिनै मान्छेले हेला गर्न थाल्छ। मेरो कुरा मान्नुस् बरू छोरीको बिहे यसपालि नै गर्दिम भनेर सरूकी आमाले जोड लगाउन थाल्छिन्।
दुवै जनाको सल्लाहले यसपालि सरूको बिहे गर्दिने नै निर्णय हुन्छ।
सधैंझैं बिहान ५ बजे नै सरू उठ्छिन् र घर आँगन बढार-कुढार गरी चिया पकाएर पापा र ममीलाई दिन्छिन् र आफू पनि चिया खाई क्याम्पस जाने तरखरमा हुन्छिन्, त्यतिखेर नै सरूको ममीले सरूलाई भन्छिन्-बेटी आज क्याम्पसबाट सिधै घर आऊ है! एउटा कुरा तिमीसँग सल्लाह गर्नु छ।
ममीको कुरा सुनेर सरूको मनमा अनेकन कुरा खेल्न थाल्छन्।
उसले अन्यासै सोधी हाल्छे- के कुरा त्यस्तो मसँग सल्लाह गर्नुपर्ने? तपाईं र पापा सल्लाह गर्नुस् न वा अहिले नै भन्नुस्।
ममीले केही होइन तिमी क्याम्पसबाट आऊ अनि भनौंला बेटी भनेर अर्को कोठामा पस्छिन्।
सरू क्याम्पसबाट घर आउँछिन्।
खाना खाएर कोठामा बसेको बेला उसको ममी कोठाभित्र प्रवेश गरेर बिहेको सबै कुरा बिस्तारै सरूलाई भन्छिन्।
सरू अक्क न वक्क हुन्छे। ऊ केही बोल्नै सक्दिन। सरूको मौनतालाई उसको ममीले स्वीकृतिको संकेत बुझ्छिन् र सरूको पापालाई बिहेको कुरा अगाडि बढाउन भन्छिन्।
राधेश्यामले फुपालाई घरमा बोलाएर बिहेको कुरा अगाडि बढाउन भन्छन्।
जवाफमा सरूको एउटा राम्रो फोटो र बायोडाटा माग्छन्। यतातिर बिहेको पहिलो खुड्किला फोटोबाट नै सुरू हुन्छ।
१\२ दिनपछि केटाको पनि फोटो र बायोडाटा आइपुग्छ।
राधेश्यामले आफ्नो इष्ट मित्र भई २\३ जना केटाको घरमा गएर केटालाई हेर्छन् र केटाकेटीको जोडी राम्रो मेल खाने रैछ भनेर त्यहाँबाट फर्किन्छन्।
केटा पक्षबाट पनि केटीलाई हेर्ने भनेर प्रस्ताव आउँछ। यतातिर बिहेको दोस्रो खुड्किलो मानिन्छ यसलाई यो नयाँ कुरा होइन कसैले नाइँ भन्न सक्दैन। यो रीतिरिवाज नै हो। सोही अनुरूप राधेश्यामले सरूलाई हेर्न केटा पक्षको मान्छेहरू आफ्नै घरमा आएर हेरे राम्रो हुन्थ्यो भनि प्रस्ताव राख्छन् तर केटा पक्षले मान्दैन। खबर पठाउँछ होइन केटीलाई हेर्न त हामी घरमा आउँदैनौं होटलमा व्यवस्था मिलाउनुपर्छ।
केटी पक्षलाई अलि कमजोर मानेर हेप्ने प्रचलन नै छ यता।
केटा पक्षको कुरा नकार्न सक्दैनन् र ‘हुन्छ म होटलको व्यवस्था मिलाएर खबर गरौंला’ भनेर राधेश्यामले भन्छन्।
मध्यम खालको होटलमा ३\४ वटा रूम बुक गरेर केटा पक्षलाई खबर जान्छ र बिहीबारलाई राम्रो साइतको दिन मानेर दिन तोकिन्छ।
दिन तोकिएपछि सर्मिलाको मन एकाएक बेचैन बन्न थाल्छ।
एक किसिमको डर, त्रास र बेचैनीले सर्मिलालाई नर्भस बनाउँदै जान्छ। के के सोध्ने हुन्? को को आउने होला? म कसरी प्रस्तुत हुने? मलाई सिकाउने सल्लाह दिने ममीबाहेक अरू कोही छैन, कसलाई भन्ने, कोसँग सल्लाह माग्ने? यस्ता नानाथरिको कुराहरूले सरूलाई यस्तो तनाव बनाइदिएको थियो कि मानौं ऊ कुनै ठूलो युद्धमा भाग लिन जान लागेको हो।
बिहीबार भोलि नै त हो नि! भोलिको चिन्ताले रातभर निदाउन सक्दिन सरू। केही कुराहरू त उसको ममीले पनि सिकाएकै हो तर त्यति मात्रले ऊ सन्तुष्ट हुँदिन र भयरहित हुन सक्दिनन्।
यी सब कुराहरू समाजमा हल्ला गरिँदैन यतातिर, गोप्य नै राख्ने गरिन्छ किनभने कदमकदाचित केटा पक्षले केटीलाई मन पराएन र समाजमा हल्ला भयो भने त्यस केटीको जीवन बर्बाद हुन् जान्छ। उसको बिहे राम्रो घरमा हुनलाई धेरै नै गाह्रो हुन्छ।
समाजमा सबैले एउटा हल्ला नै चलाइदिन्छ। फलानोको छोरीलाई फलानोले मन पराएन, रिजेक्ट गरेको छ। आखिर केही न केही खोट भएर त रिजेक्ट गरेको होला नि!
यस्ता यस्ता नानाभातीका गलत कुराहरू दुष्प्रचार गरेर वास्तविकता थाहै नपाई समाजमा भ्रमित बनाइ दिन्छ।
आखिर सरू पनि यिनै समाजमा जन्मे हुर्केकी केटी न हो, यी सब कुराहरूले उसलाई साह्रै नै तनाव भैरहेको हुन्छ र ऊ रातभर सुत्न सक्दैन। जीवनकै सबभन्दा ठूलो परीक्षा सरूका लागि भोलि होटलमा हुनेछ।
बिहीबार बिहानै उठेर राधेश्यामको घरमा सबैजना नुहाई धुवाई गरेर स्नेह र निष्ठाका साथ कुलदेवताको पूजा र मनोकांक्षा पूरा गर्न भाकल पनि गर्छन् र केही समयपश्चात् सबै जना होटलको लागि हिँड्छन्।
होटलमा पुगेर सरू र उसको ममी एउटा रूममा बस्छन्, सरूले आफ्नो एक जना मिल्ने साथीलाई फोन गरेर बोलाउँछिन्।
चिन्ता र तनावले सरूलाई आज खाना नै रूच्दैन। उसको ममी पनि राम्रोसँग खाना खाँदिनन्।
करिब १०:३० बजेको होला, एउटा सेतो स्कार्पियो होटलभित्र रोकिन्छ। त्यस गाडीमा नै केटा पक्षका मान्छेहरू हुन्छन्।
केटा, केटाका बुबा, आमा, दिदी, भिनाजु, भाइ, आन्टी र माइजु गरी ८ जना हुन्छन्।
सबै जना अर्डर अनुसारको भेज र ननभेज खाना खान्छन्। करिब एक घण्टापछि सरूलाई सबैको अगाडि ल्याउलाई भन्छन्।
कुर्था सुरूवालमा सरू सिम्पल तरिकाले धेरै मेकअप नै नगरी सभामा प्रवेश गर्छे, उसको मुटुको चाल विस्तारै विस्तारै बढ्दै गएको हुन्छ। ऊ अलि अलि नर्भसजस्तो देखिन्छिन्।
आफूलाई सम्हाल्दै निहुरेर उपस्थित सबैको पाउ छोएर प्रणाम गर्छिन्। दुइटा सोफामा केटा पक्षको मान्छेहरू बसेका हुन्छन् र ठीक त्यसको अगाडि सरूको लागि एउटा कुर्सी राखिएको हुन्छ।
सरूको पछाडि अरू पनि २\३ वटा कुर्सीहरु राखिएको हुन्छ। कुर्सीमा बस्नलाई सरूलाई आवाज आउँछ र बिस्तारै सरू कुर्सीमा बस्छिन्। सरूका लागि यो अत्यन्तै नै नयाँ र पहिलो अनुभव थियो।
ऊ आफूलाई पहिलो पटक हजारौं दर्शक अगाडिको स्टेजमा उभ्याएको जस्तो अनुभव गर्दैथिई। कमको संघर्ष थिएन आज उसका लागि। ओठ सुकिरहेको थियो, शब्दहरू लरबराउन खोजिरहेका थिए तर पनि सरूले आफूलाई सम्हाल्दै परिस्थितिलाई सामना गर्न तयार भइन्।
उसलाई कुनै ठूलै जागिरका लागि इन्टरभ्यूमा बसेकोजस्तो अनुभूति भैरहेको थियो।
परिचयबाट सुरू हुन्छ सरूको परीक्षा। घर सम्हाल्न सक्छौ कि सक्दैनौ? पहिलो प्रश्न थियो। खानामा के के परिकार पकाउन आउँछ? ननभेजमा कुन कुन आइटम पकाउन आउँछ? अतिथिको सत्कार, सामाजिक व्यवहार लगायत इष्ट मित्र तथा आफन्तसँग गरिने व्यवहारहरू, जटिल अवस्थामा गरिने चतुर्याई?
केटाले भन्छ- यी सब कुराहरू गर्दागर्दै जागिर पनि गर्नुपर्छ नि! लोक सेवामा नाम ननिकाले त मेरो प्रतिष्ठा नै रहँदैन। मानौं सर्मिला एउटा बीचमा टार्गेट थिई र चारैतिरबाट बन्दुक, तोप, राइफल जस्ता हतियारहरूबाट पटटटट गोली पड्के झैं प्रश्नहरूको प्रहार उसमाथि भैरहेको थियो।
सर्मिलाको ओठ र घाँटी सुकिसकेको हुन्छ। उसको ज्यान लुलो भएको जस्तो लाग्छ। ऊ ढल्न ढल्न खोजिरहेकी हुन्छे। पेटमा अन्न नभएर होला उसको ज्यानमा तागत नै हुँदैन। आफ्नो जिभ्रोले ओठलाई चिसो बनाउन खोज्छे सरूले तर सक्दिन।
उसको मुख सुख्खा भएर गाह्रो हुँदै जान्छ। सरूको अवस्था हेरेर उसको साथीले उसलाई पानीको बोतल दिँदै पानी खान भन्छे।
एक घुट पानी मुखमा हाल्छे, पानी निल्न नसकेर घाँटीमै अड्केर प्राण निस्केलाजस्तो हुन्छ। बल्ल बल्ल एक घुट पानी निल्न सफल हुन्छे सरू। उसले २/३ पटक लामो लामो सास तानेर छोड्छे र पहिलाभन्दा ऊ अब बिस्तारै बिस्तारै सामान्य हुँदै जान्छे। प्रश्नहरूको प्रहार रोकेको हुँदैन। छोरीको साहस हेरेर राधेश्याम भावुक बन्दै जान्छ र उसको आँखाबाट आँसु बग्न थाल्छ।
करिब ४५ मिनेटपछि केटाको आमाले भन्छिन्- जाऊ नानु अब तिमी सारी लगाएर आऊ। सरूलाई आफू युद्धभूमिबाट बाहिरिएकोजस्तो अनुभव हुन्छ।
कोठामा पस्ने बित्तिकै सरूले घटघट गरी एक बोतल पानी खान्छे र सुस्केरा हाल्दै बेडमा लडेर आँसु बगाउन थाल्छे।
उसलाई यो चलन कति पनि मन परेको हुँदैन। केही समयपछि सरू फेरि सारी लगाएर तयार हुन्छिन्। उसलाई सारी लगाउने बानी हुँदै। ब्लाउज उसको आफ्नो नापको हुँदैन कता कता के नमिलेकोजस्तो देखिन्छ। सरूको साथीले सरूलाई सारीमा फेरि सजाएर दोस्रो राउण्डको लागि सभामा लिएर जान्छे।
साथीले बिस्तारै भनिरहेको हुन्छे। म पनि सँगै छु त कति डराएकी तिमी? सरूलाई त मान्छेहरूभन्दा पनि रिजल्ट देखि पो डर लागिरहेको हुन्छ। यदि केटा पक्षले मलाई मन पराएन भने मेरो हालत के हुन्छ?
यतिखेर सरूलाई पहिलाभन्दा अलिक सहज हुन्छ कि जस्तो लागेको थियो तर होइन रैछ।
यसपालि त उसलाई झन् गाह्रो पो होला जस्तो छ। लाग्छ ऊ कुनै सुरक्षा निकायको सदस्यताको लागि भर्ना छनोटमा भाग लिइरहेको छे।
नङ, हात, खुट्टा, सबै एकएक गरी हेर्न थाल्छन् सबै जना। घरि पाँच कदम अगाडि फटाफट हिँडेर जाऊ त घरि उठबस गर, घरि जिब्रो देखाऊ त घरि घाँटी बटारेर देखाऊ, घरि सिधा हेर त घरी छड्के हेर र समान्यभन्दा ठूलो स्वरमा बोल।
सरूको स्वास्थ्य तथा शारीरिक परीक्षा चल्दै थियो, सभामा। छोरीको यस्तो पीडा देखेर राधेश्याम भित्रभित्रै दुखी थियो।
आज ऊ छोरीलाई जन्म दिएर ठूलो गल्ती गरें भनेर पछुतो गर्दै कोठाबाट बाहिर निस्किन्छ।
सरूलाई जे जे गर्ने आदेश आउँछ ऊ त्यस्तै गर्दै जान्छे।
अर्को विकल्प पनि त थिएन। सबै चेकजाँच सकेपछि सरूलाई पुनः कुर्ता र सुरूवालको ड्रेसमा आउन भन्छन्। सरू अब दिक्क भैसकेकी हुन्छे। सायद अब अन्तिम नै होला भनेर ऊ कोठामा गएर फटाफट कपडा चेन्ज गरेर तुरून्तै आइहाल्छे।
सरूलाई उसले लगाएको स्यान्डल फुकाल्न लगाइन्छ। उसको वास्तविक उचाइ थाहा पाउनको लागि होला। त्यसपछि सतर्क पोजिसनमा उभ्याएर सरूलाई उसले ओढेको दोपटा हटाउन भन्छ। दोपटाको नाम सुन्ने बित्तिकै सरूको आँखाबाट बरररर आँसुको भेल बग्न थाल्छ।
उसले आफू अपरिचित मान्छेहरूको सभामा नाङ्गिन लागेको अनुभूति गर्छे र दोपटा हटाउँदिन।
सरूलाई अचानक एउटा ठूलो शक्ति आफ्नो शरीरभित्र प्रवाह भएको अनुभूति हुन्छ र दुवै हात जोडेर उसले भन्न थाल्छे-
तपाईंको परिवारमा मेरो विवाह होस् वा न होस् मलाई अब कुनै फरक पर्दैन तर विवाहको लागि केटी हेर्ने निहुँमा कसैको छोरीलाई यसरी सभामा नङ्याउन पाइँदैन।
खुट्टाको औंला हेर्ने निहुँमा छोरीको तिघ्रा हेर्न खोज्ने, घाँटीमा दुबी, टाटो हेर्ने बहानामा मेरो स्तनको आकार हेर्न खोज्ने तपाईंहरूको यस्तो कुण्ठाले भरिएको कुरीतिलाई म वरोध गर्दछु र यस्ता कुचलनको तत्काल अन्त हुनुपर्दछ।
यस किसिमको अशिष्ट सभालाई म बहिष्कार गर्दछु। कसैको छोरीलाई विवाह गर्ने प्रलोभनमा यसरी अपरिचितहरूको बीचमा अश्लिलतापूर्वक व्यवहार गर्ने अधिकार कसले दियो?
यस गलत परम्पराको म खुलेर विरोध गर्छु। म कुनै अपांगता भएको व्यक्ति होइन। बिहे हुनुभन्दा पहिला नै केटाको आफन्तहरूको अगाडि नाङ्गिनु पर्ने परम्परालाई म मान्दिनँ।
महिलाले महिलालाई र पुरूषले पुरूषलाई हेर्ने चलनको विकास हुनुपर्दछ।
मेरो बुवाले पनि त केटालाई हेर्न जानुभएको थियो। के तपाईंहरूसँग पनि यस्तै व्यवहार गर्नुभयो त?
के तपाईंको छोरालाई पनि सर्ट पाइन्ट खोल्न लगाउनुभयो? यदि होइन भने, म महिला भएकै कारण मलाई किन यति अश्लिलता?
सरूले एक सासमा नै सब कुराहरू फरररर भन्दै गई। उसका शब्द निस्किन बन्द हुन्छ र कोठामा केहीबेर पूर्ण रूपमा शून्यताले छाउँछ।
सब जना एकटकले सर्मिलालाई नै हेरेर बसेका हुन्छन् कि त्यतिकैमा सरूको हुनेवाला नन्दले पटटटट ताली बजाउँदै उसको कुरालाई समर्थन गर्छे र भन्छे- ठिक भन्यौ तिमीले।
तिमीले जस्तै पीडा मैले पनि आफ्नो विवाह अगाडि भोगेको थिएँ तर ममा त्यतिखेर विरोध गर्ने साहस थिएन। आज यस कुरीतिको विरोध गरेर तिमी एउटा योद्धा साबित भएकी छौ।
अब यो घरको बुहारी तिमी नै बन्ने हो। कसैले रोक्न सक्दैन। नन्दको कुरा सुनेर सबै जनाले ताली बजाउँछन् र सर्मिलालाई मुख देखाइको कपडा, केही पैसा र सुनको औठी दिएर सबै जना बिहेको तिथि तोक्नतिर लाग्छन्।
राधेश्यामले छोरीलाई पढाएर आज ठूलो गर्वको अनुभूति गर्दैछन्। उसको छाती गर्वले चौडा भएको हुन्छ।
छोरीको तर्क शक्ति र गलत कुराको विरोध गरेको देखेर सर्मिलाप्रति उसको विश्वास र माया झन् गाढा भएर आउँछ।