हृदयदेखिको मेरो देशप्रतिको माया
कुन पाखा, कुन पखेरामा लागि रोपुँ
अन्तर हृदयदेखिको मेरो भावना
कुन फूलको बगैँचामा लगी छोपुँ
त्यसैले म भन्छु 'म स्वदेशमै ठिक छु'।
अग्ला-अग्ला हिमालहरू हेरिरहन मन लाग्छ
सेता हिम चुचुराहरू देखिरहन मन लाग्छ
तराईका फाँटहरूमा रम्न मन लाग्छ
पहाडका लेकहरूमा घुम्न मन लाग्छ
त्यसैले म भन्छु 'म स्वदेशमै ठिक छु'।
मेचीकाली दुवैलाई दुई हातले छुन मन लाग्छ
नेपाल आमा रोएको देख्दा मलाई रुन मन लाग्छ
काँडा बिझ्दा पनि दुख्छ, ठेस लाग्दा पनि दुख्छ
मलाई स्वदेशप्रति माया छ जति लाए पनि पुग्छ
त्यसैले म भन्छु 'म स्वदेशमै ठिक छु'।
प्रकृति मेरो मनभित्र छ
देशको माया, ममता मेरो मुटुभित्र छ
मैले गाउने अर्कै गीत छ
देशप्रतिको चोखो प्रीत छ
त्यसैले म भन्छु 'म स्वदेशमै ठिक छु'।