'छोडपत्र कहिले हुन्छ? अँ साँच्ची कहिले हुन्छ! जहिलेसुकै होस् छोडपत्र। मलाई के मतलब!'
'ए सरोज! सरोज! ल हेर यो बर्बराएको। छिटो उठ्, दक्षिणतिरको झ्याल खोल्' दिदीको आवाजसँगै म जुरुक्क उठेँ।
'हुन्न दिदी हुन्न! म त्यो झ्याल खोल्दिनँ के। मरिगए पनि खोल्दिनँ।'
'किन बर्रबराएको यसरी? तँ बर्बराएको सुनेर आएकी। सपना नराम्रो देखिस् हो? दक्षिणपट्टिको झ्याल खोल्। स्वच्छ हावा चलिरहेको छ।' यति भनेर दिदी गइन्।
केही दिनयता दक्षिणपट्टिको झ्याल बन्द छ। म बाहेक कोही नआउने मेरो कोठामा कहिलेकाहीँ दिदीको उपस्थितिले रौनक भर्छ। त्यो पनि क्षणभरको लागि। त्यो समय त्यस्तो थियो। बाहिर चर्काचर्की। कानमा ठोक्किएको आवाजसँगै झ्याल खोलेँ। बाहिर हेर्न खोजेँ। उनीहरू यसरी नै कराइरहेका हुन्थे। जसरी हिजोअस्ति पनि कराउने गर्थे। सधैँ केको किचकिच हुँदो हो! तर आजको चर्काइ अलि बेसी छ। मैले मनमनै भनेँ।
पुर्लुक्क उतातिर हेर्न खोजेँ जतातिरबाट आवाज आइरहेको थियो। तर अन्धकार व्याप्त भएकोले कालै देखियो चारैतिर। उठेर बत्ती बालेँ। बत्ती बाल्न मैन र सलाई ठिक पार्न परेन। त्यो अँध्यारो कुलमान घिसिङले मेटाइसकेका थिए। दिनमा अठार घण्टा लोडसेडिङ हुने जमान थियो त्यो।
बिजुलीको स्विच थिचेँ, उज्यालो चम्कियो। फेरि पर्दा खोलेर बाहिर निहालेँ। बाहिर कालै व्याप्त देखियो। अँध्यारै व्याप्त थियो। झनक्क रिस उठ्न खोज्यो अँध्यारोसँग। रिस र खुसको कुरा रहेन यहाँ। रिस सबभन्दा सस्तो चिज हो संसारमा। त्यो सस्तो चिजले डेरा जमाउनु नौलो के छ! फेरि मैले रिस र खुस गरेर अँध्यारोको साम्राज्य किन हट्थ्यो र? प्रकृतिको नियम कसले टार्न सक्थ्यो र? रात अँध्यारो दिन उज्यालो हुन्छ। सबैलाई थाहा भएकै कुरा हो। यतिबेला बाहिरको चर्काचर्की बन्द भइसकेको थियो।
एउटा गाउँ थियो रे। हैनहैन एउटा सहर थियो रे। सहरकै माझमा कयौँ जोडीका बासस्थान थिए रे। कताकति उम्रिएर हुर्किएका रुखहरूमा पन्छीहरूको आवाद थियो रे। ती बल्लतल्ल हुर्किएका रुख र तिनका हाँगामा कौवाले गुँड बनाउँथे। त्यस्तै अरु पन्छीहरूले पनि फुल कोरल्दथे र चल्ला हुर्काउँथे।
यहाँ पनि यस्तै केही भएको थियो। फुल पार्नु, चल्ला कोरल्नु, प्राकृतिक नियम हो। काग र कागिनीले त्यही अभिभारा निभाइरहेका थिए। ती दुईले गुँड बनाएका थिए। आफ्ना अन्डा पाउन। बचरो हुर्काउन। ती मान्छेका जोडी त्यही नजिकै बस्थे। उनीहरूले पनि त्यहाँ एउटा बच्चा पारेका थिए। प्रकृतिको नियम पालना गरेका थिए।
कुरा गरौं, अब कौवातिर। कौवा कौवा थियो। मानिसको गुण र अवगुण उसमा कसरी समाहित हुन्छ? त्यो भाले कौवा सानो बचरो हुँदा त्यसरी नै त्यसकी आमासँग त्यहीँ धेरै पटक आएको थियो। जुन ठाउँमा अहिले उसको आफ्नो पोथी कागिनी र चल्लो छ।
केही समय पहिले त्यसका बाआमा हराए। ऊ दिनहुँजसो काँ-काँ गरेर कराउँथ्यो। घाँटी फुट्ने गरी कराउँथ्यो। काँ! काँ! काँ! त्यसको केही समयपछि एउटी पोथी लिएर आयो। ती दुई काग र कागिनी सँगै बसे। ती दुईबीच मित्रता भयो या प्रेम भयो, म के जानु? जुन मानिसहरूबीच पनि हुने गर्छ। यत्रतत्र छरपस्ट 'प्रेम' शब्द! त्यो प्रेम हो कि शब्द मात्र! म कसरी बुझुँ? त्यो पनि भर्खर बाह्र पढ्दै गरेको ठिटोले। केही नजान्ने उरेन्ठेउलोले। अल्लारे केटोले। समाजले मलाई दिने गरेको उपनाम यही नै हो मेरो। योभन्दा बढी म के जानु!
केही समयपश्चात् भालेले त्यो रूखको हाँगामा गुँड बनाउन सुरू गर्यो। ऊ बिहानै उठेर छेस्का बटुल्थ्यो। चुच्चोको सहायताले झिँजा ल्याउथ्यो। कहाँबाट ल्याउँछ? कौवाको लागि छेस्का बटुल्न सहज थियो या थिएन। तपाईंहरू नै भन्नुहोस्। कठिन नहोला भन्न सकिन्न। तैपनि झिँजा बटुल्छ र गुँड बनाउँछ।
मैले एउटा कुचो लिएर घरको छतमा राखिदिएँ। कौवामा रस बसेका मेरा आँखा दुई तला उछिन्दै छतसम्म जान्थे। एकटक काग र कागिनी हेरेपछि फर्किन्थे। त्यसकै भोलिपल्ट ती दुई भालेपोथीले कुचोको छेस्का जोडका तोड तान्दै थिए।
मलाई तिनीहरूले बनाउँदै गरेको गुँडको माया लाग्यो। देख्दै नदेखेको अण्डाको माया लाग्यो। तिनीहरूले जन्माउँदै नजन्माएका बचरोको माया लाग्यो। कस्तो शब्द यो माया! सस्तो र बेवारिसे। 'माया' शब्द। मैले त्यही शब्द प्रयोग गरेँ। यसो गर्न हुन्थेन तर गरेँ। तर नौलो के गरेँ!
'हेर! यो सरोजले कुचो कौसीमा राखेर सबै कौवाले लुछेछ' भन्दै दिदी कुचो लिएर भर्याङ झरेको ट्वाल्ल हेरेँ। नाइलनको डोरी काटेर टुक्रा पारेँ। फेरि छतमै राखिदिएँ। दिदीले थाहा पाइन। कौवाले थाहा पायो। ती दुईले त्यही डोरीलाई चुच्चोले रेशा-रेशा निकाले र ओसारे।
कसरी थाहा पाए कौवाले उनीहरूले आफूले फुल र चल्ला पार्ने कुरा? गुँड बनाउने र बचेरा हुर्काउने कुरा! गर्भवती भएको कसरी थाहा पाई कागिनीले! बाबु बन्न लागेको कसरी थाहा पायो कागले? कसरी त्यो सब पन्छीले बुझ्छन्! मैले दिनभरि सोचेँ। पत्तो पाउन खोजेँ, तर बेखबर नै रहेँ। म बाह्र पढ्ने विद्यार्थी। गृहकार्य नगरेर, सबै छोडछाड पारेर कौवालाई मात्र हेरिरहेँ। साइन्सका सुत्रहरू नपढेर कौवालाई मात्र पढिरहेँ।
म दिनहुँ घोरिएर कागका भालेपोथी हेरेँ। चुच्चोकै भरमा करिब चार बिहानीमा ती दुईले गुँड बनाएर भ्याए। गुँड बनाएर भ्याएको त्यो बिहानीमा ती दुई लुगा सुकाउने तारमाथि बसे। एकअर्काको नजिकै बसेका काग र कागिनीले चारैतिर आँखा डुलाए। ढुक्कको श्वास लिए। आफूले गरेको कामप्रति गौरव गर्दै थिए सायद!
धेरै आनन्द भएको बेलामा यिनीहरू अग्लो ठाउँमा बस्न मन पराउँदा रहेछन्। मैले पहिलो पटक थाहा पाएको थिएँ। त्यसकै अर्को बिहानीमा कागिनीले अण्डा पारी। मैले दङ्ग परेर हेरेँ। घरीघरी छतमा जाँदा भर्याङ कुद्नु पर्थ्यो। त्यो देखेर दिदी कराउँथी। 'ए सरोज! के छोप्न छततिर कुदेको हँ?'
'कौवा छोप्न दिदी।'
'के भन्छ यो! दिमाग त ठिक छ नि?' दिदीको रुखो वचन कानमा गुन्जिन्थ्यो। मैले त्यसपछि कौवाको नामो निशान लिन्न थिएँ।
दिदीले कौवा बारेमा न बुझ्छे न चासो लिन्छे। व्यर्थै कराउँछे। मैले मनमनै भन्थेँ। दिदीले चाल नपाउने गरी भर्याङ चढ्थेँ र झर्थेँ। बिहान, दिउँसो र बेलुका जतिखेर कौवा हेर्थेँ। लकडाउनको सदुपयोग कौवा हेर्नमै बिताएँ। मानिसहरूले कोरोनामा ध्यान दिए मैले कौवामा ध्यान दिएँ। जेमा भए नि ध्यान दिनु त हो, के फरक पर्छ? मैले यस्तै सोचेँ।
गुँडमा पोथी ओथारो बसी। मुसलधारे पानी बर्सियो। सबैको टाउकोमाथि छाता टल्कियो। त्यो टल्किएको छाताको बिटबाट तप-तप पानीका थोपाहरू भुइँतिर पसारिए। ऊ पन्छी थिई। ऊसँग न छाता थियो न त पानी ओतने ठाउँ थियो। मुसलधारे पानीमा ऊ क्षणभर पनि फुल छोडेर बाहिर निस्किन।
त्यतिबेलै मेलम्चीमा एउटा बजारै बगायो, खोलामा बाढी उर्लेर। कयौं घर बेघर भए। तर त्यो कौवाको गुँड टसमस भएन। त्यो पोथी पनि साता दिनको झरीमा निमेषभर पनि हल्लिन। भाले चाहिँ अलि पर गार्ड बस्थ्यो। कसैलाई पनि गुँडको वरपर हिँड्न दिँदैनथ्यो। उसकै कौवा मित्रहरूलाई पनि गुँडको वरपर छिर्न दिँदैनथ्यो। त्यस रुखको वरपर हिँड्ने र उड्नेको हुर्मत लिन खोज्थ्यो। टाउको ठुँग्न खोज्थ्यो।
अर्को दिनको राति पनि त्यसरी नै चर्काचर्की भयो, जसरी पहिले हुने गर्दथ्यो। 'हजुरसँग बस्दिन के! के सोचेको हजुरले मलाई? आफूले पिट्ने, मैले सहने!'
'कति धेर बोलेको?'
'बोल्छु, के गर्ने?'
'जगल्टा तान्छु।'
'लु लु, हेरौं!'
कुस्ताकुस्ती, घम्साघम्सी। केही समयको चर्काचर्कीपछि आवाज बन्द भइसकेको हुन्थ्यो।
हेर्दाहेर्दै अठार, उन्नाइस दिन बितेछन्। अठार वर्ष त चुट्कीमै बित्न लागेको मेरो उमेर अठार दिन त क्षणभरमै बितिहाल्यो नि! अर्को बिहानी पूर्वबाट सूर्यले तातो राप फ्याँकिरहेका थिए। मैले झ्याल खोलेर बाहिर हेरेँ। आँखाले गुँड पछ्याए। गुँडमा पोथी थिइन। साना चिचिराले आँ-आँ गर्दैरहेछन्। फुल फुटेछन्। म ढुंगा उछिट्टिएसरी उछिट्टिएर घरको छतमा पुगेँ। गार्डको लागि तैनाथ रहेको भालेले मेरो हुर्मत लिन खोज्यो। म पनि चानचुने कहाँ थिएँ र! मन्छे न परेँ। आफूमा निहित अहम देखाउनु थियो। देखाएरै छाडेँ। त्यो पनि कसलाई, कौवालाई!
छतको छेउमा उभिएर गुँडतिर हेरेँ। मेरो वरपर टाउको ठुङ्न लागेको कागलाई लठ्ठी तेर्साएँ। त्यसका तीन वटा बचरोलाई आँखा गाडी गाडी हेरेँ। कौवाले मेरो टाउको वरपर घुमेर हुर्मत लिँदै थियो- काँ! काँ! काँ!
'खुब कराउँछस्। मैले आफ्नो अहम् आफैभित्र ओकलेँ। कौवाको काम हो कराउने। कराएर के नाप्छ! मैले आफ्नो अहम आफूभित्र कैद गरेँ। मान्छे न परेँ। मेरो अहम जति ठूलो संसारमा के छ? अरु होस् न होस् अहम त मेरो साथमा छ। त्यो पनि कोसँग? कौवासँग। जसलाई हेप्छु उसैलाई लघार्छु। मानव स्वभाव अँगाल्छु। मेरो के जान्छ? गए कौवाकै जान्छ। कौवालाई लघारेँ। कौवा मैले लघारेर किन लघारिन्थ्यो र!
फेरि अर्को दिन पनि घाम टल्के। गुँडमा एउटा मात्र बचरो थियो। अरु कहाँ गएछन्? काग र कागिनी आफैले खाए कि! हैन हैन, आफ्ना बचेरा आफै के खान्थे! तर कहाँ गए अरु दुई चल्ला? म एकटकले सोचमा मग्न रहेँ।
कागको बचरोको पत्ता लगाउन खोजेँ। तर त्यो मेरो लागि सम्भव कहाँ थियो र! कौवाको बचरो कसले खायो? आफै खायो कि! अरुले खायो! के गरेर पत्ता लगाउँ? कसरी खोजौँ र अनुसन्धान गरौँ! कौवाको भाषा कसरी बुझ्ने? दिनरात देखिन्छ तैपनि कौवाको हाल पता लगाउन नसकिने। धिक्कार छ मेरो अहमताको।
यत्रो हैकम जमाउन खोज्ने मानव जातिले पशुपन्छीको भाषा बुझ्न नसकेकोमा खेद प्रकट गरेँ। मैले मनमनै आफैलाई धिक्कारेँ। मेरो अहमतालाई धिक्कारेँ। कौवाले एउटा मात्र फुल पाउँछ भन्थे। तीन/चार वटै पाउँदोरहेछ। तर अरु बचरो कहाँ गए? मेरो सोच बीचमै हरायो जसरी पानीको थोपो हत्केलामा हराउँछ।
समयको रफ्तारसँगै अर्को साता आयो। फेरि मुसलधारे पानी पर्यो। त्यो मुसलधारे पानीसित लाप्पा खेल्दै आफ्ना पखेटा फिँजाएर ओथारो बसी कागिनी। टसमस नगरी बचरोलाई पँखेटाले छेकी। असिना बर्सिए, तर पनि उठिन। बचरो मर्छ होला! कागिनी पनि मर्ने भई। हे भगवान! जोगाइ देऊ। मैले सक्दो भगवान् पुकारेँ। भगवानले सुने या सुनेनन्, घामले भने पक्कै सुने। तीन/चार दिनको अविरल वर्षापछि टिलिक्क घाम टल्के। म मख्ख परेँ।
बजार माझको त्यो एउटा रूखको नजिकै घर। भाले प्राय: त्यही घरको रेलिङमा बस्थ्यो। पोथी ओथारो बसेर चल्ला सेक्थी। त्यस घरको अगाडिपट्टि गोरेटो बाटो थियो। भालेले हुर्मत लिन खोज्थ्यो हरेकको, जो त्यो बाटो हिँड्थे। त्यो कागलाई के थाहा! ऊ कराएर केही हुने वाला थिएन। तर पनि ऊ कराउँथ्यो। उसको शरीर शिथिल हुन्थ्यो कराउँदा कराउँदै। उसको कराइको टेरपुच्छर ल्याउने त्यहाँ वरपर कोही थिएनन्। उसका दौँतरी कागबाहेक।
औंसीका रातहरू उस्तै थिए। अन्धकार व्याप्त। त्यही बीचमा आवाज 'पख् तिमीलाई! तिमीसँग कहाँ बस्छु र? तिमीसित एक, दुई, तीन बस्दिन बुझ्यौ!'
'गए हुन्छ अहिले नै। निस्किहाले हुन्छ।'
'जान्न, के गर्ने?'
'थुतुनो च्यातिदिऊँ।'
'लु त हेरौँ कसरी? मेरो थुतुनो च्याच्दा मेरो हातमा दही जमेको छ र!'
'अझ धेर बोल्ने?'
बच्चो रोएको चर्को आवाज आयो। मैले झ्यालबाट आकाशतिर हेरेँ। अन्धकार व्याप्त थियो। कान ठाडा पारेँ। आवाज आएतिर चिहाएँ। त्यही घरको भुइँ तलामा दुई दम्पती र तिनीहरूको सानो बच्चो बस्थे। दोस्रो तल्ला खाली थियो। त्यो तला महिनौँदेखि बन्द थियो। त्यो एउटै घर थियो जहाँ माथिल्लो बार्दलीको रेलिङमा कौवा गार्ड बस्थ्यो। भुइँतलामा ती दुई जोडी र तिनको बच्चो बस्थे।
यता मानिसका जोडी दुई/तीन दिनको बीचमा झगडा गर्छन्। चिच्चाउँछन्, कराउँछन् र रुन्छन्। त्यो पनि रातको प्रहरमा। फेरि अर्को रात गर्जागर्जी सुरु भयो।
'यसपालि त मरे पनि बस्दिनँ। तँलाई छोडपत्र गर्छु बुझिस्।'
'गर्, गर्! अहिले गर्! अहिले नै हिँड् अदालत,' बुढो चाहिँले हुर्मत लिन खोज्यो।
'तँ जस्तासँग बस्नुभन्दा त मर्नु बेस,' बुढी चिच्चाई।
बुढीले बिगत सम्झँदै भनी, 'ऊ बेलामा खुबको छु भनेर धाक लायौ, बिहे गर्यौ। बाजा बजायौ। जन्ती ल्यायौ। भोजभतेर गर्यौ। दुनियाँलाई देखायौ। अहिले मलाई लछार्यौ।'
'तेरा जगल्टा तान्दिऊँ। अझै धेर बोल्छेस्!'
'ल तान् त हेरौं।'
चर्काचर्कीसँगै म तर्सेँ। ओहो! के भन्दैछन् यिनीहरू? यतिन्जेल आवाज बन्द भइसकेको थियो। तर मेरो दिमाग बन्द भएको थिएन। झ्याल बन्द गरेँ फेरि खोलेँ। बाहिर हेरेँ। चारैतिर अन्धकार व्याप्त। तर मेरो दिमागमा भने उनीहरूका कुरा घुमिरहेका थिए। म आत्तिएँ र टाउको समाएँ।
वर्षा ऋतु सकिएर शरदको आँगमन। कौसी खेती गर्नेहरूका कौसीमा फूलहरू मच्चिरहेका थिए। दिन बित्दै गइरहेका हुन्थे। ती काग र कागिनीले पालैपालो चारा खोज्थे र चल्लाको मुखमा राखिदिन्थे। तीनको चारा मासुको चोक्टो हुन्थ्यो। कौवाको बचरो उड्न थाल्यो। भुर्र यता, भुर्र उता। कहिले बचरो कागिनीसँगै कहिले कागसँगै।
कति मिलेका कागका जोडी! दिन, हप्ता र महिना गुजर्दै गए। काग र कागिनीको बचरो हुर्कँदै गयो। पोथी कतै नजर आउन छोडी। ऊ बचरोलाई लिएर उडान भर्न गई। कागिनीले भालेलाई छोडपत्र गरेर गइछ क्यारे! मैले यस्तै सोचेँ। के त्यो साँचो थियो?
भोलिपल्टको उज्यालोसँगै तीनै काग, कागिनी र बचरो देखिए। उडान भर्न जान्थे। थकित भएर फर्किन्थे र घरको छतमा बसेर थकाइ मेटाउँथे। एकअर्कालाई एकछिन नदेख्दा कराउँथे- काँ! काँ! काँ! कस्तो लगाव यिनीहरूको एकअर्काप्रति! आफ्ना परिवारका सदस्य हराउँदा रुख वा घरको छतमा बस्नु अनि काँ! काँ! गर्नु। त्यही आवाज सुनेर तिनीहरू पर पुगेका पनि फर्किन्थे।
कागको बचरो बढेर ठूलो भयो। एक्लै उड्न थाल्यो। काग र कागिनीको अब छोडपत्र हुन्छ होला! तर त्यो छोडपत्र किन हुन्थ्यो! कसरी सम्भव थियो? तिनीहरू एकअर्कालाई एकछिन नदेख्दा धुनधानसँग कराउँथे। अतालिन्थे। घाँटीको हड्डी फुट्ने गरी कराउँथे- काँ! काँ! घण्टौसम्म कराउँथे- काँ काँ काँ…।
मानिसले जे कुरामा पनि सालिनता प्रस्तुत गर्न खोज्छ। सालिनतामा दु;ख लुकेको हुन्छ क्यारे। सानदार देखाउनु नै पीडा छोप्नु रहेछ क्यारे। खुसी खोज्नु रहेछ क्यारे। कस्तो सजिलो कौवाको छोडपत्र! न अदालत न वकिल। न मुद्धा दायर न मिसिल न फाइल। कौवाको छोडपत्र भयो होला! तर के कुरामा भयो? तिनीहरू कहिल्यै झगडा गरेको थाहा भएन।
उडान भर्न जान्छन्, आउँछन् र सँगै बस्छन्। फेरि उडान भर्न निस्कन्छन्। फेरि त्यही ठाउँमा जम्मा हुन्छन् र काँ! काँ! गर्छन। एकअर्कालाई हेरेर रमाउँछन्। वास्तवमा कौवाको छोडपत्र कहिल्यै नहुने रहेछ। तिनीहरू बाँचुल्जेलसँगै बस्दा रहेछन्। यिनीहरूले आफ्नो चल्लोलाई सबै सीप सिकाउँदा रहेछन्।
चिलबाट बच्ने उपायहरू। आफ्ना शत्रुले आफूलाई आक्रमण गर्दा अपनाउनु पर्ने सावधानीहरू। आफ्ना चल्लालाई सिकाउने भूमिकामा काग र कागिनी एकपल चुक्दैनथे। कागकागिनीले बचरोलाई सिकाउनु पर्ने यावत् कुराहरू सिकाउँथे। फेरि कुनै पल आफ्नो गुँडमा फर्किन्थे र चुच्चोले उक्त गुँड सुमसुमाउँथे। बचरो हुर्काउँदा बखतका तमाम यादहरू फेरि एकफेर संगाल्थे।
एकअर्कालाई भावना पोखेझैँ गरी सँगै बस्थे। आफ्नो चुच्चोको सहायताले एकअर्कोलाई चाट्थे। आफ्नो घाँटीभित्र लुकाएको खानेकुरा उकेलेर खुवाउँथे। काग, कागिनी र बचेरासँग आफ्नो तमाम काम गर्ने त्यही एउटा चुच्चो मात्र थियो। तिनीहरूले आफ्नो तमाम काम चुच्चोको सहाराले पूरा गर्थे।
रातको प्रहर। पल्लो घरको आवाज फेरि चर्कियो, छोडपत्रले।
'हिँड हिँड्, अदालत जाम।'
'तेरा बाउले कोर्ट खोलेर बसेको छ र यति राती!'
'भोलि त छोड्पत्र गर्छुगर्छु। मुद्दा दायर गर्छु गर्छु, बुझिस्!'
'बुझेँ। तैले बुझाएपछि नबुझ्ने कुरा हुन्छ!'
पहिलो पटक झगडा गर्दा 'हजुर' भने। दोस्रो पटक झगडा गर्दा 'तिमी' भने। आज 'तँ' भन्दैछन्। यो के गर्दैछन्? झगडाका पनि तह हुँदा रहेछन्। रातैपिच्छे चर्काचर्की। छोडपत्रकै कुरा। के हो त्यो छोडपत्र! मान्छेले मात्र किन गर्छन्? मानिसमा मात्र छोडपत्र हुन्छ किन?
बच्चो रुवाइको चर्को आवाज आउँछ। त्यसलाई बाउ चाहिँले झपार्छ, 'कति रुन्छस्! चुप लाग्।'
रोइरहेको बच्चोलाई आमाले काख लिन्छे। 'बिहे गर्ने बेलामा सानदारले गरिस्। रवाफ् झल्काइस्। अहिले मलाई दिनकै डक्छस्। कौवाको औकात् नभएको मुन्छे, कौवा,' बुढी चाहिँको आवाज गर्जियो।
'छि: कति नराम्री। गाली पनि कति नराम्रो गर्छेस्,' लोग्नेले मुख बटार्यो।
'तँ पनि त खुब साउन आउन हुन्न विदेशी संस्कार भित्राउँछेस्। भारत र बंगलादेशको हरिया चुरा र मेहेन्दीले हात रङ्याउँछेस्। तेरी हजुरआमै र आमाले मेहेन्दी लगाएका थिए र! तँ लाउँछेस्। साउनैभरि हरिया चुरा र हरियो पोते लगाएर देखाउँछेस्। अर्काको देशको नक्कल गर्छेस्। नौटङ्की बनेर हिँड्छेस्। त खालि देखाउने र धज्जिने बाहेक अरु के नै गर्छेस्! तीज आउन हुन्न एक महिनादेखि दर खान हिँड्छेस्। पार्टी प्यालेस चहार्छेस्। कौवाको औकात नभएकी आइमाई कागिनी,' लोग्ने चर्किँदै थियो।
ओहो! यिनीहरूले के-के भन्दैछन्? मेरो चिडचिड पसिना आयो। जीउ सिरिंग काँप्यो। तनमन शिथिल भयो। झगडा सुनेर म अतालिएँ। छोड्पत्र कहिले हुन्छ यी दुईको? म बरबराउँछु। उठेर घडी हेर्छु। कस्तो अचम्म! मध्यरातमा बरबराएछु। मैले झ्याल बन्द गरेँ। त्यसपछि मैले दक्षिणपट्टिको झ्याल कहिल्यै खोलिनँ।