उमेरले परिपक्व बनाउँछ कि भोगाइले? या परिपक्वताले उमेरको परिभाषा दिन्छ? परिपक्वताको परिभाषा के हो? म भर्खर टीनएज उमेर समूहमा दौडिरहेकी थिएँ। एसएलसी सकेर खाली समयमा कम्प्युटर सिकेकी थिएँ।
सधैँजसो घर फर्किने बेला साँझ पर्न लागिसकेको थियो। घर आइपुग्दा लगभग ६-७ जनाको समूह देखेँ। हेरेँ, चिनेको कोही छैन। आफ्नो कोठामा गए झोला बिसाएँ र भान्छामा गएँ। आमा चिया बसाल्दै हुनुहुँदो रहेछ। आमालाई सोधेँ, 'आमा, को आएका हुन् र?'
आमाले भन्नुभयो, 'बाका साथी हुन् भारतदेखि आएका, तेरो मित बाको नजिकै घर भएका हुन् रे। मैले पनि आजै भेटेकी हुँ। बा चाहिँ मित बाकोमा जाँदा भेट भेएको थियो रे!'
यतिकैमा उता बाहरूको गफबाट एउटा आवाज कानमा पर्यो, 'छोरी यही हो, भर्खरै १० सकी। अब हजुरहरूले भन्नुहुन्छ भने नाई मैले कसरी भनुँ?'
मैले हत्तपत्त आमालाई सोधेँ, 'के कुरा गरेका आमा? के हुन्छ हुन्न भनेका? मलाई किन इसारा गरेर छोरी यही हो भन्या आमा?'
मैले उत्तरको प्रतीक्षा नगरी आमालाई प्रश्न गर्न थालेँ। आमाले 'हामी छोरी हौँ, बेलैमा घरजम गर्नुपर्छ, बाको आर्थिक पनि बुझ्नुपर्छ' भन्दै चिया गिलासमा राख्न थाल्नुभयो।
'मैले बुझिनँ केही, के भन्नु भाको आमा' मात्र के भनेकी थिएँ आमाले भन्नुभयो, 'जा, चिया दिएर आइज। कुर्थाको सल अलिक मिलाएर ओड्, निहुँरिएर दिनू चिया।'
म अचम्ममा परेँ। पहिले मेरा घरमा पाउना आउँदा आमाले यस्तो भनेर कहिल्यै सिकाउनु भएन। म आफ्नो प्रश्नको उत्तर नपाउँदै भए पनि गएँ चिया लिएर, क्रमशः दिँदै गएँ। त्यहाँमध्ये एकजना रूपमा राम्रै थियो तर उसको हाउभाउ भने अलिक सामान्य लागेन मलाई। तर पनि म त को हो र अरुको विषयमा टिकाटिप्प्णी गर्ने!
चिया दिएर बाहिर निस्किन लागेको थिएँ, बाले बोलाउनु भयो।
'अनु, उहाँहरू मित बाको साथी, राम्रो कुल घरको हुनुहुन्छ। तिम्रो हात माग्न आउनु भएको।'
मेरो आमासँगको प्रश्नको उत्तर बाको त्यो वाक्यले प्रष्ट भयो। म आत्तिएँ, हातगोडा लडबडाउन थाले। कान राता-राता, ताता हुन थाले।
'उहाँ बाबुछोरा हुनुहुन्छ। उहाँसँग सम्बन्ध अगाडि बढाउने हाम्रो निर्णय भयो।'
म छक्क परेँ। कस्तो सम्बन्ध? के सम्बन्ध? फेरि मलाई किन भनेका छन् सम्बन्ध बारे? जसलाई मैले असामान्य देखे उहीँसँग मेरो सम्बन्ध? कस्तो सम्बन्ध? मैले केही बोल्नै सकिनँ, बोले पनि मेरो बोली कौडीमा बिक्ने थिएन।
म दौडेर आमा भएको ठाउँ गएँ। आमालाई भनेँ, 'आमा, बाले कस्तो सम्बन्ध भन्नु भएको?'
आमाले भन्नुभयो, 'तेरो बिहे गर्दिने कुरो हो!'
आँखाभरि आँसु पारेर भनेँ, 'आमा, म बिहे गर्दिनँ। केटा पनि मलाई रामो लागेन, उमेरले नि सानै त छु।'
आमाले मेरो कुरा नसकिँदै 'बाको कुरा कसले काट्न सक्छ? तँ छोरी होस्, ढिलोचाँडो बिहे गर्नैपर्छ। फेरि तामझाम नगरी भोलि नै भारत जाने, दाइजो केही नचाहिने भएपछि हामीलाई नि सजिलो। केटा पक्ष उत्पात धनी छन् रे। पैसाको अभावमा यतिका समय बित्यो, तेरो जीवन त सुख होस्' भनेर बाकै पक्षमा बोलिन्।
म मौन बसेँ। मलाई छोरी हुनुमा, आफ्नो मत राख्न नपाउनुमा अति नै दुःख लाग्यो। कोठामा गएँ, आफैलाई पिटेँ, कपाल लुछेँ, दात किटेँ। रिस सबै आँसुमा बद्लियो। मैले सास रोकेर मर्न समेत खोजेँ। त्यतिकैमा रात बित्यो।
अर्को दिन बिहीबार थियो। पूजाआजा गरेर बाहिर बसेँ। केटाको बाले, 'अनु, पिर नगर हामी बुबाआमा नै त हौँ। तिमी कत्ति आत्तिनु पर्दैन, उतै पढौली, जति पढ्ने इच्छा छ पढौली' भन्नुभयो।
यसो सोचेँ, बाको आर्थिकले नथामेर म जान नपाएको ठाउँ साथीहरू भने भारत पढ्ने, सिए सकेर आउने कुरा थियो। उतै गएपछि उनीहरूसँगै पढ्न पाउँछु, यही आशाले बाको निर्णयलाई प्रश्न नै गरिनँ।
'अलिअलि आफ्ना चाहिने सामान राख, अरु पर्दैन' भनेर केटाकी आमाले भनिन्। मैले पनि उसै गरेँ। करिब २ बजेतिर हामी हिँड्यौँ। फर्किँदा हामी जम्मा ४ जना मात्र थियौँ। बा-आमाले सानै छु लाग्दा-लाग्दै बिहे भन्ने परिबन्धमा पारेर पर घर पठाउँदा रिस, खिन्न, मन अमिलो पक्कै थियो तर साथीहरूसँगै पढ्न पाउँछु भनेर मैले अरु सबै बिर्सेकी थिएँ।
मलाई रुट खासै याद छैन, उनीहरूले लगे म गएँ। बाटोमा केटाकी आमाले अनेक कुरा सिकाउँदै अर्थाउँदै लगिन्। मेरो कलिलो दिमागले कति समात्यो कति समातेन तर मेरो दिमाग एकनासले साथीसँग पढ्न पाइन्छ भन्ने मात्र सोचिरहयो। म केटाकी आमासँग सिटमा बसेकी थिएँ, हामी ठाउँ-ठाउँमा खाजा खान रोकिँदा झर्थ्यौँ।
त्यस यात्रामा म मेरो श्रीमान पर्ने लोग्ने मानिससँग एक वचन बोलेकी थिइनँ। पछि निदाउन थालेछु, कतिबेर निदाएँ पत्तो पाइनँ। तर झर्ने बेला भएछ हामी झर्यौँ। रिक्सा चढेर अलिक पर गयौँ। ठूलो कम्पाउन्ड भएको ४ तले ठूलो घर देखाउँदै सासूआमाले भनिन्, 'यही हो अनु घर, ढोगेर भित्र पस्नू।'
'हुन्छ' भनेर उसै गरेँ। आमाले भित्र गएपछि सम्पूर्ण घरको बारे भनिन्, 'यो कोठा तिम्रो र रबिको।'
म डराएँ। मैले 'म हजुरसँगै सुत्छु आमा' भनेँ।
'बिहे गरेपछि आफ्नो बुढासँग सुत्नी हो, कहाँ मसँग सुत्ने भनेकी?,' सासूआमाले अलिक रुखो पारामा भनिन्। म झसंग भएँ। कता-कता मलाई आफ्नो आमाको याद आयो, आमाको काख याद आयो!
सबैजना सरसफाई गरेर बसेका थियौँ। आमाले 'अनुको हातको खानुपर्छ, बुहारीको हातको' भनिन्। मैले पनि पकाएँ जस्तो जाने उस्तै। खाना खाइयो, भाडा पनि माझेँ। नौलो देश, ठाउँ अनि घर र परिवार पनि। मलाई मेरो लोग्ने पहिला हेर्दा नै मन नपरेकोले सँगै एउटै कोठामा सुत्ने त सोचाइ नै आएन। फेरि आमालाई भनेँ, 'म हजुरसँगै सुत्छु।'
बाले 'ल, आजको दिन सासूबुहारी सुत न त के भो' भन्दा मलाई मन हलुका भयो।
त्यो रात आमासँगै सुतेँ। भोलिपल्ट बिहानदेखि बेलुकाको कामको रुटिन भन्न थालिन् सासूआमाले। मैले सासू कसरी मान्नु जब उनको छोरालाई आफ्नो लोग्ने मानेकी नै छैन!
दिउँसो खाजा खाने बेला मैले आफ्नो डायरी हेर्दै बुबालाई भनेँ, 'मेरो साथी सपना भन्नेको नम्बर छ बुबा, फोन गरेर पढाइको कुरा सोधम्। उनीहरू यतै भारत नै बस्छन्।'
मैले यति भनेर सक्दा नसक्दै बा बोले, '२-४ मैना पर्ख, सबै बुझेर गर्नुपर्छ हतार नगर।'
हवस् भनी बसेँ। दैनिक बिहानदेखि बेलुकासम्म घरकै काममा व्यस्त हुन्थेँ। त्यस घरमा भित्रिएको चौथौँ दिनमा बल्ल म ती असामान्य व्यक्तिसँग बोलेँ। सामान्य परिचय भयो। मलाई अलिक सहज लाग्यो। कहिलेकाहीँ सामान्य जस्तो पनि लाग्ने तर धेरैजस्तो असामान्य।
आमासँग हिम्मत गरेर उसको बारे सोधेँ। आमाले प्रत्यक्ष देखिने कुरा सायद झुटो बोल्न चाहिनन्, सबै भनिन्, 'सामान्य रोग हो, कहिले ठिकै व्यवहार गर्छ कहिले टोलाउनी, नबोल्ने, रिसाएर बस्ने अस्वभाविक व्यवहार देखाउँछ। तर मान्छे सज्जन छ! कहिलेकाहीँ मात्र त्यस्तो हो।'
मैले भनेँ, 'उपचार गर्नु भएको होइन?'
आमाले सहजै भनिन्, 'बिहे गरेपछि सुध्रिएला भनेर बिहे गरिदिएको।'
मलाई अचानक चक्कर लागेर आयो। आकाश खसेजस्तो, जमिन हल्लिएको जस्तो सर्वश्व गुमेजस्तो भयो। आमाले पुनः भनिन्, 'आत्तिनु पर्दैन, ठूलो कुरा होइन। तिम्रो मायाले सब ठिक हुन्छ।'
म अचम्म परेँ। मैले कसरी माया गर्न सक्नु त्यो मान्छेलाई? मेरो मायाले कसरी सन्चो हुन्छ? मायाकै कमीले हो भने बाको त्यो पृथक माया र आमाको त्यो ममताले किन उसलाई सन्चो भएन? म अलमल परेँ। मलाई डर लाग्न थाल्यो, आफ्नो पढाइको लोभले चालेका पाइलाले आफ्नो शरीरमा हिलो छ्यापेको जस्तो लाग्यो।
मलाई आफैसँग घिन लाग्यो। त्यो घर छोडेर, भागेर आफ्नो देश आउन मन लाग्यो। मलाई आमाको काखको कमी महसुस भयो। तत्काल घर जान मन लाग्यो तर मलाई केही थाह नभएकाले मौन बसेँ। यसरी नै दिन, हप्ता गरी महिना समेत बित्यो। एक होइन, दुई होइन पुरै पाँच महिना!
धेरै कुरा बद्लिएको थियो यो पाँच महिनामा। म उनीहरूको परिवारमा घुलमिल थिएँ, परिचित थिइनँ। हरेक चिजमा सामेल थिएँ, खुसी थिइनँ। मैले ठुलै हिम्मत गरेर आमालाई भनेँ, 'आमा, भरे बुबालाई मेरो पढाइको कुरा गर्नु न। यत्रो समय भयो अब त म पढ्छु।'
'घरकै काम सक्दिनौ, कुन फुर्सदमा पढ्छ्यौ? पढाइ त खासै आश होइन, त्यही नि पढेलेखेकाले जे जति गरे नि आखिर पैसा नै हो। सम्पत्ति जति नि छ केका लागि पढ्न पर्यो? परिवार सम्हालेर बस!' आमाले यति भनेपछि मलाई आँट आएन बुवालाई भन्ने।
लोग्नेसँग अलिअलि नजिक थिएँ तर भन्न सकिनँ। घरको काम गर्दै दिन बित्यो। सबै कुरा नेपालमा बा-आमालाई भन्न पनि सकिनँ, पाइनँ पनि। उनीहरूको अगाडि बोल्नु पर्थ्यो, कहिले समय मिलेन। मलाई घरबाट बाहिर निस्किने समेत अनुमति थिएन। सबै चिज घरमा ल्याउथे। म काम गर्थें, निस्किनु परे सासूआमासँग निस्किन्थेँ।
मलाई दैनिक रुपमा दबिएजस्तो, बन्धक बनाएको जस्तो लाग्थ्यो। तर केही गर्न भने सक्दिन थिएँ। बालाई सझिएर बडो रिस उठ्यो, पैसा नपुग्या भए, म धेरै भएको भए, उतै काम गर्दै खान्थेँ। यस्तोमा मलाई पठाएर बालाई के मिल्यो? मैले खाने दुई थाल भात? या मलाई छोरी भनेर बस्न दिएको कोठा? के जोगियो? २-४ हजार पैसा अनि २-४ जोर लुगा? या के? अनि आमालाई चाहिँ?
अनेक कुरा खेल्यो, रोएँ कराएँ। जे गरे नि केही सीप लागेन। एकदिन संजोगले म मात्रै थिएँ घरमा। बुबाआमा दुवै जना पल्लो घरमा बोलाएर गएका थिए। बाले फोन छोडेर गएका रहेछन्। मैले डायरीबाट सपनाको नम्बर खोजेर फोन गरेँ। सम्पूर्ण कुरा बताएँ। एक/दुई दिनमा घरमा आउने, बुवा-आमाले भेट्न् पठाएको भनेर आउने समेत बहाना बनाएर फोन राखेँ। सपना तेस्रो दिन मैले भनेको ठेगाना खोज्दै आई। उसले फोनमा जस्तै गरी कुरा गरी। सामान्य भेटेर फर्की सपना।
फेरि चार दिनपछि आई। खाना खाइसकेपछि सबै गफ गरेर बस्ने भनेर बस्यौँ। 'तँ नपढेर किन यत्तिकै बसेकी? इन्ट्रान्स खुलेको छ पढ् न,' सपनाले मेरा आँखामा हेरेर भनी। यत्तिकैमा बा बोले, 'घरमा नि हामी बुढाबुढी भैसकेको छौँ, सम्पत्ति पनि छ। मैले त अब घरव्यवहार धानेर बस्ने भनेको।'
सपनाले प्रतिकार गरी, 'होइन, सम्पत्ति आफ्नो ठाउँमा छ। केही सीप चाहिन्छ। त्यसो हो भने नपढे पनि हातको काम यही पर सिकाउँछ, त्यही भर्ना गर्दिनु। केही न केही त गर्नुपर्छ।'
सपना अलिक रुखो बोलीमा भनी। बाले 'त्यो त हुन्छ, घरको काम सकेर २-४ घन्टा त्यता केही हुन्न ल' भनेर सहजै स्वीकारे। भोलि बुझ्न जाउँला समेत भने। मैले घर देखाउने, लुगा सुकाउने बहानामा सपनालाई छतमा लगेँ। मलाई भक्कानिन आयो। मैले भोगेका कुरा सबै भनेँ। सपनाले 'तँ नेपाल जा' भनी तर जाने उपाय थिएन। मैले कसरी जाने?
'एकछिन निस्किन दिँदैनन् कसरी जानू?' भनेँ।
सपनाले 'पख म उपाय लगाउँछु' भनी।
'तँ अलिक दिन त्यो हातको काम सिक्ने ठाउँमा जान थालेपछि एउटा उपाय छ भनी। एकछिन बसेर सपना गई। मलाई भोलिपल्ट बुबाले हातको काम गर्ने ठाउँमा भर्ना गिरिदिए। बिहान काम सकेसी म दिउँसो ११-२:३० सम्म त्यहाँ जान थालेँ। त्यहाँबाट सपनालाई फोन गरेँ। तीन दिनपछि मात्र आउन मिल्ने उसले भनी।
त्यसपछि मलाई उसले 'सकेसम्म अलिअलि पैसा जम्मा पार्, नसके म अरु गर्छु' भनी। मैले केही बुझिनँ तर उसले भनेअनुसार गरेँ। मैले ५६ रुपैयाँ मात्र बटुलेँ। अर्को दिन काममा जाँदा फोन भएकी दिदीले 'तिम्रो साथीको फोन आएको थियो, फोन गर अरे' भनिन्।
मैले गरेँ। उसले 'त्यहाँबाट कहिलेकाहीँ बाहिर लग्छन् कामको सिलसिलामा, कहिले छ सोध्' भनी।
९ दिनपछि रहेछ। मैले सपनालाई जानकारी दिएँ। 'घरमा भन्नु म पनि त्यस कार्यक्रममा जान्छु भनेर अनि सकेको पैसा जम्मा गर्नु,' उसले भनी।
दुई, तीन दिन गर्दै सात दिन बित्यो। सपना त्यत्रो आँट दिएकी मान्छे हराई। म आफ्नै भाग्य सम्झिँदै रोएँ। आठौं दिन काममा पुग्दा सपनाको फोन आयो।
'भोलि मैले नेपाल जाने टिकट काटेकी छु, तँ कार्यक्रममा जानी भनेर सहिद मार्ग आउनू, म त्यहाँ आउँछु। झोलामा एउटा सल पनि राख्नु, कसैलाई केही नभन्नु!'
मैले उसै गरेँ। सपनाले ट्रेनको ड्राइभरसँग सबै भनेकी रहिछ। कति हिम्मतवाली सपना! ड्राइभर पनि सहयोग गर्न सकारात्मक देखिएपछि मात्र उसले मलाई बोलाएकी रहिछ। दुई बोत्तल पानी, दुई वाटा चाउचाउ राखेर सिट मिलाएर आफ्नो ममी र भाइको नम्बर दिएर पठाई।
मलाई सपनाले अलिक हप्ता उसैकोमा बस्ने व्यवस्था मिलाई। मलाई आफ्नै घर जान यसकारण रोक लागाइयो ताकि मलाई पुनः त्यही घरमा फर्काएर नलगून्। त्यसपछि हरेक ट्रान्जिटमा मलाई डर थियो। ड्राइभरले कहिले रोकिँदा कहाँ लुकाउने कहिले कहाँ लुकाउने गरेर नेपाल ल्याएका थिए।
उता म साँझसम्म घर नगएपछि हल्लाखल्ला गरेर पुलिस रिपोर्ट समेत गरेछन्। सपनाले सुशीलाको नाममा टिकट काटेकी र सोही टिकटमा म आउँदा खासै मलाई फेला पार्न सकेनन्। मेरो सपना साथी सुशीला नामले परिचित थिई जताततै तर उसको डकुमेन्टमा नाम सपना थियो। त्यसैले मलाई सहज भयो।
मैले मेरा बुवाआमालाई समेत भनिनँ आएको हप्ता १० दिनसम्म। त्यसपछि जताततै हल्ला भो। मेरा बुवाआमालाई समेत थाहा भो म भारत छोडेर हिँडेको तर उहाँहरूलाई थाहा थिएन सपनाकोमा छु भन्ने।
बाले एकदिन सपनाको आमालाई फोन गरेर 'नानी उतै छ, हाम्री छोरी बारे बुझ्न भन्न पर्यो' भनेर रुँदै गुहार मागेछन्। सपनाकी आमाले हामी जाँदै छौँ, काम विशेषले जाने भए सँगै जाउँ भनी आफ्नो घर बोलाइन्। बा आए, सपनाकी आमाले सम्पूर्ण कुरा भनिन्।
त्यति बेलासम्म म देखा परिनँ। पछि कुरा सकिएपछि बोलाइन्, गएँ। बालाई देखेपछि रिस पनि उठ्यो तर मलाई आनन्द पनि आयो। बसेर छलफल गरेपछि सपनाको आमाले हामीले सिधैँ मुद्दा दर्ता गर्ने तर मुद्दा दर्ता गरेपछि उता जानकारी दिने भनेर भन्नुभयो। बाले पनि मान्नुभयो। तीन दिनभित्र सबै काम सकेर जानकारी दियौँ।
उनीहरू अदालत उपस्थित भए समयअनुसार। त्यसपछि पारिवारिक झैँझमेला अलिक समय रह्यो। म घर पनि गएँ। मलाई सामाजिक रुपमा अलिक बढी तिरस्कार हुन थाल्यो। यो भागेर आएकी, बुढा मानसिक रोगी भएर बस्न नसकेर भागेकी, बाउले सम्पत्तिको लोभमा छोरी बेच्यो, अदालतमा मुद्दा छ रे, उमेर त सानै छ तर नि अब कसले बिहे गर्छ? बिहे गरे नि दोस्रो बिहेवालाले लान्छ यस्तै-यस्तै अनेक सुनिन्थ्यो। तर पनि म मौन बस्थेँ।
म आफै डिप्रेसनमा गएँ। मुद्धा फैसला भयो, सजाय क्षतिपूर्ति सबैको टुंगो लाग्यो। मैले फेरि कलेज भर्ना हुने आँट गरिनँ। म यतिकै बस्ने, घरमा सघाउने यता-उता गरेँ। यसरी मैले दुई वर्ष बिताएँ। त्यसपछि एकदिन जेठो मामाले मलाई मामाघर जाँदा सबै कुरा सम्झाएर मेरो बिहेको कुरा समेत गर्नुभयो।
केटा मेरै उमेरको, भिनाजुको आफ्नै भाइ पर्ने तर श्रीमती दुर्घटनामा गुमाएको। एउटा छोरी भएको केटाको कुरा आयो। मलाई खुब डर लाग्यो तर मामाको एउटा कुराले मैले उहाँको कुरा काट्न सकिनँ-
'भान्जी, जीवनकालमा कति कस्ता घटना खेप्नुपर्छ, बाले आफ्नो बुद्धिले भ्याएको गर्नु भो। अहिले तिमी सधैँ हाम्रै संरक्षणमा बस्ने हो। अब एकअर्काको दुःख बुझ्ने जीवन बिताउने हो। एकअर्काको दुःख बुझ्नू, सधैँ एक्लो जीवन गाह्रो छ। हामीलाई तिम्रो मात्र पिर हो। तिमीले राम्रो घर पाएकी छौ नाई नभन, तिमी ढुक्कसँग राजीखुसी हुनू। विगत बितिसक्यो त्यता नसोच्नू।'
मलाई बीचमा पटक-पटक कुरा नआएको होइन, आएको हो तर किन-किन यो पटक मामाको कुरा हो जस्तो लाग्यो। मैले हुन्छ भनिदिएँ। मेरो बिहे ६ महिनापछि राम्रोसँग हिन्दु परम्पराअनुसार भयो। मैले सोचेको भन्दा फरक व्यक्ति हुनुहुँदो रहेछ श्रीमान। मैले ६ महिनासम्म चिन्ने मौका समेत पाएँ! हामी एकअर्कामा मायामा पर्न समेत थाल्यौँ र बल्ल बिहेको कुरा अघि बढाएका थियौँ।
माया लाग्ने साह्रै राम्री छोरी छिन्। बुवा हुनुहुन्न, आमा हुनुहुन्छ। उहाँले मलाई पढ्न मन लागे पढ, केही सीप सिक्न मन भए सिक भन्नु भएको थियो। मैले पहिलो वर्ष पढ्न मन गरिनँ, पार्लर भने बिहेको ५ महिनापछि सिक्न थालेँ। मलाई कता-कता पढ्न मन लाग्यो र पढ्न सुरु गरेँ। मैले ब्याचलर सकेँ, मास्टर गर्ने बेला छोरो जन्मियो।
छोरी हुर्किसकेकी र छोरा पनि एउटा भएपछि मैले अब बच्चा नपाउने निर्णय गरेँ। हिराजस्तै छन् छोराछोरी, झललल बलेका। राम्रो संस्कार दिएकी छु मैले। अहिले उनीहरूलाई नै समय खर्चिन्छु।
कहिलेकाहीँ विगत सम्झिँदा किन मैले यस्तो भोग्नु परेको होला? मैले अहिले भोगेका कुरा पहिले नै किन मेरो भागमा नपरेको होला? यस्तो माया र सपोर्ट गर्ने जीवनसाथी मैले किन यति पछि पाएकी होला? साहस र हिम्मत दिने छोराछोरी बल्ल किन होला? लाग्छ।
मैले विगतलाई बिर्सी पनि सकेँ तर कहीँकतै कहिलेकाहीँ झसंग हुन्छु। सपनाजस्तै लाग्छ। सपनाले त्यो दलदलबाट निकाल्ने हिम्मत नगरेकी भए मैले आज यो जीवन अनुभव गर्न पाउदिन थिएँ। मलाई सपना देउताजस्तै लाग्छ। कत्रो साहस, कत्रो आँट!
मेरा छोराछोरीलाई मैले सपनाजस्तै आँटिलो बनून लाग्छ। कहिले पनि पैसाको कारण बनाइ कुनै निर्णय गर्न नपरोस् लाग्छ। मेरा बा-आमाको र सपनाको उमेर ठ्याक्कै दुई गुनाले फरक छ।
मेरा बा-आमाले जे निर्णय गरे, त्यो परिपक्वता थियो कि थिएन या सपनाले जुन आँट गरेर मेरो जीवन बचाई त्यो परिपक्वता हो? अखिर के रहेछ परिपक्वताको परिभाषा? भोगाइ या उमेर, केले परिभाषित गर्छ परिपक्वतालाई?