पहिलोपल्ट तिमीलाई देखेँ
अनि रंगिन भो जीवन
ती निश्चल आँखाहरूको रंग
हातको सुकोमलता
सुरिलो आवाज
रंगबिना रंगिन पल
त्यो रंगिन समय
त्यो रंगिन मन
अनि रंगिन रहर
रंगिन मनको आयान
हो,
त्यही नै थियो सुरुआत
रंगको
जीवनको
मायाको
सपनाको!
सुक्खा हिउँद
पत्झर मौसम
बादलका आकाशहरू
चिसो हावा
र नि
रंगिन याद
त्यहाँ थिएन कुनै रंग
न कुनै हरियाली
हेर्ने पर्यावरण श्यामश्वेत
वास्तवमा
शिशिरको याम थियो
लेख्ने कलम कालो
कागज सेतो थियो
तर,
रंगिन शब्दहरू थिए
भावहरू निला, हरिया
न कुनै लाली थियो ओठमा
न गाजल आँखामा
न मेहेन्दी थिए हातमा
थिए त मात्र चमक
अनुहारभरि
थियो त रश्मि
आँखाभरि
रंगिन थिए रहरहरू
रंगिन बोलीहरू
आयानका रंगहरू
सूर्यका तापभन्दा धेरै
समुन्द्रका छालभन्दा बेसी।
साँच्चै!
रंगिन हुन रंग नै त
नचाहिँदो रैछ
रंगिन सोच
अनि विचार
सुमधरताले पुग्ने रैछ
चित्रकारको कलाजस्तै
जीवन्तता क्यानभास रंगाउन
कलमले मात्र त
कहाँ पुग्दो रैछ र!
रंगिन मन
रंगिन भाव नि चाहिन्छ
जब रंगबिना रंगिन बन्छ
तब नै त हो सुन्दर बन्ने
जीवन, जगत अनि सारा
त्यसपछि न हो
पानीको रंग पोतिने
जूनको दाग नि सुन्दर हुने
यात्रा मिठो लाग्ने
सागरका छालहरू पनि
संगीतको धून लाग्ने
एक मुस्कान रङको
एक कला गलाको
बस् रङ त उसै छल्किन्छ
देख्यौ, इन्द्रेणीजस्तै?
मनभरि अनि अधरभरि।