एक चकमन्न रातमा
उसले देखेको
भोगेका
भोगका उज्याला दोहनका
ती सपना
वसन्तमा उडेको कृष्णगण्डकीको वाफ झैँ
अहिले ऊ श्रापमा परेको छ।
बज्रकीटले
शालिग्रामभित्र सुन बनाए जसरी
उसले पनि स्वर्ण महल बनाउने लोभमा
बहकिएका उसका विचारहरू अहिले
कालीगण्डकीको ढुंगामा ठोकिए
अनि बग्न थाले बालुवा झैँ।
प्रिय इतिहास,
तिम्रा पानाहरूमा बजिरहेका
विज्ञान, सभ्यता, भव्यता अनि दिव्यताको समाप्ती बारे
बजिरहेका ती तिम्रा गीतका
स्वार्थी धुनहरूमा
तिमी र सरकारबीच मध्यरातमा गरिएका गनगनका
भाषाहरू सुन्दासुन्दै
कागबेनीमा तर्पण गर्दा-गर्दै
मच्चिएर आएको नदीको भेलले
मेरा दिवंगत पितृहरूको श्राद्ध गर्न पुगेका
मेरा भावी पुस्ताहरू
सँगै नदी किनारमा बसेका
बस्तीहरू
सभ्यताहरूमा
परेका गल्छीहरू
तिम्रा महत्त्वकांक्षा, भावी पुस्ता र सरकार बीचमा
लागेको ग्रहणको असर
मेरा भावी पुस्ताको इतिहासमा कहिल्यै लेख्न नपरोस्।
प्रिय मानव,
गणितमा अब्बल दर्जामा गनिएका तिमी
नदी र जमिन बीचको
सामान्य गणितीय नियम
समकोण र न्यूनकोण किन छुट्याउन सक्दैनौं?
जसमा सभ्यता अडिएको छ
तिम्रो बुझाइ हेर्दै
प्रश्नवाचक चिन्ह
अहिले आश्चर्यमा परिरहेछ।
ए सरकार,
विज्ञानका नदी कटानका तथ्यहरू
व्यवस्थापनका सिद्धान्तहरूलाई
कहिल्यै नदीको बलुवालाई झैँ
स्काभेटरले झिकेर
तस्करका टिपरमा हालेर
चर्को स्वरमा बोलेर
सभ्यताको नयाँ परिभाषाको बाटो नबनाऊ
किनकि
सतिदेवीको गला खसे झैं
तिम्रा कमजोरीको ट्याटू
दोहन संरक्षक भनि इतिहासमा बस्ने छ
जसको मूल्य साह्रै महंगो पर्नेछ।
प्रिय मान्ठ सुन,
यस्तो पवित्र मुक्ति क्षेत्रमा
पवित्र जलमा, स्थलमा गरिएको
पापको सजाय
तिम्रा महत्वकांक्षालाई दामोदर कुण्डबाट बगेको कालीगण्डकीले
बगाएर ल्याएको यशोदाले बाँधेको रसीले
बाँधेर
शालिग्रामलाई साक्षी राखेर
यस धरतीमा
कालो बादलको नमुना रूपमा कहलाइने छ
तिम्रा मसानघाटमा सिधिन्ने महत्त्वकांक्षा बारेको इतिहास
जसको चर्को मूल्य छिट्टै नआउला र मानव सभ्यता माझ?
ए अन्तिम इच्छा,
मेरो जीवनको
अन्तिम संस्करका निम्ति गएका
ती मलामीहरूले
कहिल्यै प्राकृतिक शिकार अन्तिम सलामी लिन नपरोस्।