पहिलो प्रेम मान्छेले बिर्सिन सक्दै सक्दैनन्, चाहे त्यो बाल्यकालको होस् या ठूलो भएपछिको। कति स्वच्छ, मिठो र निश्चल हुन्छ है? त्यसमा न त कुनै स्वार्थ नै हुन्छ न त कुनै लोभ या प्रलोभ। बस् माया, माया अनि माया।
उसले जे गरे पनि राम्रो लाग्ने, जस्तो बोले पनि सुनिरहुँ। ऊसँग मात्रै बोलिरहुँ लाग्ने। अझ एउटै क्लासमा भएपछि त सक्किगयो नि। ऊ नभएको दिन ऊ बस्ने बेन्चमा अरु कोही बस्यो भने पनि रिस उठ्थ्यो मलाई, सायद पहिलो प्रेम भएर होला।
ऊ म कक्षा नौमा पढ्दादेखि मन पराउथेँ। एउटै कक्षामा थियौँ हामी। हुन त ऊ मभन्दा एक वर्ष ठूलो नै थियो तर ९ मा फेल भएपछि नै हामी सँगै भएका थियौँ। भनिन्छ नि यदि कसैलाई साँच्चीकै माया गर्यो भने रुप, रंग, धनी, गरिब अथवा उसका कमि कमजोरी केही देखिँदैन रे। त्यस्तै भएको थियो मलाई। पढाइमा तेजिलो थिएन ऊ। तर पनि ऊ फेल भएकोमा म एकदमै खुसी थिएँ, एउटै कक्षामा त बस्न पाइयो।
काले काले हिस्सी परेको, भर्खरै जुँगाका रेखी बस्दै गरेको, मुसुक्क हाँस्दा असाध्यै सुन्दर लाग्थ्यो ऊ मलाई। अझ स्कुलको पहिरनमा त हिरो झैँ देखिन्थ्यो। म जत्तिकै अग्लो भए पनि, ऊभन्दा मै अग्ली देखिन्छु रे, सरिताले भनेकी। कुरालाई बटारी बटारी मिठा-मिठा बनाएर बोल्न जानेको, मक्खै बनाउने।
भर्खर-भर्खर कक्षा सुरु भएको बेला हामी तिमीहरूको सिनियर्स हौ, जे भन्यो त्यही मान्नु पर्छ भनेर हाम्रो खाजा खाइदिने, होमवर्क गर्न लाउने, कहिले-कहिले खानै लागेको तितौरा मुखैबाट खोसेर खाइदिन्थ्यो। सबै साथीहरू रिसाउँदा म पनि रिसाएझैँ गरिदिन्थेँ तर भित्रभित्रै म त कस्तो खुसी हुन्थेँ।
सधैँ मेरो खानेकुरा खान र मलाई सताउने ऊ नै हुन्थ्यो। मैले त मनमनै मन पराइसकेकी थिएँ। लाग्थ्यो उसले पनि मलाई उत्तिकै मन पराउँथ्यो। नत्र यसरी दिनैपिच्छे ऊ किन मलाई मात्र सताउँछ? अरु पनि त छन् केटीहरू सताउन तर अरुलाई केही गर्दैन थियो। मलाई सधैँ त्यसैगरी सताओस् जस्तो लाग्थ्यो।
कहिले कहिले उसले केही नगरेको दिन कस्तो खल्लो लाग्थ्यो। रिसायो कि जस्तो लाग्ने। भन्न त सक्दिन थिएँ म तर मनमनै दुःखी भएर बस्थेँ। घरमा हुँदा भोलि त जसरी नि भन्छु भनेर आँट राखेर स्कुल पुग्दा उसलाई देखेपछि भन्नै सक्दिन थिएँ। केटीहरूले प्रपोज गर्यो भने केटाहरूले हेप्छन् रे भनेको पनि सुनेकी थिएँ। जति आँट गरे पनि भन्नै सकिनँ मैले।
कक्षा ९ को अन्तिम तिर थियौँ। त्यतिबेलासम्म त मज्जाले कुरा गर्न थालिसकेका थियौँ। ऊ पनि मसँगै बसेर क्यान्टिनमा खाजा खान्थ्यो। मेरी साथी सरिताले जहिले जिस्क्याउँथी- 'उसले पनि तलाई पक्कै मन पराउँछ नत्र किन यसरी जहिले हामीसँगै बस्न, हामीसँगै बोल्न मन पराउँछ त?'
मलाई पनि त्यस्तै लाग्थ्यो। क्लासमा हुँदा मेरो पछाडिको बेन्चमा बसेर कहिले कपाल तान्दिने, कहिले पुच्छार लाइदिने। कहिले कहिले त सरले पढाइरहेको बेला कागजमा लेखेरे पोको पारेर मलाई पछाडिबाट कोट्याएर दिन्थ्यो। खोलेर हेर्यो 'तिमी एकदमै राम्री छौ, तिमीलाई पाउने भाग्यमानी को हो?' भन्ने यस्तै-यस्तै मायाका कुराहरू मात्रै गरिरहन्थ्यो।
उसका यिनै मायालु हर्कतले गर्दा ऊप्रति दिन प्रतिदिन फिदा हुँदै थिएँ। विस्तारै विस्तारै कक्षामा केही साथीहरूलाई पनि थाहा भैसकेको थियो। हुँदा-हुँदा उसलाई पनि मैले मन पराउँछु भन्ने थाहा थियो। तर पनि ऊ किन केही बोल्दैन? खालि जिस्किएर मात्रै किन बस्छ? किन मन पराउँछु भन्दैन? जस्तो लाग्थ्यो।
रिस उठ्थ्यो, म बोल्दिन थिएँ। खाजा खान जान पनि मन लाग्दैन थियो, चित्त दुख्थ्यो ऊदेखि। तर सरिता भन्थी- 'जे भए पनि उसले तँलाई नै मन पराउँछ जस्तो लाग्छ मलाई त, म सोधौँ त उसलाई?'
तर म भन्न दिँदैन थिएँ। खै! किन हो डर लाग्थ्यो। म रिसाएको पनि थाहा पाउँथ्यो। छेउमा आएर 'आज देउता किन रिसाए? केमा चित्त दुख्यो?' भनेर फकाउँथ्यो। अनि जे कुरा गरेर भए पनि हँसाएरै छोड्थ्यो। त्यसपछि त लाग्थ्यो, नभने पनि ऊ मलाई नै माया गर्छ। स्कुल सकिएपछि उसको र मेरो घर जाने बाटो पनि चोकसम्म एउटै थियो। त्यसपछि ऊ अर्को मोड तिर मोडिन्थ्यो। बाटो छुटेपछि परसम्म पुगिन्जेल हात हल्लाई रहन्थ्यो। म त ऊ मेरो छेउमा नहुँदा पनि ऊसैका बारेमा सोचिरहेकी हुन्थेँ।
खाना खाइसकेर ओच्छ्यानमा पल्टँदा पनि उसलाई नसम्झी, उसले गरेका कुराहरूमा एक्लै खित्का नछोडी, त्यो सिरानीलाई ऊ सम्झेर मायाले नच्यापी सुत्दिन थिएँ। यो माया भन्ने चिजै कस्तो हो कसरी व्याख्या गर्नु र? परिभाषा नै हुन्न, बस् मन परेपछि पर्यो पर्यो।
आजकाल त स्कुल जाँदा पनि राम्री भएर कपडामा चट्ट आइरन लगाएर, आँखामा हल्का गाँजल र कालो टीका लगाएर जान्थेँ। टीका र गाँजल लगाउन थालेको पनि उसलाई मन पराउन थालेपछि नै थियो। देख्ने बित्तिकै छेउमा आएर अरुले थाहै नपाउने गरी तारlफ गरिदिन्थ्यो। म त लाजले भुतुक्कै हुन्थेँ।
कहिले कहिले झुक्किएर एकअर्कामा ठोक्कियौँ भने या हात समाइयो भने पनि पूरै शरीरमा झड्का लाग्थ्यो। गालाबाट आगोको रापै चुहिएजस्तो रातो र तातो महसुस हुन्थ्यो। सायद उसलाई पनि त्यस्तै हुन्थ्यो कि। तर पनि कहिले भन्दैन थियो ऊ।
एसएलसी आउनै लागेको थियो। म्याथको ट्युसन पढ्थ्यौँ हामी ९/१० जनाऽ स्कुलकै म्याथ सरसँग स्कुल सुरु हुनुअघि। एकदिन सरिताले मलाई देख्ने बित्तिकै भनि, 'तँसँग एकदमै इम्पोर्टेन्ट कुरा गर्नु छ।'
मलाई त्यो के कुरा हो सुन्न छटपट भैसकेको थियो। कतै उसले सरितासँग मलाई मन पलाएको कुरा त गरेन? एक घन्टाको ट्युसन सकिन पनि पूरै दिन जस्तो लामो लाग्यो। ट्युसन सकिएको १५/२० मिनेटपछि बल्ल सुरु हुन्थ्यो स्कुल। ऊ र म ट्वाइलेटतिर लाग्यौँ। मलाई हेरेर मुस्कुराउँदै थियो ऊ। म पक्का भैसकेकी थिएँ, कुरा त त्यही थियो बस् उसले मलाई भन्न सकेन। मक्खै बनेर तल गयौँ।
'अँ भन् त केटी, के हो त्यो इम्पोर्टेन्ट कुरा?'
ऊ अलि झस्के जस्ती बनी। मनमा चिसो पस्यो।
'सुन् न, जे भए पनि नराम्रो नमान् है।'
'भन् न पहिला, मान्दिनँ के।'
'राहुलको त त्यो ब्याक बेन्चर पुष्पासँग पो लब परेको रैछ त!'
ऊ मसँग जिस्किकी लाग्यो, 'नकरा, भन् के कुरा मलाई सुन्न हतार भैसक्यो।'
'केको जिस्कनु नि, नर्माले मलाई भनेकी। उनीहरू त बाहिर डेट पनि जान्छन् रे।'
ममाथि आकाश खसेजस्तै भयो। केही बोल्न र सोच्न सकिनँ।
'भो यार! छोड्दे, यी केटाहरू त्यस्तै हुँदा रछन्। यता तँलाई मक्ख पारेर उता अर्कैसँग लब! अनि तँलाई मक्ख पारेको त उनीहरूको लब अरुले थाहा नपाउन् भनेर पो रछ। कस्तो नराम्रो रैछ है राहुल!'
म त ट्वाइलेटमै रुन लागेछु। सरिताले आँट दिई मलाई- 'तँ यस्ती राम्री छेस्, त्योभन्दा राम्रो पाउँछेस्।'
म बोल्न त केही बोलिनँ बस् टाउको मात्रै हल्लाएँ। अनि ऊबाट टाढा हुने कोसिस गरिरहेँ। तर पनि पहिलो प्रेम कहाँ त्यतिकै बिर्सन सक्नु नि। त्यो पुष्पालाई देख्ने बित्तिकै रिस उठ्थ्यो, गएर भुताल्न मन लाग्थ्यो। तर विचरा उसको के गल्ती र? भुतल्नु पर्ने त उसलाई थियो तर केही भन्न त सक्दिन थिएँ, बाँकी कुरा त परै जाओस्।
मेरो मनमा माया उस्तै थियो तर पनि उसको खुसीको लागि आजकल मतलब राख्दिन थिएँ। पहिलाजस्तै गफ हुन्थ्यो, थाहै दिइनँ ऊसँग म रिसाएको। त्यसपछि त हामी स्कुलबाट छुट्टियौँ। अब परीक्षामा मात्रै भेट हुनु थियो। भेट पनि के भन्नु? देखादेख होला, बोल्ने फुर्सद कहाँ मिल्ला र?
त्यसपछि त लगभग ५ वर्षपछि ऊसँग फेसबुकमा भेट भयो। उसैले खोजेर मलाई फ्रेन्ड रिक्वेस्ट पठाएछ। रिक्वेस्ट त एक्सेप्ट गरिनँ तर मेसेजमा कुरा चाहिँ गरियो।
'तिमी त झन्-झन् राम्री भैछेउ। आई विश् मैले तिमीलाई प्रपोज गरेको भए... मेरो त भाग्य यस्तै रहेछ। अहिले पछुतो लाग्छ। डु यु स्टिल लभ मि?' मेसेज पठायो।
मलाई उसको अझै उत्तिकै याद आउँथ्यो। माया पनि उत्तिकै थियो। तर अब मलाई उसको हुनु नै थिएन। माया गरे पनि चाहना मरिसकेको थियो। बस् म्यासेज सीन गरेर अनसीन गरिदिएँ।